Logo

ह्याट्रिकसहित शेफर्ड चम्किँदा वेस्ट इन्डिजको विजयी सुरुवात



काठमाडौं, २४ माघ । आईसीसी टी–२० विश्वकपअन्तर्गतको पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ।

१८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै समेटियो। उसका लागि रिचि बेरिङटनले ४२ रनको संघर्षपूर्ण पारी खेले भने टम ब्रुसले ३५ रन जोडे। जर्ज मुन्सीले १९ तथा मार्क वाटले १५ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।

स्कटल्यान्डको इनिङ ध्वस्त पार्न रोमारियो शेफर्ड नायक बने। उनले ह्याट्रिकसहित ५ विकेट लिएर विश्वकपको पहिलो ह्याट्रिक आफ्नो नाममा दर्ता गराए। जेसन होल्डरले ३ विकेट लिँदा समर जोसेफ र गुडाकेश मोटीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो। शिमरोन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक अर्धशतक प्रहार गरे। ब्रान्डन किंगले ३५ तथा रोभमान पोवेलले २४ रनको योगदान दिए।

बलियो ब्याटिङ र घातक बलिङ प्रदर्शनका कारण वेस्ट इन्डिजले प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस्