Logo

१० क्लबद्वारा ‘बी’ डिभिजन लिग नखेल्ने घोषणा



काठमाडौँ, ११ मंसिर । सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका छन् । क्लबहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै एन्फाले पुरानो बक्यौता रकम नदिएसम्म लिग नखेल्ने अडान राखेका हुन् ।

संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्ने क्लबहरूमा अन्नपूर्ण क्लब आरसिटी, मध्यपुर यूथ एसोसिएसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती यूथ क्लब, वीरगन्ज युनाइटेड क्लब, टुसाल यूथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल यूथ क्लब र झापा फुटबल क्लब रहेको छ ।

एन्फाले एक साताअघि मात्र माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग गर्ने मिति तय गरेको थियो । एन्फाले लिगका लागि क्लबहरूलाई मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने र पुस १३ गते खेल तालिका प्रकाशन गरिने निर्णय पनि गरेको थियो ।

लिगको नयाँ मिति सार्वजनिक भएसँगै क्लबहरूले असन्तुष्टि जनाउँदै पुरानो बक्यौता माग गरेका हुन् । एन्फामा चुलिएको विवादका कारण नियमित सञ्चालन हुन नसकेको ‘बी’ डिभिजन लिग पछिल्लो समय २०७८ फागुन देखि चैत महिनासम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्