Logo

हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु



मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कठायत चोकमा आज सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान ११:०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका-४ की अन्दाजी २८ वर्षीया जीना लामा र मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका-१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा दिउँसो २:३० बजे मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भोम्जनलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार हेटौँडा-१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडी सवार बागमती-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन् । घाइतेमध्ये घलानको हेटौँडा अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ । उक्त घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्