काठमाडौँ, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।
मङ्गलवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य उद्योगभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राखेका हुन् ।
उनले मौलिक संस्कृति, परम्पराअनुसार घरेलु उत्पादनलाई प्रवर्धन र विकसित गर्न आवश्यक रहेको बताए । उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपालीको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको बताए । उनले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको बताए ।







