Logo

हामी फिल्म बनाउन आएका हौँ, कसैसँग झगडा गर्न होइन: दीपकराज गिरी



काठमाडौं, ९ कात्तिक । अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्म चल्नु र नचल्नुलाई जीत र हारको मुद्दा बनाउन नहुने बताउनुभएको छ । आज (शुक्रवार) फेसबूक लाइभमार्फत उहाले नेपाली सबै फिल्मले राम्रो व्यापार गर्दा सबै खुशी हुनुपर्ने पनि बताउनुुभयो ।

उहाले आफू कुनै राजनीतिक दलसँग नजिक हुन नखोजेको र झगडा गर्न यो क्षेत्रमा नआएको बरु फिल्म बनाउनकै लागि फिल्म उद्योगमा आएको पनि बताउनुुभयो ।

‘अहिले रिलिज भएका फिल्मको व्यावसायिक सफलतालाई जीत र हारको विषय बनाइयो, यो राम्रो होइन । सबै फिल्म चल्नुपर्छ । हामी अरुको फिल्म चल्दा पनि सफल हुन्छौँ । यसले फिल्म उद्योगलाई फाइदा पुग्छ,’ उहाले भन्नुभयो।

उहाले राम्रा र फिल्म निर्माण भए फिल्म उद्योग माथि पुग्ने समेत बताउनुुभयो । साथै उहाले आगामी फिल्म कस्तो बनाउने भन्नेमा पनि गम्भीर भएर लाग्ने समेत बताउनुुभयो ।

‘छक्का पञ्जा ५’ ले व्यावसायिक सफलता हासिल गरेको भन्दै उहाले दर्शकलाई समेत धन्यवाद दिनुभयो ।

सामाजिक सञ्जालमा ‘छक्का पञ्जा ५’ को विरोध भए पनि व्यावसायिक रुपमा फिल्म सफल भएको थियो । तेस्रो हप्तामा आइपुग्दा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ ।

दशैँको अवसर पारेर फूलपातीका दिन ‘छक्का पञ्जा ५’ सँगै विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ पनि एकसाथ प्रदर्शनमा आएका थिए । कमाइका हिसाबले विराजको ‘१२ गाउँ’ र दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ ले उत्साहजनक व्यापार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्