विराटनगर, २४ पुस । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेश १ को चौथो मुख्यमन्त्रीको रुपमा हिक्मत कार्की नियुक्त भएका छन् । पहिलो निर्वाचनबाट मुख्यमन्त्री बनेका शेरधन राईको नेतृत्वको प्रदेश सरकारका दोस्रो वरीयतामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालमा मुख्यमन्त्री भएका छन् ।
एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जनाको प्रदेशसभा सदस्यको समर्थन कार्कीका रहेको छ । प्रदेशक १ को पहिलो मुख्यमन्त्री शेरधन राई, दोस्रो भीम आचार्य, तेस्रो राजेन्द्र राई भए भने कार्की चौथो मुख्यमन्त्री बनेका हुन् । झापाबाट निर्वाचित कार्की विद्यार्थी राजनीतिबाट पार्टीमा सक्रिय रहेका छन् । कार्की एमाले अध्यक्ष केपी ओली निकटमा मान्छिन् । उनको राजनीतिक यात्रा यस्तो रहेको छ ः
वि. स. २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोख बाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको वाल्यकाल गौरादह मै वितेको र एसएलसिसम्मको अध्ययन स्थानिय जनता मा वि मा भएको थियो ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागीता ः
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विध्यार्थी राजनीतिमा प्रवेश सत्रिय भएका थिए । १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए । उनका बुबा बमबहादुरसमेत राजनीतिक तथा सामाजिक व्यक्ति भएकै कारण राजनीतिमा आउन प्रेरित गर्यो । उनले २०३७ सालमा अनेरास्ववियू पाँचौको सदस्य लिएका थिए । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आई एल अध्ययन गर्न २०४२ सालमा भर्ना भएका थिए । आई एल को पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी २०४५ साल पुसमा नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भएका थिए । ल क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हुदै उनी २०४६ सालको आन्दोलनमा सहभागी रहे । त्यसबेला पार्टीका ठूला नेताहरु जेल गइसकेपछी मुख्यमन्त्री कार्कीको नेतृत्वमा रेवतीरमण भण्डारी सहितले आन्दोलनको नेतृत्व गरेका थिए । त्यसबेला उनलाई काठमाडौँमा पक्राउ गरिएको थियो । उनले कानुनमा स्नातकोत्तर तह (एल एल एम) को अध्ययन पूरा गरेका छन् । अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भुमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ अध्यक्ष ३ कार्यकाल, बागमती अञ्चल कमिटी अध्यक्ष) निर्वाह गरेका थिए । २०५० सालमा अनेरास्ववियूको केन्द्रीय सचिव निर्वाचित भएका थिए । त्यसपछी उनी उपाध्यक्षको जिम्मेवारी सम्हाले । उनी २०५५ सालमा भदौ २७ गते १४ औ राष्ट्रिय महाधिवेशनबाट अनेराववियूको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका थिए कार्कीले एमाले विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको ५ राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे संगै महत्त्वपूर्ण भुमिकामा रहँदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा सक्रियय थिए ।
एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका कार्की २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको ईञ्चार्जका भूमिकामा थिए । कार्कीले संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका निर्वाह गरिसकेका छन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्कीले प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी सम्हालेका थिए ।
कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा लगभग ३ वर्ष ७ महिना नेतृत्व गरेका थिए । २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए । प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीको क्षमता अभिबृद्दी, सस्थागत सवलीकरण, अधुनिकिकरण र पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् । सीमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रीय सरकार मातहतको सशस्त्र प्रहरी बललाई सबल र सक्षम बनाउने कुरामा योगदान गरेका थिए । सञ्चार क्षेत्रकोसमेत जिम्मेवारी सम्हालेका कार्कीले प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरेका थिए ।
कार्की २०७९ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा ५(१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । उनी नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता हुन् । देशका दुई ठुला कम्युनिस्ट पार्टीको एकताद्वारा निर्माण भइ बनेको तत्कालीन नेकपाको केन्द्रीय कमिटी सदस्य भएका कार्की एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । उनी नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्ज हुन् ।