काठमाडौँ, २३ कात्तिक । शेयर बजार बुधवार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २२ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेको दिन आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।
आज दुई सय २३ वटा कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको ६ करोड ७८ लाख र शिवम् सिमेन्टको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।







