काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहद उपयोगी नभएकाले हटाएको बताएका छन् ।
अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ७० वर्ष माथिकाले पनि काम गर्न सक्ने भएपनि राजनीति छाड्नुपर्ने अवस्था आएपछि उमेरहद हटाइएको बताएका हुन् ।
`थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन्। कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो,’ उनले भने, ‘कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एड्जष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटायौं ।’
यस्तो ७० वर्ष उमेरहदको प्रावधान कहीँ पनि नभएको उनले प्रष्ट्याएका हुन् ।
अमेरिकामा पनि ८० वर्षीय राष्ट्रपति जो बाइडेनले सरकार चलाइरहेको र नेपालमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजनीति गरिरहेको बताएका छन् ।





