Logo

‘हामीले महानगरमा सुशासनलाई पहिलो नम्बरमा राखेका छौं’



काठमाडौँ, २३ वैशाख । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरु गठबन्धनको बलमा मात्र नभएर एजेण्डासहित निर्वाचनमा होमिएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार बनेका श्रेष्ठले काठमाडौंस्थित शान्ति वाटिकामा शुक्रबार पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाभित्र सुशासन नभएको बताए ।

‘सुशासनको आधार नै छैन । घुसखोरीको अखडा बनेको छ महानगरपालिका,’ उनले भने, ‘हामीले महानगरमा सुशासनलाई पहिलो नम्बरमा राखेका छौं । सिर्जना भाउजू (मेयर पदमा गठबन्धनका तर्फबाट उम्मेदवार सिर्जना सिंह) को नेतृत्वमा हामीले सुशासन कायम गर्नेछौं ।’ उनले आजको कामलाई भोलि, भोलिको कामलाई पर्सी भन्ने प्रवृत्तिको आफूहरुले प्रतिवाद गर्ने पनि बताए ।

काठमाडौं महानगरमा फोहोरको समस्या पनि सदावहार भएको उनले बताए । उनले फोहोरमा राजनीति नगरौं, मेसिन ल्याएर फोहोर प्रशोधन गरेर मोहर निकालौं भन्दै आए पनि त्यो सुनुवाइ हुन नसकेको बताए । उनले फोहोरबाट बिजुली, ग्यास, मल निकाल्न सकिने भन्दै त्यो काम गरेर देखाइदिने बताए ।

‘शिक्षा र स्वास्थ्यमा मौलिक हक कायम गर्नुपर्छ । महानगरमा बजेट छ, त्यसको २० प्रतिशतमात्र हामीले खर्च गर्ने हो भने महानगरको आफ्नै अस्पताल हुनेछ,’ उनले भने, ‘ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्न सकिन्छ । गरिब तथा मध्यम वर्गका परिवारले पनि त्यसको लाभ लिन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्