काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिवद्धता जनाउनुभएको छ ।
बुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उहाले आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनका बारे खुलेर आफ्ना धारणाहरु राख्नुभएको थियो । त्यसक्रममा उहाले किशोर अवस्थामा आफू हजुरआमा र अन्य अभिभावकहरू साथै शिक्षकहरूबाट सत्यको अनुसरण गर्नुपर्छ सिकेको उल्लेख गर्नुभएको छ । ‘हरेक पटक सत्यको जित हुँदैन, तर अन्त्यमा सत्यको जित हुन्छ,’ उहाले भन्नुभयो ।
अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफूले राजनीतिक यात्रा सुरु गर्दा निकै अन्धकारपूर्ण अवस्था रहेको र संघर्ष गर्नुपरेको एवम् संघर्षको नेतृत्व गरेपछि राजनीतिक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो । यस क्रममा उहाले चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका तीनवटा विश्वव्यापी पहलको अन्तरसम्बन्ध विश्व शान्ति र सुरक्षा हासिल गर्नु रहेकाले त्यसले आर्थिक विकासको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विश्वमा शान्ति र समृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो । ‘आर्थिक विकासका लागि आर्थिक सुरक्षा जरुरी छ । भोका जनताले केही गर्न सक्दैनन् । आर्थिक समृद्धि पहिलो हो । हामी जनतालाई खुशी बनाउन चाहन्छौँ । सुखी, संसारका प्रत्येक व्यक्तिले आफू सुरक्षित छ भनी महसुस गर्नुपर्छ । समाजमा समानता हुनुपर्छ । त्यसका लागि चीनको प्रयास सकरात्मक छ,’ अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
त्यस्तै, उहाले साझा मूल्यमान्यता र समझदारीका आधारमा एकताबद्ध भएर नेपाल–चीन मित्रता अझै प्रगाढ बनाउनुपर्ने उल्लेख गर्नुभयो । ‘हाम्रो नारा र नीति ‘सबैसँग मित्रता र कसैसँग शत्रुता छैन’ भन्ने हो । नेपाल सार्वभौम र राजनीतिक रूपमा स्वतन्त्र देश हो । हामी हाम्रो आन्तरिक र बाह्य नीतिहरू निर्णय गर्न स्वतन्त्र छौँ ,’ उहाले भन्नुभयो । नेपाल र चीनको मित्रता पुरानो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको मित्रता निरन्तर विकसित, गहिरो, फराकिलो हुँदै गइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीनको विकास पूर्ण र व्यापक बन्दै गएकाले शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा चीनले बहुआयामिक सफलता हासिल गरेको औंल्याउनुभयो ।
अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र नेपालले गरेको सम्झौताले दुई देशको विकास रणनीतिको प्रतिवद्धतालाई सुदृढ बनाउने पनि बताउनुभयो । ‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौँ । र यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो । जसअन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, सबै क्षेत्रहरू समेट्ने धेरै परियोजनाहरू हुनेछन् । र स्वास्थ्य, र पूर्वाधार, विकास क्षेत्र पनि समेटिनेछन्,’ उहाले भन्नुभयो ।