Logo

हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते



मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका-६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो । घाइते एडीलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर-४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । त्यस्तै दुर्घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्