काठमाडौं, २६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको राजनीतिक एकता १२ दिनमै भंग भएको छ। पुस १४ गते रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच सात बुँदे सहमतिसहित एकताको घोषणा गरिएको थियो।
एकता सहमतिका क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि रास्वपामा समाहित भएका थिए। यस एकतासँगै अन्तरिम सरकारमा सहभागी रहेका कुलमान घिसिङको भूमिकालाई लिएर विवाद चुलिएको थियो।
विवादकै बीच कुलमान घिसिङले बिहीबार मन्त्री पदबाट राजीनामा दिएर रास्वपासँग पुनः छलफल थाले पनि पार्टी एकता भने जोगिन सकेन। अन्ततः दुवै दलबीचको सहमति औपचारिक रूपमा भाँडिएको छ।
एकता विघटनपछि रास्वपा र उज्यालो नेपाल पार्टीले आ–आफ्नो आन्तरिक छलफलका लागि छुट्टाछुट्टै बैठक बोलाएका छन्। राजनीतिक समीकरण फेरि बदलिँदा यसको असर आगामी राजनीतिक गतिविधिमा देखिने अनुमान गरिएको छ।







