झापा, १८ पुष । झापा जिल्लाको हल्दीबारी गाउँपालिका–३ र भद्रपुर नगरपालिका–७ लाई जोड्ने झोलुङ्गे पुल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।
हल्दीबारी–३ गैरीगाउँदेखि भद्रपुर–७ को बुधकरण स्टेटसम्म पहुँच सहज बनाउन निर्माण गरिएको ११७.४० मिटर लामो पुलको संयुक्त रूपमा उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गरेका हुन्।
आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख रुपैयाँ लागत अनुमानसहित सुरू गरिएको परियोजना उपभोक्ता समिति र सामान खरिद टेन्डर प्रक्रियामार्फत करिब ७५ लाख रुपैयाँमा सम्पन्न भएको हो। ‘लालीगुराँस झोलुङ्गे पुल’ नाम दिइएको पुल २०७९ कात्तिक १० गते नै निर्माण पूरा भए पनि औपचारिक उद्घाटन भने आज सम्पन्न गरिएको हो।
पुल निर्माणका लागि संघीय सरकारसँगको समन्वय, बजेट विनियोजन र प्रशासनिक प्रक्रियामा सक्रिय भूमिका खेलेका हल्दीबारीका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रको पहललाई दुवै स्थानीय प्रमुखहरूले विशेष प्रशंसा गरेका छन्।
उद्घाटन समारोह हल्दीबारी–३ गैरीगाउँमा आयोजित विशेष कार्यक्रममा सम्पन्न भएको हो। पुल सञ्चालनमा आएपछि करिब ५०० घरपरिवारलाई दैनिक आवत–जावत, बजार पहुँच र सेवासुविधामा सहजता हुने स्थानीयवासीले बताएका छन्।
कार्यक्रममा दुवै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो। सो अवसरमा पुल निर्माण उपभोक्ता समितिका सदस्यहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।







