नुवाकोट, २४ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
‘समृद्धिको लागि सङ्कल्प यात्रा-२०८०’ को क्रममा शनिबार राति नुवाकोट आइपुगेका अध्यक्ष ओलीको आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारतसहित संसारका सबै देशसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताएका हुन् ।
“हामी असंलग्न परराष्ट्र नीति अपनाउछौँ । कतैतिर ढल्कदैनौँ । कसैको स्वार्थमा कुद्ने छैनौँ । हाम्रो परराष्ट्र नीति स्पष्ट छ ।” उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यवहार पाउनुपर्छ ।”
अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थल आफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गरेका थिए ।
पार्टीको केन्द्रीय पदाधिकारीसहित पुष्पलाल (मध्यपहाडी) राजमार्गको स्थलगत भ्रमणमा रहेका अध्यक्ष ओलीले ‘अपेक्षाअनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने आरोप लगाए । काम गरेको केही देखिएन । उनले भने, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो । राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टि भयो ।”







