Logo

४ बुँदे सहमति, बिहिबारदेखि काठमाडौँको फोहोर उठ्ने



काठमाडौँ, १ भदौ । काठमाडौँको फोहार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा बिसर्जन गर्ने विषयमा बुधबार साँझ नयाँ ४ बुँदे सहमति भएको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलले फोहोर फाल्न अवरोध नगर्ने ४ बुँदे सहमति भएको हो ।

सहमति अनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ । सहमतिले भोलिदेखि काठमाडौँको फोहोर व्यवस्थापन सहज हुने भएको छ ।

सहमति कार्यान्वयन नभएको भन्दै फोहोर बोकेर गएका गाडीमा बञ्चरेडाँडाका स्थानीयले मंगलबार गरेको अवरोध खुलाउन प्रहरीले बल प्रयोग गरेको थियो । तर, बुधारबारको सहमतिले भने तत्काललाई काठमाडौँको दर्गन्धित फोहोर व्यवस्थापन हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्