काठमाडौँ, २४ भदौ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ ।
एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो ।
दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्रयाउने बताए ।
“हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ”, उपाध्यक्ष श्रेष्ठले भने, “अहिलेसम्म जतिपनि उडान भए नयाँ गन्तव्य विस्तार गरेर पर्यटन प्रवद्र्धनमा प्रयास गरिरहेका छौँ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, हिमालय एयरलाइन्सका अध्यक्ष झो एनयोङले स्वागत गरेका थिए ।
उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । “हिमालय एअरलाइन्स्ले काठमाडौँ-छिङदाओ-काठमाडौँ उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो”, उनले भने, “छिङदाओमा चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”
पर्यटनमन्त्री किरातीले दुई देशबीचको पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए । “यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु”, मन्त्री किरातीले भने, “यसै अवसरमा म छिङदाओमावासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।
राजदूत सोङले काठमाडौँ-छिङदाओ-काठमाडौँ उडानको आरम्भ हुनु भनेको नेपाल-चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । उनले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए ।







