काठमाडौँ, १६ असोज । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् ।
यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् ।
विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरुमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताए ।
अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । उनले भने, “विभिन्न कारणले जान नपाएकाहरु पनि भोलि र पर्सिसम्म जानुहुन्छ ।”
विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएको भन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने, यात्रुलाई टिकट काट्दाको भन्दा फरक सिटमा राख्नेलगायतका समस्या यात्रुले भोगिरहेका छन् । कतिपय यात्रुले पहिले नै टिकट नकाटेर बीच बाटोबाटै गाडी चढ्दा बढी भाडा लिएको हुनसक्ने अध्यक्ष स्वाँरले बताए ।
सवारी साधनहरुले सामान्य अवस्थामा प्रतिस्पर्धा हुँदा तोकिएको भन्दा कम भाडामा समेत यात्रु बोक्ने भए पनि अहिले तोकिएको लिइरहेको उनको भनाइ छ ।






