लण्डन, १० वैशाख । बेलायतका चिकित्सकहरूले सम्भवतः सबैभन्दा लामो समयअवधीसम्म कोभिडबाट सङ्क्रमित बिरामीको विवरण सार्वजनिक गरेका छन् ।
उनीहरूले एक जना सङ्क्रमितको शरीरमा ५०५ दिन अथवा १६ महिनाभन्दा बढी समयसम्म परीक्षणहरूमा पुष्टि हुने स्तरमा कोरोना भाइरस कायम रहेको देखिएको बताएका छन् ।
नाम सार्वजनिक नगरिएको उक्त बिरामीको अन्य स्वास्थ्य समस्या पनि भएको र सन् २०२१ मा निधन भएको बताइएको छ । लन्डनका चिकित्सकहरूले लामो समयसम्म रहने यस्तो सङ्क्रमण विरलै देखिने बताएका छन् ।
प्राकृतिक रूपमा नै धेरैजसो मानिसको शरीरबाट भाइरस निमिट्यान्न हुने भए पनि सो बिरामीको हकमा उनको रोगप्रतिरोधी क्षमता एकदमै कमजोर भएको बताइएको छ । विज्ञहरूले यस्ता सङ्क्रमणको अध्ययन गरेर कोभिड र यसका जोखिमहरूका बारेमा थप जानकारी प्राप्त गर्न सकिने बताएका छन् ।
उक्त बिरामीलाई सन् २०२० को शुरूतिरै कोरोना भाइरस सङ्क्रमण भएको थियो । उनलाई कोभिडको लक्षण थियो र पीसीआर परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो । ती व्यक्ति अर्को ७२ सातासम्म परीक्षण र उपचारका लागि अस्पताल आउनेजाने गरिरहे । सो समयावधिमा उनलाई ५० पटक परीक्षण गरियो र प्रत्येक पटक नतिजा पोजेटिभ आयो ।
किङ्स कलेज लन्डन र एनएचएस फाउन्डेसन ट्रस्टले ती परीक्षणको विस्तृत अध्ययन गर्दा त्यो एउटै सङ्क्रमण भएको पत्ता लागेको हो । ती बिरामीलाई एन्टिभाइरल औषधि दिइए पनि सङ्क्रमणमुक्त हुन नसकेको बताइएको छ ।
यो अवस्था लङ् कोभिड पनि भनिने दीर्घकालीन कोभिड भन्दा फरक हो । दीर्घकालीन कोभिडमा भाइरस शरीरबाट हट्छ तर लक्षणहरू बाँकी रहन्छ ।
युरोपेली स्वास्थ्य सम्मेलनमा यो नतिजाबारे बताउने तैयारी गरिरहेका डा.लुक ब्लाग्डन स्नेल भन्छन् ‘यी बिरामी कहिल्यै भाइरसमुक्त भएनन् र ती भाइरसको जीन अध्ययन गरेर हामी त्यो एउटै सङ्क्रमण हो भनेर पुष्टि गर्न सक्छौँ ।’
अध्ययनकर्ताहरूले यस्तो खाले लामो सङ्क्रमण विरलै तर महत्त्वपूर्ण हुने बताएका छन् । यस्तो सङ्क्रमणले भाइरसको नयाँ खाले भेरिएन्ट विकास गर्न सक्छ । तर यो बिरामीमा भने नयाँ भेरिअन्ट विकास भएको थिएन ।
डा.स्नेल भन्छन् ‘लामो समयसम्म सङ्क्रमण हुँदा भाइरस मानव शरीरमा रहिरहन परिवर्तन भइरहन सक्छ । यसले उत्परिवर्तन भएर नयाँ भेरिएन्ट विकास हुने मौका दिन्छ ।’