Logo

‘२०१४ काे विश्वकप हेरेर हुर्कियाैँ, अहिले आफैँले खेल्न पाउँदा भाग्यमानी ठान्छु’



काठमाडौँ, १७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को टी-२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन् ।

शुक्रवार मूलपानी क्रिकेट मैदानमा यूएईलाई ८ विकेटले हराएर आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि कप्तान पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

टिममा रहेका सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै २०१४ कै विश्वकप हेरेर हुर्किएको उल्लेख गर्दै उनले यस पटक आफैँ विश्वकप खेल्न पाउनु भाग्यमानी महसुस भएको बताए ।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको रोहितले बताए । यूएईका महत्त्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र त्यहीअनुसार सोमपालले उनलाई पभेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको उनले बताए । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि यूएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरेका थिए ।

कप्तान रोहितले ब्याटिङमा कुशल भुर्तेलले राम्रो शुरुवात दिलाउँदा र आसिफ शेख अन्तिमसम्म बसेर इनिङ्स सम्हाल्दा सहज जित निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस्