Logo

हावाहुरीका कारण उदयपुरमा दुई जनाको मृत्यु



उदयपुर, ३ चैत । उदयपुरको कटारी क्षेत्रमा आएको भीषण हावाहुरी र वर्षाले जनधनको क्षति पुर्‍याएको छ । हावाहुरीका कारण रुख ढल्दा र रुखको हाँगाले लाग्दा दुई जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका-८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका-५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी-५ स्थित राधा कृष्ण मन्दिर नजिकै टिनको छाना भएको काठको खाजा घरमा बसिरहेका बेला हावाहुरीले सुकेको सालको रुख ढाल्दा च्यापिएर चौधरीको मृत्यु भएको हो । सोही घटनामा रुखले किचेर अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी , २७ वर्षीय युवराज कार्की , ४६ वर्षीय लीला बहादुर दनुवार , ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन् ।

रुखको चेपमा परेकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासमा करिब ४० मिनेटपछि जीवितै उद्धार गरिएको थियो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले घाइतेहरूको उद्धारपश्चात् प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको जानकारी दिए ।

यस्तै , कटारी-८ की मिनामाया तामाङको भने घरमा खसी-बाख्रा ओत लाउन सार्ने क्रममा रुखको हाँगाले लागेर ज्यान गएको हो । हाँगाले लागेर गम्भीर घाइते भएकी उनलाई राति ९:१० बजे अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घाइतेमध्ये लीला बहादुर दनुवारको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि विराटनगर रेफर गरिएको डीएसपी दोङले बताए । अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतालमै उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्