
काठमाडौँ, ४ जेष्ठ । स्थानीय तह निर्वाचनको अहिलेसम्म तीन सय ८९ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
८७ वटा नगरपालिका र तीन सय २ वटा गाउँपालिका गरी तीन सय ८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ४८ वटा नगरपालिका र एक सय ३३ वटा गाउँपालिका गरी एक सय ८१ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । कांग्रेसले ४१ वटा नगरपालिकाको उपमेयर, एक सय ३२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७३ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले २५ वटा नगरपालिका र ८५ वटा गाउँपालिका गरी ११० वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले २८ वटा नगरपालिकाको उपमेयर र ८२ वटा पालिकाको उपाध्यक्ष गरी ११० ठाउँमा नै पालिका उपप्रमुखरउपाध्यक्ष जितेको छ ।
त्यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६८ वटा गाउँपालिका गरी ७७ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादीले १३ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८४ ठाउँमा जितेको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ ।







