Logo

हामी सबैले सचेत हुने बेला आयो: प्रधानमन्त्री



काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि एकथरी मानिसहरु गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरेका हुन् ।

उनले राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने बताए । प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरेका छन् ।

उनले विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुद्धा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको बताए ।

उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए । उनले अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘अहिले पनि एकथरी मानिसहरु यो गणतन्त्रलाई, यो समावेशी समानुपातिक मान्यतालाई यो देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत छन् । अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ । हामीलाई दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरु नै हार्नेछन् । अहिले पनि कहीँ कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन । जनता नै सफल हुन्छन् । इतिहास जनताले लेख्ने । अस्तिको केही विस्तृत शान्ति सम्झौतामाथि अध्यक्ष र प्रधानमन्त्री नै केही हुन लागेको हो की भनेर देशभर ठूलो तरंग पैदा भयो । यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो । विभाजित माओवादीलाई एक ठाउँमा आउ, छिटो भन्दा छिटो ऐन अघि बढाऊ भन्ने बुझेँ, तत्काल मन्त्रिपरिषद् बोलाएर संसदमा दर्ता गराएँ । अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर गएन त्यसको पक्षमा नै आयो । हामी चिन्तित हुन पर्दैन तर सतर्क हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्