Logo

होलीलाई लक्षित गरेर काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा



काठमाडौँ, १० चैत । आइतबारको होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको र होली सुरक्षित र मर्यादित बनाइने काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ ।

तीनवटै जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाउने तयारी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि यस वर्ष काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको बताए । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिनेछन् ।

यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने तयारी छ ।अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै-झगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईमा पर्सि होली पर्व मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्