Logo

२०० औं खेलमा गोल गर्नबाट चुके रोनाल्डो, स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल



काठमाडौं, ३० असोज ।  यूईएफए नेसन्स लिगमा स्कटल्याण्डसँग पोर्चुगलले बराबरी खेलेको छ । स्कटल्याण्डले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै युरो र नेसन्स लिगको साविक विजेता पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको हो ।

स्कटल्याण्डल टोलीले प्रतियोगितामा बटुलेको यो नै पहिलो अङ्क पनि हो । यस अघि खेलेका ३ वटै खेलमा स्कटिस टोली पराजित भएको थियो ।

खेलको सुरुवातमा स्कटल्याण्डले गोलको सुन्दर अवसर गुमाएको थियो । त्यसपछि भने खेलमा पोर्चुगल हाबी भएको थियो । तर पोर्चुगलका खेलाडीको प्रहार स्कटिस रक्षा पंत्तिले लगातार बिफल बनाइदियो ।

पोर्चुगलका लागि २ सयौँ खेल खेलिरहेका क्रिस्टियानो रोनाल्डोलाई स्कटल्याण्डलाई गोलकिपर क्रेग गोर्डन र डिफेन्सले १ सय ३४ औं गोल गर्नबाट रोकेका थिए । उनले विपक्षीको पोस्टमा चारवटा प्रहार गरेपनि गोलमा परिणत गर्न सकेनन् ।

योसँगै स्टिभ क्लार्कको टोली लगातार पाँच खेल हार्ने पहिलो स्कटिस टोली हुनबाट जोगिएको छ । स्कटल्याण्डले पछिल्ला १६ मध्ये एक खेल मात्र जितेको छ ।
समूह ए कै अन्य खेलमा क्रोएसिया र पोल्याण्डले पनि ३-३ गोलको बराबरी खेलेका छन् । ४ खेलपछि पोर्चुगल १० अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने क्रोएसिया ७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। ४ अङ्क बटुलेको पोल्याण्ड तेस्रो र १ अंक बटुलेको  स्कटल्याण्ड पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्