Logo

हिमाल र पहाडमा हुने स्ट्रबेरी, अब झापामा (फोटोफिचर)



झापा, ४ माघ । हिमाल र पहाडको चिसो ठाउँमा उत्पादन हुने स्ट्रबेरीको झापा जस्तो गर्मी स्थानमा पनि व्यावसायिक खेती सुरु गरिएको छ । काठमाडौंस्थित गोल्यान एग्रो ट्रेड प्रालिले झापाको बाह्दशी गाउँपालिका १ को राजगढमा ३५ बिगाह क्षेत्रफलमा स्ट्रबेरीको व्यावसायिक खेती सुरु गरेको हो ।

नेपालको हिमाली र पहाडी जिल्लामा हुँदै आएको स्ट्रबेरी खेतीको गोल्यान एग्रोले झापामा अर्गानिक उत्पादनको तयारी गरेको छ । गोल्यान एग्रोले स्ट्रबेरी खेती सुरु गरेपछि अन्य किसान पनि स्ट्रबेरीप्रति आकर्षित भएका छन् ।

गोल्यान एग्राले ४ कठ्ठामा गरेको परीक्षण उत्पादन सफल भएपछि ३५ विघामा स्ट्रबेरी लगाएको प्राविधिक विवेक शुक्लाले बताए । उनले ६ लाखभन्दा बढी बिरुवा भारतबाट मगाएर रोपिएको बताए । उनले स्ट्रबेरी प्राविधिकको सलहमा खेती लगाइएको जानकारी दिए ।

नेपालमा भित्रिएका विभिन्न प्रजाति मध्ये कामारोजा, विन्टरडाउन, नेभिला र स्वीट्स सेसेसन गरी चार प्रकारका विरुवा लगाइएको कृषि प्राविधिक शुक्लाको भनाई छ ।

जाडो समयमा हुने स्ट्रबेरी फुलेको लगभग ३० देखि ४५ दिनमा फलको विकास हुने र त्यसको १५ देखि २० दिनपछि फल टिप्न सकिने उनले बताए । स्ट्रबेरीका लागि मल र गोडमेल महत्वपूर्ण भएकाले दैनिक ४० जनाभन्दा बढी स्थानियले प्रत्यक्षरुपमा रोजगारी पाएको शुक्लाले बताए ।
पौष्टिक हिसाबले महत्वपूर्ण मानिएको स्ट्रबेरी नेपाली बजारमा प्रतिकेजी ८ देखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको एग्रो ट्रेड प्रालिका कर्मचारी राजेन्द्र भट्टले बताए ।

जमिनमुनिबाट पाइप गाडेर चौबीसै घण्टा सिँचाइको व्यवस्था गरिएको छ । विरुवा सुक्न नदिनका लागि ड्याङलाई प्लाष्टिकले छोपिएको छ । ३० सेन्टिमिटरको दुरीमा रोपिएको स्ट्रबेरीलाई प्लाष्टिकमा प्वालपारेर छोपिएको हो ।

स्ट्रबेरी लोकप्रिय र महँगो फल अन्तर्गत पर्दछ । यसमा स्ट्रोबेरीमा कोलेस्ट्रोल घटाउने, एण्टी अक्सिडेण्ट, भिटामिन र अन्य खनिज पदार्थ प्रचुर मात्रामा पाइन्छ । पोषणविज्ञले स्वास्थ्यका लागि यो फललाई अत्यन्तै लाभदायक मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्