काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले जनताको राष्ट्रपति खोजेको बताएका छन् ।
आठ दलीय गठबन्धनको तर्फबाट आयोजित अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रपतिले पहिलेको राजाजस्तो बन्ने गरेको बताए ।
“अहिले राष्ट्रपति घरबाट निस्कनुभयो भने नागरिकहरुको भागाभाग हुन्छ । राष्ट्रपतिलाई मात्रै दोष दिएर हुन्न, हाम्रो पनि कमजोरी छ । हामीले त्यो संस्थालाई कस्तो बनाएका छौ ? हिँड्दा राजाको भद्दा नक्कल गर्ने । हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन ? दर्शन गरेको मिल्यो कि मिलेन ?,” थापाले भने, “राष्ट्रपति भात खानुहुन्न, भुजा ज्यूनार गर्नुहुन्छ । हामीले भुजा ज्युनार गर्ने, सवारी गर्ने राष्ट्रपति खोजेको होइन । जनताको राष्ट्रपति खोजेको हो नि ।”
थापाले स्वतन्त्र व्यक्ति बनाउनु भन्ने कुरा आउने गरेको भन्दै स्वतन्त्र व्यक्तिले परिणाम आउने भए प्रधानमन्त्री नै स्वतन्त्र बनाउँदा हुने बताए । तर, दलको व्यक्ति नै राष्ट्रपति बन्ने र पदमा पुगेपछि पार्टी त्याग्नुपर्ने बताए ।
उनले नेपाली कांग्रेसका उमेदवार २५ गते राष्ट्रपति चुनिने बताउँदै त्यसपछि सम्पूर्णरुपमा पार्टीबाट अलग हुन सक्नुपर्ने बताए ।
“फागुन २५ गते परिणाम आइसकेपछि फागुन २६ गतेबाट नेपाली कांग्रेसबाट सम्पूर्ण रुपमा अलग रहनुपर्छ । पार्टीभित्रको आन्तरिक कुरामा,” थापाले भने, “दलहरुको कुरामा गुटबाट निष्क्रिय हुन सक्नुपर्छ । बल्ल राष्ट्रको अभिवाक हुन्छ ।”
उनले अब बन्ने राष्ट्रपतिले आठ दलको पक्षमा काम गर्नुनपर्ने भन्दै संविधानको पक्षकमा काम गर्न आग्रह गरे । थापाले राष्ट्रपतिले आफ्नो पद र गरिमालाई जोगाउनुपर्ने बताए ।







