Logo

१४ लाख किशोरीले क्यान्सरविरुद्धको एचपीभी खोप लगाए



काठमाण्डौ, ८ फागुन ।   सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा झन्डै ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागकाे बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ प्रतिशत किशोरीले खोप लगाइसकेका छन् ।

गएको माघ २२ गतेदेखि शुरू भएको खोप अभियान मङ्गलवार सकिएको थियो । डा. गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ जना किशोरीले अभियानका बेला खोप लगाएका छन् ।

अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उहाँले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिनुभयो ।

डा. गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएका कारण खोप अभियान शुरू नगरिएको बताउनुभयो । ती क्षेत्रमा विद्यालय शुरू हुनासाथ फागुनको तेस्रो हप्तामा खोप अभियान चल्नेछ ।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्