Logo

पत्नीको नजरमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी



नेपाल सरकारका उपप्रधानमन्त्री तथा एमाओवादी नेता टोपबहादुर रायमाझीको जीवनशैलीबारे खासै मिडियामा आएको छैन । केही समयअघि प्रधानमन्त्री केपी ओलीले नेपालमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने वाचा गरेपछि ऊर्जामन्त्रीको कार्यभार सम्हालेका रायमाझीलाई आशामुखी नजरले हेरिएको छ । तर, केही दिनअघि उनले यही विषयमा गरेको टिप्पणीले सामाजिक सञ्जालमा व्यापक आलोचना पनि गरियो । रायमाझीका आनीबानी र स्वभावबारे पत्नी सीमा रायमाझीलाई नयाँ पत्रिका दैनिकका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :

परिवार/समय
१) सांसद हुनुभयो, पटक–पटक मन्त्री हुनुभयो, अहिले उपप्रधानमन्त्री बन्नुभएको छ, जीवनशैलीमा कत्तिको फरक आएको छ ?

मलाई त त्यस्तो खासै फरक आएजस्तो लाग्दैन । अलि–अलि त हुने नै भयो, तर बानी–व्यवहार उस्तै त हो नि । साथीभाइहरूसित समान व्यवहार नै छ ।
२) कतिपल्ट मन्त्री हुनुभयो ?
यसअघि तीनपटक मन्त्री हुनुभएको थियो, अहिले उपप्रधानमन्त्री हुनुभयो ।
३) पैसा त कमाउनुभएको होला नि ?
कहाँबाट कमाउनु ? अरूले कमाए होलान्, उहाँले कमाउनुभएको छैन । घर चलाउनसम्म भएकै छ । मन्त्री नभएका वेला बच्चाहरूको कलेजको फिस त समयमा तिर्न नसकेर फाइनसमेत तिरेका छौँ ।
४) परिवारलाई कति समय दिनुहुन्छ ?
दिन त खोज्नुहुन्छ, तर भ्याउनुहुन्न । उपप्रधानमन्त्री भइसकेपछि झन् व्यस्त
हुनुभएको छ ।
५) समय नदिएकोमा गुनासो गर्नुहुन्न ?
कहिलेकाहीँ भन्ने गर्छु । ‘त्यति धेरै मानिसलाई त समय दिनुहुन्छ, कहिलेकाहीँ हामीलाई पनि समय दिनुस् । कम्तीमा शनिबार एक–दुई घन्टा परिवारमा सबै सदस्य मिटिङ बसौँ, एक–अर्कासँग गफ गरौँ, समय निकाल्ने गर्नुस्’ भनेर भन्छु ।
६) अनि के भन्नुहुन्छ त ?
‘कुरा एकदम ठीक हो, अब गर्नुपर्छ’ भन्नुहुन्छ ।
७) दिनुभयो त अर्को शनिबार समय ?
कहाँबाट दिनु ? भ्याउनु नै हुन्न ।
८) परिवारसँग बसेका वेला कस्ता कुराकानी हुन्छन् ?
घरायसीदेखि राजनीतिसम्मका सबैखाले कुराकानी हुन्छन् । अवस्था हेरी–हेरी हुन्छ ।
९) आफूले थाहा पाएका राजनीतिक कुराहरू तपार्इंसँग कत्तिको सेयर गर्नुहुन्छ ?
आफैँले त बताउनुहुन्न । मैले ‘यस्तो कुरा सुनिन्छ, के हो ?’ भनेर सोध्यो भनेचाहिँ बताउनुहुन्छ । पार्टी नेतृत्वले ‘फ्ल्यास’ गर्न नमिल्ने कुराहरू भने बताउनुहुन्न ।
१०) परिवारका सदस्यहरूसँग कत्तिको खुलेर कुरा गर्नुहुन्छ ?
‘फ्रेन्क’ भएर नै कुराकानी गर्नुहुन्छ । हामी सबै खुलेरै गफ गर्छौँ ।

 लुगा/पहिरन
११) आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
लुगाको मामिलामा त एकदम सौखिन हुनुहुन्छ । लुगा लगाइसकेपछि जो अगाडि पर्‍यो, उसलाई ‘कस्तो देखिएको छ’ भनेर सोध्नुहुन्छ, ऐना हेर्नुहुन्छ । लुगामा त परिवारका सबै सौखिन छौँ ।
१२) कस्ता लुगा मन पराउनुहुन्छ ?
उहाँलाई त ‘रफ टप’ मन पर्छ । जिन्स पाइन्ट, टी–सर्ट, सर्ट मन पराउनुहुन्छ । तर, मन्त्रायल जाँदा, सार्वजनिक कार्यक्रममा जाँदा त्यस्तो लुगा लगाएर जानुभएन । अस्ति भर्खर ‘जिन्स पाइन्ट, ज्याकेट लगाएरै जान्छु’ भन्दै हुनुहुन्थ्यो । मैले ‘यस्तो लुगामा मन्त्रालय जानु त राम्रो भएन’ भनेपछि सुट लगाएर जानुभयो ।
१३) तपाईंले लगाउने लुगामा कत्तिको कमेन्ट गर्नुहुन्छ ?
‘रातो लुगा तिमीलाई ठीक देखिँदैन, नलगाऊ’ भन्नुहुन्छ, अरू त त्यति धेरै गर्नुहुन्न ।
१४) तपार्इंले कस्तो लुगा लगाएको एकदम मन पराउनुहुन्छ ?
साडी–ब्लाउजभन्दा कुर्ता–सलवार राम्रो भन्नुहुन्छ । ‘कपडा जे लगाए पनि आफूलाई राम्रो सुहाउने लगाउनुपर्छ’ भन्नुहुन्छ । पाइन्ट लगाए पनि ‘भर्खरको केटीजस्तो टिमिक्कको टाइट होइन कि उमेरअनुसारको लगाउँदा राम्रो हुन्छ’ भन्नुहुन्छ ।
१५) लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्नुहुन्छ ।
१६) अचेल पनि आफैँ लगाउनुहुन्छ ?
भ्याउनुहुन्न, धेरै वर्ष भयो नलगाएको । म लगाइदिन्छु ।
१७) कालो चस्मा लगाउन कत्तिको रुचाउनुहुन्छ ?
त्यस्तो रहर त गर्नुहुन्न । एक–दुईपटक विदेशबाट साथीहरूले ल्याइदिएको चस्मा लगाउनुभएको थियो । भुल्ने बानी छ, कता छाडेर आउनुभयो ।
१८) त्यसो भए भुल्ने बानी धेरै छ ?
धेरै नै छ । चस्मा त कति ठाउँ बिर्सेर आउनुभयो भयो । कहिले खल्तीमा पर्स राख्न नै बिर्सेर हिँड्नुहुन्छ । मिटिङमा भएका वेला मोबाइल साइलेन्स मुडमा राख्नुभयो भने पछि खोल्नै बिर्सनुहुन्छ । कहिलेकाहीँ तीन–चार सय ‘मिस्ड कल’ हुन्छन् ।
१९) त्यसो हुँदा त कतिपय महत्त्वपूर्ण कल नै छुट्दा हुन् नि ?
छुट्छन् नि । कतिवेला हेडक्वार्टरबाट सिएम (प्रचण्ड) कमरेडले गर्नुभएको हुन्छ, थाहा नै पाउनुहुन्न । पछि चूडामणिजी (प्रचण्डका स्वकीय सचिव)ले मलाई फोन गरेर ‘सरको फोन नै उठेन, कता हुनुहुन्छ’ भनेर सोध्नुहुन्छ ।

सुत्ने/उठ्ने
२०) बिहान कति बजे उठ्नुहुन्छ ?
बिहान पाँच बजे उठिसक्नुहुन्छ ।
२१) चिया/कफी के रुचाउनुहुन्छ ?
बिहान उठ्नेबित्तिकै तातोपानी पिउनुहुन्छ । त्यसपछि कालो चिया खानुहुन्छ ।
२२) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ । घरमै योगा गर्नुहुन्छ ।
२३) पहिलादेखि नै गर्नुहुन्थ्यो कि पछि मात्रै थाल्नुभएको ?
पहिलादेखि नै गर्नुहुन्थ्यो । उहाँलाई ‘ब्याक बोन’को समस्या भएकाले पनि एक्सरसाइज नियमित गर्नुहुन्छ ।
२४) साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?
फुर्सद नै हुँदैन, कतिखेर एक्सरसाइज गर्नु ?
२५) राति कतिखेर सुत्नुहुन्छ ?
समयमै घर पुग्नुभयो भने साढे नौ बजे सुतिसक्नुहुन्छ ।
२६) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
त्यो त मौसम हेरेर हुन्छ । अचेल जाडोमा ट्रयाक सुट लगाउनुहुन्छ ।

खाना/खाजा
२७) बिहानको खाजामा के मन पराउनुहुन्छ ?

प्राय: भेज सुप खानुहुन्छ । कहिलेकाहीँ उसिनेको तरकारी पनि खानुहुन्छ ।
२८) खानामा के मन पराउनुहुन्छ ?
दाल, भात, तरकारी खानुहुन्छ ।
२९) माछामासु कत्तिको रुचाउनुहुन्छ ?
सधैँ त होइन, एक–दुई दिनमा खानुहुन्छ ।
३०) दिउँसो खाजा के खानुहुन्छ ?
घरमा हुँदा उसिनेको मकै खान मन पराउनुहुन्छ । बाहिर हुँदा के खानुहुन्छ थाहा भएन ।
३१) रातिको खानामा के खानुहुन्छ ?
राति प्राय: रोटी, तरकारी, दाल खानुहुन्छ ।
३२) खानामा कमेन्ट गर्ने बानी कत्तिको छ ?
त्यस्तो एकदमै गर्ने त होइन । चिल्लो, पिरो धेरै भयो भनेचाहिँ मन पराउनुहुन्न । ‘यस्तो चिल्लो पनि खाने हो ?’ भन्नुहुन्छ । हामीलाई चिल्लो–पिरो खान मन लाग्छ, त्यसैले पहिला उहाँका लागि निकालेर पछि हामी थपेर खान्छौँ ।
३३) आफैँ किचनमा पसेर पकाउने रुचि कत्तिको देखाउनुहुन्छ ?
पकाउन त आउँछ, तर अचेल नपकाएको धेरै वर्ष भइसक्यो ।
३४) उहाँले पकाएको तपार्इंले खान नपाएको कति वर्ष भयो ?
धेरै भयो । १०–११ वर्ष भयो होला ।
३५) के–के परिकार पकाउन आउँछ ?
पकाउन त दालभात, तरकारी सबै आउँछ । पहिला म जागिर गर्दा खाना पकाउने, छोराछोरीलाई नुहाइधुवाइ गर्ने, लुगा धुने सबै गर्नुहुन्थ्यो । अचेल फुर्सद नै हुँदैन ।
३६) सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
मासु साह्रै मीठो पकाउनुहुन्छ ।
 

पत्रपत्रिका/टेलिभिजन
३७) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?

पढ्नुहुन्छ । बिहान फुर्सद भएन भने बोकेरै जानुहुन्छ, गाडीमै पढ्नुहुन्छ ।
३८) टेलिभिजन कति हेर्नुहुन्छ ?
हेर्नुहुन्छ फुर्सद हुँदा ।
३९) आफ्नोबारेमा आएका समाचार पढेपछि/हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
त्यस्तो केही प्रतिक्रिया जनाउनुहुन्न । ‘सबैले आ–आफ्नो ढंगले लेखिहाल्छन्’ भन्नुहुन्छ ।

रेस्टुरेन्ट
४०) तपार्इंलाई बाहिर खाना/खाजा खुवाउन कत्तिको लैजानुहुन्छ ?

पहिला त लैजानुहुन्थ्यो । उपप्रधानमन्त्री भइसकेपछि भने लैजानुभएको छैन ।
४१) गुनासो गर्नुभएको छैन ?
गरेकी छैन, उहाँले नभ्याएर पनि हो ।
४२) रेस्टुरेन्टहरूमा जाँदा के खान रुचाउनुहुन्छ ?
चाइनिज खाना मन पराउनुहुन्छ ।
४३) कस्तो ठाउँ जान मन पराउनुहुन्छ ?
होहल्ला कम हुने, शान्त ठाउँ मन पराउनुहुन्छ ।
४४) तपार्इंलाई प्राय: लैजाने कुन रेस्टुरेन्ट हो ?
नक्सालमा कता हो, एउटा कोरियन रेस्टुरेन्ट छ । त्यहाँ लैजानुहुन्छ ।

सिनेमा/गीत–संगीत
४५) सिनेमा हेर्न कत्तिको रुचि छ ?

हेर्न मन पराउनुहुन्छ । तर, अचेल फुर्सद नै हुँदैन, कसरी हेर्नु ?
४६) कस्ता सिनेमा मन पराउनुहुन्छ ?
उहाँले एकदमै मन पराउने हिन्दी फिल्म हो ।
४७) टेलिभिजनमा कत्तिको हेर्नुहुन्छ ?
फुर्सद हुँदा हेर्न त हेर्नुहुन्छ, तर पूरै फिल्म कहिल्यै हेर्नुहुन्न । यत्रा वर्ष भए, मैले उहाँलाई टिभीमा पूरै फिल्म हेरेको कहिल्यै देखेकी छैन । कहिले आइरहेको फिल्म आधादेखि हेर्नुहुन्छ, कहिले हेरिरहँदा काम परेर निस्कनुपर्छ ।
४८) दुईजना हलमै गएर सिनेमा कत्तिको हेर्नुहुन्छ ?
पहिला–पहिला त हेरिन्थ्यो । तर, भूकम्पपछि हेरेका छैनौँ ।
४९) हलमै गएर हेरेको पछिल्लो सिनेमा कुन हो ?
हिन्दी सिनेमा पिके सिटी सेन्टरमा गएर हेरेका थियौँ ।
५०) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
तितो सत्य, मेरी बास्सैलगायतका हेर्नुहुन्थ्यो, अचेल आउन बन्द भइहाले । फुर्सद हुँदा कमेडी नाइट विथ कपिल हेर्नुहुन्छ ।
५१) गीत कत्तिको सुन्नुहुन्छ ?
गीत त सुन्नुहुन्छ । गाडीमा अलि लामो यात्रा गर्दा पनि गीत बजाउन लगाउनुहुन्छ । घरमै पनि टेलिभिजनमा सुन्नुहुन्छ ।
५२) कस्ता गीत रुचाउनुहुन्छ ?
हिन्दी गीत पनि सुन्नुहुन्छ । नेपाली लोकगीत, दोहोरी पनि सुन्नुहुन्छ ।
५३) नाच्न आउँछ कि आउँदैन ?
आउँछ । जमघट, पार्टीहरूमा नाच्नुहुन्छ ।
५४) कस्ता गीतहरूमा नाच्न मन पराउनुहुन्छ ?
नेपाली गीतहरूमा नाच्नुहुन्छ । हिन्दी गीतमा भने नाच्न आउँदैन, कसैले जबर्जस्ती हिन्दी गीतमा नाच्न लगायो भने नेपाली गीतमा जसरी नै नाच्नुहुन्छ ।

विदेश घुमघाम
५५) विदेश भ्रमणमा जाँदा तपार्इंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?

अहिलेसम्म त्यस्तो सँगै जाने जुरेको छैन । ‘मलाई अहिलेसम्म लैजानुभएको छैन, अब जाँदाखेरि मलाई पनि लैजानुस्, मलाई जान पनि मन छ’ भनेकी छु ।
५६) अनि, लैजान्छु भन्नुभयो त ?
‘मौका पर्‍यो भने लैजान्छु’ भन्नुभएको छ ।

तलब
५७) आफ्नो तलब तपार्इंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?

बैंकमा हालिदिन्छन् । एटिएममा हुन्छ उहाँको ।
५८) तपाईं माग्नुहुन्न ?
चाहियो भने माग्छु । ‘कति चाहिएला’ भनेर सोध्नुहुन्छ । यति चाहिन्छ भनेपछि ‘एटिएमबाट ल्याइदिन्छु’ भन्नुहुन्छ ।
५९) सबैभन्दा धेरै कति दिनुभएको छ तपाईंलाई ?
काम हेरी–हेरी हुन्छ । अलि अगाडि छोराको बिहेका वेला दुई–तीन लाख दिनुभएको थियो ।
६०) पैसाको बारेमा परिवारमा बुढाबुढीबीच कहिलेकाहीँ किचलो हुन्छ कि हुन्न ?
त्यस्तो झगडा त हुँदैन । कहिलेकाहीँ उहाँले ‘अस्ति भर्खर त त्यति दिएको, कसरी सकियो’ भन्नुहुन्छ । रिस उठ्यो भने मैले ‘के–के आयो
घरमा ?, के–के चाहिन्छ थाहा छ तपार्इंलाई ? तपाईं आफैँ घर चलाउनू न त’ भनिदिन्छुु ।
६१) अनि, के भन्नुहुन्छ ?
केही बोल्नुहुन्न ।
रिसाउने/खुसी हुने
६२) रिसाउने बानी कति छ ?
रिसाउने बानी त छैन । कहिलेकाहीँ हो, रिसाए पनि एकैछिन ।
६३) रिसायो भने के गर्नुहुन्छ ?
बोल्नुहुन्न एकछिन । उता मुख फर्काएर बस्नुहुन्छ । तर, एकछिनमा बोलिहाल्नुहुन्छ । बरु, म रिसाएँ भने तीन–चार दिन बोल्दिनँ ।
६४) रिसाएपछि कसले पहिला फकाउँछ ?
उहाँलाई त फकाउनैपर्दैन, आफैँ बोलिहाल्नुहुन्छ । बरु, म रिसाएँ भने फकाउनुहुन्छ । केटाकेटीसँग कुरा गरेझैँ गरेर मलाई जिस्क्याउनुहुन्छ । धेरै रिसायो भने ‘यस्तो नगर, बच्चाहरूले के सिक्लान्’ भनेर सम्झाउनुहुन्छ ।
६५) रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ?
पिट्नु त भएको छैन । कहिलेकाहीँ म अलि चर्को बोल्दा ‘चुप, तँलाई…’ भन्दै पिट्नेझँै गरेर हात ल्याउनुहुन्छ । त्यस्तो वेला म ‘ल, ल खै हान्नु त’ भनेर अझ नजिक आउँछु, पिट्नुहुन्न ।

उपहार
६६) तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?

गिफ्ट नै भनेर दिने बानी त छैन ।
६७) जन्मदिन, म्यारिज एनिभर्सरीमा पनि दिनुहुन्न ?
उहाँलाई याद नै हुन्न । आफ्नो जन्मदिन त बिर्सनुहुन्छ ।
६८) विदेशबाट फर्किंदा पनि केही ल्याइदिनुहुन्न ?
ल्याइदिनुहुन्छ वेला–वेलामा ।
६९) उहाँले ल्याइदिएको तपाईंलाई धेरै मन परेको सामान ?
पार्टीको कार्यक्रममा जापान गएका वेला त्यहाँबाट फर्किंदा घडी ल्याइदिनुभएको थियो । एकदमै मन परेको थियो । तर, त्यो घडी मैले हराएँ । त्यस्तै, कोरियाबाट फर्किंदा ज्याकेट ल्याइदिनुभएको थियो ।

जिद्दी
७०) जिद्दी गर्ने स्वभाव कत्तिको छ ?

जिद्दी त गर्नुहुन्न । उहाँभन्दा त मै जिद्दी छु ।
७१) तपाईंको जिद्दीको अगाडि त उहाँको केही चल्दैन होला है ?
केही नचल्ने त होइन, तर उहाँ रिसाउनुहुन्न भन्ने थाहा छ, नानी–हामीहरू मन लागेपछि गरिहाल्छौँ । बरु, पछि ‘यसो नगरेको भए हुन्थ्यो’ भन्नुहुन्छ ।

रक्सी–चुरोट
७२) चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?

अचेल त खानुहुन्न । पहिला साथीभाइहरूसँग हुँदा तान्ने गर्नुहुन्थ्यो ।
७३) दिनमा कति खानुहुन्थ्यो ?
त्यस्तो बट्टा बोकेर खाने ‘चेनस्मोकर’ होइन । साथीहरूले खाइरहेका छन् भने रहर गरेर खाने मात्रै हो।
७४) पछि कसरी छाड्नुभयो त ?
एकपटक क्यान्सरसम्बन्धी कार्यक्रममा जानुभएको थियो । त्यहाँबाट आएपछि ‘यो त खानु राम्रो होइन’ भनी छाड्नुभयो ।
७५) छाडेको कति भयो ?
१० वर्षजति भयो होला ।
७६) रक्सी खानुहुन्छ कि खानुहुन्न ?
खानुहुन्थ्यो । पार्टीहरूमा गएका वेला, कहिलेकाहीँ साथीभाइ घरमा आएका वेला खानुहुन्थ्यो । उपप्रधानमन्त्री हुनुभन्दा केही दिनअगाडि जन्डिस देखिएपछि खानुभएको छैन । ‘अब खाँदिनँ’ भन्नुभएको छ ।
७७) कुन रक्सी खान मन पराउनुहुन्छ ?
ह्विस्की मन पराउनुहुन्छ ।
७८) कति पेगजति खानुहुन्थ्यो ?
दुई पेग बढीमा । तेस्रो पेग खाएपछि त ह्याङ भएर अर्को दिन उठ्नै सक्नुहुन्न ।
७९) तपाईंले खानुहुन्छ कि खानुहुन्न ?
कहिलेकाहीँ पार्टीहरूमा गएका वेला एक–दुई गिलास वाइन खान्छु ।
८०) दुईजना सँगै बसेर कत्तिको खानुहुन्छ ?
घरमा त खाइन्न । सँगै पार्टीमा भएका वेला भने खान्छौँ ।
८१) रक्सीले मातेपछि दुईजनाबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
पर्दैन । उहाँ रक्सी खाएपछि झन् रोमान्टिक बन्नुहुन्छ, हँस्सीमजाक गर्नुहुन्छ ।
रोमान्टिक
८२) रोमान्टिक कत्तिको हुनुहुन्छ ?
एकदमै रोमान्टिक हुनुहुन्छ ।
८३) रोमान्टिक मुडमा भएका वेला गीत गुनगुनाउने कत्तिको गर्नुुहुन्छ ?
गुनगुनाउनुहुन्छ । तर, कुन गीत गुनगुनाएको भन्ने नबुझिने गरी । एमटिभीमा गीत बजिरहेको छ भने जिउ हल्लाएर नाचेजस्तो पनि गर्नुहुन्छ । हामी हाँस्छौँ । छोराछोरीले ‘केहो बुबा † आज त बडा गीत गाउँदै हुनुहुन्छ’ भनेर जिस्क्याउँछन् ।
८४) अनि, के भन्नुहुन्छ ?
‘गाउनुपर्‍यो नि कहिलेकाहीँ’ भन्नुहुन्छ ।

बिहे
८५) तपार्इंहरूको बिहे भएको कति भयो ?

०४५ सालको मंसिरमा भएको हो ।
८६) प्रेम विवाह कि मागी विवाह ?
मागी बिहे नै हो, तर एक–अर्कालाई मन पराएर नै हो ।
८७) कसले पहिला प्रस्ताव गर्नुभयो ?
उहाँको बुबा मेरो भिनाजुको मामा हो । म इन्डिया नै बस्थेँ । अर्घाखाँची आएका वेला भिनाजुको घरमा उहाँले मलाई देख्नुभयो । पछि इन्डिया आएकै वेला पनि भेट भयो । मन पराउनुभयो । हाम्रो कुरा पनि भयो । बिहेको कुरा घरबाटै चल्यो । अनि, बिहे भयो ।
८८) भारतमै भयो बिहे ?
उहाँ अखिल (छैटौँ)को अध्यक्ष हुनुहुन्थ्यो । पार्टीको प्रवासको सम्मेलन थियो, समापनको कार्यक्रमका दिन जनवादी बिहे भएको हो । त्यसका लागि पनि मेरा बुबाआमालाई सम्झाउन डिलाराम आचार्यलाई दुई–तीन दिन लाग्यो ।
८९) किन नि ?
बुबाआमाले ‘सिन्दूर पनि नहाल्ने कस्तो बिहे हो’, ‘त्यस्तो त कसरी बिहे भयो र’, ‘भागेर बिहे गरेको पनि होइन’ भन्नुभयो । डिलाराम आचार्यले ‘त्यस्तो भन्नुहुन्न, छोरीज्वाइँ दुवै खुसी छन् भने गरिदिनु हुन्छ’ भनेर निकै मिहिनेत गरेर सम्झाउनुपर्‍यो ।
९०) बिहेमा उहाँले कस्ता लुगा लगाउनुभएको थियो ?
जिनको पाइन्ट, सर्ट र कोट लगाउनुभएको थियो । ‘साथीहरूले बिहेमा त कोट लगाउनुपर्छ’ भनेपछि दिल्लीको चोरबजारबाट ५० रुपैयाँको कोट किन्नुभएको रहेछ । त्यसलाई ‘ड्राई क्लिन’मा दिँदा सय रुपैयाँ लागेछ ।
९१) कोट किनेको भन्दा धुन पो धेरै पैसा परेछ त ?
त्यही त । पछि काठमाडौं आएपछि एकपटक चित्रबहादुर केसी दाइ दिल्ली जाँदै हुनुहुन्थ्यो । ‘जाडो छ, कोट वा स्विटरमध्ये एक दिनुस्’ भनेर उहाँसँग माग्नुभएछ । उहाँले त्यही कोट दिनुभयो । मलाई ‘नानी, म तिम्रो माइती पनि पसुँला, चिठी लेख्ने भए लेख’ भन्नुभयो । मैले लेखेँ । दिल्ली गएपछि मेरो माइती जानुभएछ । त्यहाँ सबैले उहाँलाई हेरेछन् । फर्केपछि हँसाउँदै हुनुहुन्थ्यो, ‘टोपजी तपाईंले बिहेको कोट दिनुभएछ, तपाईंको ससुरालीमा त सबैले मलाई हेरेको हेर्‍यै गरे । लाजै मर्नु भएर कति खेर निस्कूँजस्तो भयो, हाम्रो ज्वाइँको कोट लगाएर आयो भने होलान् ।’
९२) अनि, उहाँले के भन्नुभयो त ?
उहाँले पनि चित्रबहादुर दाइसँग ठट्टा गर्नुभयो । ‘तपाईंलाई होइन, मलाई पो लाजमर्दो भयो । मेरो ससुरालीले बिहे गर्दा ज्वाइँले अर्काको कोट मागेर लगाएको रहेछ भन्ने सोचे होलान्’ भनेर हाँस्नुभयो ।
९३) युद्धका वेला सँगै कति बस्नुभयो ?
जनयुद्ध सुरु भएपछि उहाँको जिम्मा प्रवासको पर्‍यो । इन्डिया नै बसाइ भयो । पछि यताको जिम्मेवारी पाउँदा भने सँगै बस्न पाएनौँ, म उतै बसेँ । मेरो जिम्मेवारी उतै थियो । ५–६ महिनामा भेट हुन्थ्यो ।
९४) एकपटक तपाईंहरूको सम्बन्धमा ठूलो विवाद आयो नि ?
हो । त्यो जीवनको एउटा नराम्रो पाटो थियो । केही कुरामा मेरो बुझाइ पनि ठीक भएन, केही उहाँको पनि भएन । केहीले हाम्रो सम्बन्ध बिगार्न चलखेल पनि गरे । तर, अहिले त्यस्तो केही छैन । त्यतिखेर म ‘मेन्टल्ली डिस्ट्रब’ पनि थिएँ । साइको–साइको भएकी थिएँ । एकपटक त स्लिपिङ ट्याब्लेट खाएर मर्न कोसिस गरेँ ।
९५) किन नि ?
मेन्टल्ली डिस्ट्रब थिएँ । उहाँ भौतिक योजनामन्त्री हुनुहुन्थ्यो । मलाई, परिवारलाई समय पनि दिनुहुन्थेन । मनमा अनेकथरी कुरा खेल्थे । बुटवलमै थिएँ । ०६८ मंसिर १२ गते भाइटीकाको अघिल्लो दिन मेरो जीवनको कालो दिन हो । त्यो दिन ‘मर्छु’ भनेर ३०–३५ वटा स्लिपिङ ट्याब्लेट एकैपटक खाएँ । एकछिनपछि त बेहोस भएँ, होस आउँदा हस्पिटलमा थिएँ । बाँचेछु ।
९६) तपार्इंको छोराको बिहे पनि निकै चर्चित बन्यो नि ?
उनीहरूको लभ म्यारिज हो । तर, घरमा कुरा गरेर नै बिहे भयो । नोटको माला लगाएको कुराको अनावश्यक मिडियाबाजी र हल्ला भयो ।
९७) नोटको माला किन लगाउनुभएको नि ?
हामीले त्यसरी लगाएको होइन । बिहेमा इन्डियाबाट मेरो दाइ पनि आउनुभएको थियो । उताको चलन दुलहालाई नोटको माला लगाइदिने छ । उहाँले उतै बनाएर ल्याउनुभएको रहेछ । हामीलाई थाहा थिएन । बिहे सामान्य गर्ने भनेर घरका केही मान्छे र छोराका केही साथीहरू मात्रै बोलाएका थियौँ । बाबुलाई तयार गरेर, दही खुवाएर बाहिर ल्याएका थियौँ । ढोकामा दाइले आफूले ल्याएको माला लगाइदिनुभयो । अब त्यतिवेला ‘यो माला नलगाऔँ’ भनौँ भने दाइको चित्त दुख्ला भन्ने लाग्यो । कसले मोबाइलबाट फोटो खिचेछ । त्यसैलाई प्रचारबाजी गरियो ।
९८) कति रुपैयाँको थियो नि माला ?
५० को नोटको मालामा १९ सय रुपैयाँ रहेछ । बाबुले अहिले पनि राखेको छ । त्यसैलाई ‘पाँच सयका नोटको माला’ भनेर मिडियाबाजी गरे । फोटो जुम गरेर हेरे पनि हुन्थ्यो । धेरै ‘टर्चर’ भयो । पछि बुहारीका साथीहरूले ‘कुनचाहिँ देशी आएर भारु नोटको माला लगाइदिएको हो ?’ भनेर सोध्थे रे ।

फोन/इन्टरनेट
९९) सामाजिक सञ्जालमा कति रमाउनुहुन्छ ?

फेसबुक चलाउनुहुन्छ । अनलाइनमा आएका समाचार हेर्नुहुन्छ । ट्विटर त चलाउनुहुन्न ।
१००) फेसबुक आफैँ अपडेट गर्नुहुन्छ ?
आफैँ गर्नुहुन्न । बाबुलाई आफ्नो पेजमा ‘यस्तो अपडेट गरिदे’ भन्नुहुन्छ ।
१०१) मोबाइलको बिल कति आउँछ ?
आउँछ होला ५–६ हजार ।

नयाँ पत्रिका दैनिकबाट
 

प्रतिक्रिया दिनुहोस्