झापा, २ पुस । झापा र मोरङको सीमानामा रहेको रतुवा खोलामा निर्माणधीन पुलको ४० प्रतिशत कार्य सम्पन्न भएको छ । विगत १५ वर्षअघि सुरु भएर अलपत्र रहेको पुलको एक वर्ष अघि पुनः ठेक्का लागे पछि निर्माण कार्यले तीब्रता पाएको हो ।
हुलाकी राममार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुलको निर्माण तीव्र गतिमा भइरहेको र चालु आर्थिक वर्षमै सम्पन्न हुनेछ ।
डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणसँगै झापा–मोरङ गर्न हुलाकी राजमार्गबाट सहज हुने राईले जानकारी दिए । विसं २०७९ चैतमा तीन वर्ष अर्थात् विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २१ करोडमा देव एण्ड सायर–समता आशिष सन्दिप जेभीले ठेक्का लिएको थियो ।
झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताए । यसअघि विसंं २०६४÷६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो ।
कार्यालयका सूचना अधिकारी राईका अनुसार हुलाकी राजमार्ग अन्तर्गतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ । उनले भने, “झापा सडक खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको छ ।”
कनकाई नदीको पुल भने निर्माणमा ढिलासुस्ती भइरहेको सूचना अधिकारी राईले बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ । सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ ।






