झापा, ९ कात्तिक । दीपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसँग सामूहिकरूपमा हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् ।
यसैक्रममा राजवंशी समाज विकास समिति गौरीगञ्ज र राजवंशी समाज विकास समिति वडा नं ६ को संयुक्त आयोजनामा सोमबार गौरीगञ्जमा सामूहिक हुक्काहुक्की, सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
तराईका आदिवासी समुदायले परम्परागतरूपमा मनाउँदै आएको हुक्काहुक्की खेल दादोदादी भनेर हजुरबा हजुरआमालाई सम्झिँदै मनाउँदैआएका छन् । पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले हुक्काहुक्की मनाउँदैआएको राजवंशी समाज विकास समितिका गौरीगञ्ज अध्यक्ष गोपालप्रसाद राजवंशीले बताए ।
उनका अनुसार दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्काहुक्की विशेषत: लक्ष्मी पूजाको दिन साँझमा खेल्ने गरिन्छ । दिवङ्गत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृलाई ‘हामीले तिमीलाई सम्झिएका छौँ हामीलाई आशीर्वाद देऊ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमलप्रसाद राजवंशी बताउँछन् ।
लक्ष्मी पूजाको बिहानै आ-आफ्नो धान खेतमा गई अरुभन्दा हाम्रो धान राम्रो फलोस्, अरुको धान भन्दा हाम्रो धान दूधको जस्तो होस् भन्दै आशीर्वाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाँधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चढाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आशीर्वाद लिने चलन रहेको उनी बताउँछन् ।
साँझपख सामूहिकरूपमा हुक्कामा आगो सल्काएर हुक्काहुक्की खेल खेल्ने गर्छन् । हुक्काहुक्की खेल खेलिसकेपछि मान्यजनबाट आशीर्वाद लिई प्रसादकारूपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार)खाने चलन रहेको छ । हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुक्काहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुँदै गएको सदस्य सचिव राजवंशीको भनाइ छ ।