मेचीनगर, १२ चैत । झापाको चारआलीस्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नेपाली काँग्रेसका चन्द्रप्रसाद सिग्देल निर्वाचित भएका छन् ।
कार्यसमिति चयनका लागि शनिबार भएको मतदानको आज सकिएको मतगणना अनुसार एमालेका अध्यक्षका उम्मेद्वार भोजराज पराजुलीलाई पराजित गर्दै सिग्देल निर्वाचित भएका हुन् ।
सिग्देलले ५ सय ९६ मत प्राप्त गरेका छन् भने पराजुलीले ३ सय ३६ मत प्राप्त गरेको निर्वाचन समिति सदस्य गोपाल प्याकुरेलले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका राधिका सुब्बा निर्वाचित भएकी छन् । उनले ५ सय ३७ मत ल्याएर निर्वाचित हुदाँ एमालेका उम्मेद्वार यसोदा सिग्देलले ३ सय ७५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै सचिवमा ४ सय ५९ मत ल्याएर एमालेका उम्मेद्वार यमकान्त प्याकुरेल निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सोनामसिंह तामाङले ४ सय ५६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सहसचिवमा जसपाका सन्तोस लिम्बुले ४ सय ५६ मत ल्याएर बिजयी हुदाँ एमालेका सहसचिवका उम्मेद्वार सन्देश न्यौपानेले ४ सय ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा राप्रपाका कुसुम प्रसाई कटुवाल निर्वाचित भएकी छन् । उनले ५ सय १२ मत प्राप्त गर्दा एमाले उम्मेद्वार बिना ढकालले ३ सय ७१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी खुला सदस्यहरुमा युवराज खतिवडा, रुद्रबहादुर कार्की र हेमराज भट्टराई निर्वाचित भएका छन् भने महिला सदस्यतर्फ चन्द्रकुमारी लिम्बु, जयन्ती राई र लक्ष्मी लिम्बु निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै दलित सदस्य तर्फ खड्ग माया कामी निर्वाचित हुदाँ अर्थसमितीको संयोजकमा कृष्णप्रसाद सिग्देल निर्वाचित भएका छन् ।







