Logo

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो: भुसाल



काठमाडौँ, १७ वैशाख । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए ।

कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।

मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए । खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले त्यसलाई अगाडि बढाउन कानुन र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्