Logo

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ: गृहमन्त्री



काठमाडौँ, २९ साउन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताए । सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले समृद्धि हासिल गर्न हिजोकै कार्यपद्धति, कार्यशैली, संस्कृति र गतिमा काम गरेर नहुनेमा जोड दिँदै उनले कार्यशैली परिवर्तन गर्नुपर्ने बताए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले समृद्धिका लागि सरकारले सुशासनलाई पूर्वसर्त बनाएको बताएका हुन् । “समृद्धि पर्याप्त भएन, अब क्रमभङ्ग गर्नुपर्छ, गुणात्मक फड्को मार्नुपर्छ”, उनले भने ।

मुलुकको अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा ल्याएर मात्रै समृद्धिमा फड्को मार्न सकिनेमा सरकार दृढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारसँगै समृद्धिको गति बढ्ने बताए । सुशासन कायम गर्न सरकार दृढताका साथ अगाडि बढेको बताउँदै उनले भ्रष्टाचार, ठगी, दण्डहीनता, आपराधीकरणविरुद्धको अभियानले विश्राम नपाउने जिकिर गरे । “निर्दोष नफसुन्, स्वतन्त्रतापूर्वक जीवनयापन गर्न सक्ने, अपराधी, भ्रष्टाचारी, तस्करीले छुट नपाओस् भन्ने गरी सरकारले काम अगाडि बढाएको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्