Logo

कमजोर राज्य,गरिब मुलुकहरु



एन्गस डेटन

स्कटल्यान्डमा आवश्यक परेका बखत प्रहरीको सहयोग लिनुपर्दछ भन्ने संस्कारमा म हुर्किएँ । १९ वर्षमा जब म संयुक्त राज्य अमेरिकामा पहिलोपटक घुम्न गएँ, नजिकको हुलाक कार्यालय जाने बाटो कता होला भनी सोध्दा न्यूयोर्कको टाइम्स स्क्वायरमा व्यस्त ट्राफिक प्रहरीको धाराप्रवाह अश्लील शब्दबाट अवाक भएँ । भ्रममा परेर मैले रोजगारदाताको महत्वपूर्ण कागजात फोहोर फाल्ने भाँडामा छाडिदिएँ जुन हेर्दा हुलाकी वस्तु राख्ने स्थान मेलबक्स जस्तो देखिन्थ्यो ।
युरोपेलीहरुले अमेरिकीहरुको भन्दा सरकारमाथि बढी सकारात्मक किसिमबाट व्यवहार गर्दछन् । तर, अमेरिकीहरुका लागि संघीय, राज्य र स्थानीय राजनीतिक नेताहरुको असफलता र अलोकप्रियता साधारण कुरा हो । तैपनि, अमेरिकीहरुका विभिन्न सरकारहरुले कर उठाउँछन् र बदलामा सेवा प्रदान गर्दछन् जसको अभावमा उनीहरुको जीवन सहज छैन ।
अमेरिकीहरुले अन्य धनी मुलुकका नागरिकहरुझैं कानुनी र नियामक प्रणाली, सार्वजनिक विद्यालयहरु, बुढ्यौलीको स्वास्थ्य सेवा र सुरक्षा, सडक, प्रतिरक्षा र कुटनीति, तथा औषधिजस्ता अनुसन्धानमा राज्यको ठूलो लगानीका बारेमा सहजै स्वीकार गरिरहेका छन् । निश्चितरुपमा, सबैजसो सेवाहरु चाहेजति राम्रा छैनन्, र हरेक नागरिकले त्यसलाई समान किसिमबाट स्वीकार गरेको पाइन्न, तर अधिकांश मानिसले कर तिरेका हुन्छन्, र त्यो पैसा खर्च भएको तरिका बारेमा कसैले बिमती राखेमा एक किसिमले सार्वजनिक बहस आरम्भ हुन्छ । र, आवधिक निर्वाचनहरुले त्यस्ता नीतिमा परिवर्तन ल्याउन मद्दत गर्दछ ।
यो सबै यति स्वाभाविक लाग्छ कि केही भन्नु नै कठिन छ । तर विश्व जनसंख्याको ठूलो हिस्सा यस्ता खबरदारीका कामबाट पनि टाढा छ ।
अफ्रिका र एसियाका धेरै देशमा त कर उठाउने र त्यसको सही प्रयोग गर्ने क्षमता असाध्यै कमजोर छ । गरिब मुलुकहरुमा सरकार र शासित वर्गबीचको सम्झौता लगभग शून्य छ, र धनी मुलुकमा पनि यो पूर्ण भने छैन । न्यूयोर्कका प्रहरी भलै अभद्र थिए र सेवा प्रदान गर्ने कार्यमा व्यस्त भएर हुनसक्छ, विश्वका अधिकांश भागमा प्रहरीले नै आमजनतालाई शिकार बनाइरहेका पाइन्छन्, पैसाका लागि बर्बाद गरिरहेका हुन्छन् वा शक्तिको आडमा जनतालाई कष्ट दिइरहेका हुन्छन् ।
भारतजस्ता मध्य आय भएका ¬मुलुकहरुमा पनि सार्वजनिक विद्यालय र सार्वजनिक स्वास्थ्य क्लिनिकहरुमा आमरुपमा सेवा उपलब्ध हुँदैन । निजी क्षेत्रमा अभ्यासरत चिकित्सकहरुले बिरामीहरुलाई जे पनि दिन सक्छन् – सुई, नसासम्बन्धी सुई, र एन्टीबायोटिक, तर राज्यले त्यसलाई नियमन गर्दैन, र धेरै त्यस्ता चिकित्साकर्मीहरु यी कार्यमा पूर्णरुपमा अयोग्य रहेको पाइएको छ ।
विकासशील मुलुकहरुमा बालबालिकाहरुको साधारण रोगबाट मृत्यु भइरहेको छ किनभने उनीहरुको जन्म नै गलत स्थानमा भएको छ–असाधारण, निरुपाय रोगबाट होइन बाल्यकालीन साधारण बिरामीबाट जसको उपचारका बारेमा हामीलाई झण्डै एक शताब्दीदेखि थाहा छ । नियमित मातृ तथा बाल स्वास्थ्य सेवा प्रदान गर्न राज्य सक्षम नहुँदासम्म बाल मृत्यु रोकिने छाँट छैन ।
यसैगरी, सरकारको क्षमता, नियमन र परिपालनाले सही किसिमबाट कार्य नगर्दासम्म कुनै पनि व्यवसायले सहीरुपमा सञ्चालन हुन पाउँदैन । नागरिक अदालतले राम्रोसँग कार्य नगर्दासम्म नवीन पेसा व्यवसायले आफ्नो प्रतिफलमा दाबी गर्न पाउने कुनै प्रत्याभूति रहँदैन ।
राज्यको क्षमताको अभाव नै विश्वभर गरिबी र अभावको एउटा प्रमुख कारक हो । सक्रिय र जनसहभागिताका आधारमा कार्य गर्ने प्रभावकारी राज्य संयन्त्रको अभावमा विश्वव्यापी गरिबी समाप्त गर्न आवश्यक देखिएको वृद्धिको सम्भावना ज्यादै कम रहन्छ । दुर्भाग्यवस, हाल विश्वका धनी मुलुकहरुले नै यो विषयलाई अझ खराब अवस्थामा पु–याइरहेका छन् । वैदेशिक सहायता – धनी मुलुकहरुबाट गरिब मुलुकहरुमा सहयोग स्थानान्तरण – लाई विशेष श्रेय दिनु पर्दछ, खासगरी स्वास्थ्य सेवामा किनभने यही कारण धेरै मानिस अहिले ज्यूँदा छन् । तर वैदेशिक सहयोगले स्थानीय क्षमताको विकासलाई बेवास्ता गरेको कुरालाई पनि विचार गरिनु पर्दछ ।
यो सर्वाधिक स्वाभाविक रुपमा प्रत्यक्ष वैदेशिक सहायता प्राप्त गर्ने र बजेट खर्च ९कूल बजेटको आधाभन्दा बढी० को तुलनामा वैदेशिक सहयोगको प्रवाह बढी भएका मुलुकहरु खासगरी अफ्रिकामा देखिन्छ । यस्ता सरकारहरुले आफ्ना नागरिकहरुसँग करार गर्नु आवश्यक छ । यदि उनीहरु कसैप्रति जवाफदेही हुन्छन् भने दाताप्रति हुन्छन् । सरकारलाई उपेक्षा गर्ने र गरिब जनतासम्म सोझै सहयोग पु–याउने कुरा के हो ? निश्चितरुपमा, तात्कालीक प्रभाव राम्रै हुने सम्भावना रहन्छ, खासगरी त्यस्ता मुलुकहरुमा जहाँ सरकार–सरकार बीच सम्पन्न सहायता सम्झौताको रकम वास्तावमै गरिब जनतासम्म कमै पुगेको हुन्छ । र, आश्चर्यजनक रुपमा यो सानै रकम हो – धनी विश्वका बुढ्यौली उमेरका हरेक व्यक्तिबाट हरेक दिन करिब १५ अमेरिकी सेन्ट, तर प्रति दिन एक डलरभन्दा कम आम्दानी गर्ने गरिबीको रेखामुनि रहेकाहरुलाई माथि ल्याउने यो एउटा प्रयास हो ।
तैपनि यो समाधान पक्कै होइन । गरिब जनतालाई आफ्नो जीवन राम्रोसँग जिउन सरकारको जरुरत पर्दछ, र माखेसाङ्लोबाट सरकारलाई बाहिर राख्दा केही समय सुधार भएको देखिए पनि अन्तर्यमा समस्या यथावत रहन्छन् । गरिब मुलुकहरुले स्वास्थ्य सेवाहरुलाई सधैं विदेशी रकमबाटै सञ्चालन गर्नु मुर्खता हुन्छ । त्यस्तो सहायताले गरिब मानिसका सर्वाधिक जरुरी रहेका कुरालाई बेवास्ता गर्दछः कुनै पनि प्रभावकारी सक्षम सरकारले नै आज र भोलिका लागि सोच्दछ ।
हामीले गर्न सक्ने एउटै कुरा छ, गरिब राष्ट्रलाई अझ गरिब हुनबाट जोगाउन सरकारमाथि त्यस्ता कृयाकलापबाट टाढा रहनेगरी दबाब दिने । वैदेशिक सहायतामा कमी ल्याउनु एउटा कुरा हो, सँगै हातहतियारको व्यापारलाई सीमित गर्ने, धनी मुलुकसँगको व्यापार र अनुदान नीतिमा सुधार गर्ने, सहायतासँग नजोडिएको प्राविधिक सल्लाह उपलब्ध गराउने, र राम्रा औषधि निर्माण गर्ने कार्यलाई मुख्य प्राथमिकता दिइनु पर्दछ । पहिल्यैदेखि कमजोर रहेका मुलुकहरुलाई अझ कमजोर बनाएर हामीले गरिब जनतालाई मद्दत गर्न सक्दैनौ । प्रोजेक्ट सिन्डीकेट।
एन्गस डेटन सन् २०१५ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार प्राप्त ख्यातीप्राप्त व्यक्ति हुन् । उनी अमेरिकाको प्रतिष्ठित प्रिन्स्टन युनिभर्सिटीको अर्थशास्त्र र अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक हुन् । अनुवादः सोमनाथ लामिछाने

प्रतिक्रिया दिनुहोस्