Logo

के नयाँ शक्ति वैकल्पिक शक्ति होला ?



हिंसात्मक रुपमा सञ्चालित नेपालको माओवादी जनयुद्धका योजनाकार मध्येका एक तथा निवर्तमान प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २५ वर्षमा समृद्ध नेपाल बनाउने मूल नाराका साथ गठित नयाँ शक्ति नेपाल स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पराजित भएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने सोचका साथ गठित नयाँ शक्तिले चुनावको दुई साता अघिसम्म चुनावमा भाग नलिने अडानमा थियो । तर, संघीय समाजवादी फोरम नेपालसँगको सहकार्यपछि आफ्नो चुनाव चिन्ह नभएकाले संघीय फोरमकै हातमा बोकेको बलिरहेको मशाल चिन्ह लिएर चुनाव लड्दा अपेक्षाकृत मत आउन सकेन । अंकगणितीय खेललाई राजनीति सम्झने हाम्रो मुलुकमा यस पटकको चुनावबाट नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको बर्चश्व सकिएको र त्रिदलीय एकाधिकार मात्रै रहने तर्क पनि उठाइएका छन् ।
राजनीति त अंकगणितीय खेलमा मात्र अडेको हुन्छ भन्ने संसदीय धङ्धङ्गीमा रहेका दल र तिनका कार्यकर्ताका लागि मुलुकको शक्तिसन्तुलनको कुनै मतलब हुँदैन । राजतन्त्रकालमा राजाले कुनै सिट जितेका थिएनन्, माओवादीको जनयुद्धकालमा माओवादीले कुनै सिट जितेका थिएनन् र राजनीति उनीहरुकै वरिपरि घुम्ने गर्दथ्यो । नयाँ शक्ति पार्टीले स्थानीय तहको चुनावमा प्रारम्भिक पराजय भोगे पनि असफल नभएको दाबी गरेको छ । वैकल्पिक राजनीतिक शक्ति बनाउने यात्रा बल्ल शुरु भएको पार्टीको निष्कर्ष छ । समग्र परिणाम आशा अनुरुप नभएको, तर वर्ष दिन अघि मात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा प्राप्त भएको मतलाई न्यूनीकरण गर्न नमिल्ने नयाँशक्तिको दाबी छ । यात्रा भर्खर शुरु भएको र अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघ्रिएको उसको भनाइ छ ।
प्रारम्भिक पराजयलाई असफलता मान्ने भए वैकल्पिक राजनीतिक शक्ति निर्माणमा किन लागिन्थ्यो भन्ने डा. भट्टराईको मत छ । निर्वाचनमा पुराना शक्तिहरुले पैसा, बाहुबल र सत्ताको खुलेरै प्रयोग गरेको उनको आरोप छ ।  लम्बे यात्राको शुरुवात मात्र भएको र शुरुमै आएका केही झिनामसिना समस्याहरुबाट निराश भएमा वैकल्पिक शक्ति निर्माण गर्न नसकिने भनी आफ्ना समर्थक, शुभेच्छुकलाई उनले ढाडस दिएका छन् ।
अहिलेको स्थानीय तहको चुनावको पहिलो चरणमा हार भए पछि डा. बाबुराम भट्टराईको भविष्य समाप्त भयो भनेर प्रचार भइरहेको छ । यो वास्तविकता होइन । न संघीय समाजवादी पार्टीको भविष्य सकिएको छ, न राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य नै सकिएको छ । हामी परम्परागत रोगले ग्रस्त छौं । जो शक्तिमा छन्, जो पदमा छन् उनीहरुको पूजा गर्ने वा उनीहरुको कडा विरोध गरिने नेपाली परम्परा बनेको छ । हामी पहिला मानिस वा दललाई धुरीमा चढाउँछौं, अनि लडाउँछौं धेरै अग्लो चुचुरोबाट । मानिसको देवत्वकरण गर्नुको प्रमुख उद्देश्य उसको दानवीकरण गर्ने पृष्ठभूमिको तयारी हो भन्दा हुन्छ ।
डा. भट्टराईको बारेमा पनि यस्तै हुँदै आएको छ । गोरखा जस्तो विकट ठाउँमा जन्मेर पनि पढाइमा अब्बल हुनु, २०२६ सालको एसएलसी परीक्षामा नेपालमै पहिलो विद्यार्थीको रुपमा उभिनु र आई.एस्सी.मा पनि नेपाल प्रथम हुनुले डा. भट्टराई सानैदेखि मेधावी विद्यार्थी रहेको पुष्टि हुन्छ । प्रतिभासम्पन्न व्यक्तित्वको रुपमा नेपाली जनमानसमा चिनिएका भट्टराईमाथि आज सबैतिरबाट माओवादी मूलधारबाट अलग्गिएर उनले जीवनमै ठूलो भूल गरेको भनेर उनीतिर निशानाहरु सोझिएका छन् । उनले भारतबाट उच्च शिक्षा लिएका कारण उनलाई भारतपरस्त र भारतको स्वार्थ अनुसार चल्ने कम्युनिष्ट पार्टीका राष्ट्रवादीहरुले आरोप लगाएका छन् । उनीमाथि लागेको सबैभन्दा ठूलो आरोप उनी विरोधाभासमा बाँचिरहेका छन् भन्ने हो । एकातिर माक्र्सवादबाट दीक्षा लिएका र अर्कातिर आजको पूँजीवादी समाजसँग सम्झौता गरेर मात्र अघि बढ्न सकिने विचार बोकेकाले दोहोरो मारमा उनी परेको विपक्षीको मत छ ।
निश्चित समय र उमेर गुजारेपछि नेतृत्वको उपल्लो तहमा बस्नेहरुले सार्वजनिक जीवनबाट सन्यास लिनुपर्छ र उज्ज्वल भविष्य सहित प्रगतिपथमा अघि बढ्ने आकांक्षा बोकेको युवा पुस्तालाई मार्ग प्रशस्त गर्नु श्रेयस्कर हुने तर्क सहित उनले नयाँ शक्ति गठन गरेका हुन् । टापुको किनारामा बसेर जतिसुकै सो टापुका नराम्रा कुरा गरेर टापुमै बसिरहँदा परिवर्तन सम्भव छैन भन्दै उनले टापुलाई पछाडि छोडेर मात्र समुद्रमा हेलिन सकिने र नयाँ यात्रा शुरु गर्न सकिने तर्कसहित नयाँ शक्ति गठन गरेको बताएका थिए । पदका निम्ति असैद्धान्तिक लुछाचुँडी गर्ने प्रवृत्ति पार्टीमा प्रभावी हुँदै गएकोले माओवादी केन्द्र उनले त्यागेको बताएका थिए ।
पार्टीमा क्रान्तिकारी स्पीरिटको ह्रास र पद–प्रतिष्ठाप्रति अनावश्यक रुपमा मोह बढ्दै गएको निष्कर्ष निकालिएको पृष्ठभूमिमा डा. भट्टराईको नयाँ शक्ति गठन भएको उनले तर्क दिएका थिए । सही वैचारिक कार्यदिशाले मात्र पार्टी र क्रान्ति अघि बढ्ने होइन, त्यसको साथसाथै सोही अनुरुपको चुस्तदुरुस्त संगठनको जालो पनि चाहिन्छ भन्ने पुष्टि भएको छ अहिलेको स्थानीय तहको निर्वाचनबाट । १५ हजार बढी नेपाल आमाका सर्वोत्तम सन्तानहरुको कुर्बानी, ५ हजार बढीको बेपत्ता र लाखौं करोडौं जनताको त्याग र तपस्याको परिणाम स्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र अझै संस्थागत भएको छैन ।

हिन्दू धर्मावलम्बीहरुलाई गैर हिन्दूहरुले राज्य र धर्म दुवै सिध्याउने त्रास देखाई उत्तेजित पारी निरंकुश राजतन्त्र फर्काउने र अकण्टक रुपमा जनपक्षीय शक्तिलाई दमन गरी शासन चलाउने अभिष्ट राखेर केही उग्र राष्ट्रवादीहरु क्रियाशील छन् । १५ औं हजार शहीदको बलिदानी र लाखौं नेपालीहरुको रगत, आँसु र पसिनाको त्रिवेणीबाट सृजित गणतन्त्रको भविष्य उज्ज्वल हुन्छ भनिए पनि चेतनशील लोकतन्त्रवादी गणतन्त्रवादी नागरिकका हैसियतले हरेकले प्रतिगमनकारी षडयन्त्रको बारेमा सजग रहनु आवश्यक छ ।

मुलुक लुट्ने भ्रष्टहरुको भीडमा सादा जीवन र उच्च विचारका कारण डा. भट्टराईलाई शहरिया मध्यमवर्ग र शिक्षित समुदायले मन पराएको तर उनले केही गर्न नसकेको भनी समर्थक र शुभचिन्तकहरुको ठूलो पंक्तिले उनलाई दिएको समर्थन फिर्ता लिएको हो कि भन्ने देखिन्छ । हिंसात्मक अतित विरासतमा लिएर आएको शक्तिभित्र उदार माओवादी भनी बाहिरी संसारले उनलाई चिनेकाले पनि उनको लोकप्रियता बढेको थियो तर अहिले अवस्था त्यस्तो नभएको विरोधीहरुको भनाइ रहेको छ । जसरी हुन्छ उनको प्रतिष्ठा गिराउने अभिष्टबाट हरेक काम भइरहेका छन् ।

 अन्तर्राष्ट्रिय रुपमा बौद्धिक नेताको छवि बनाएका नेपाल सरकारको अर्थमन्त्री र प्रधानमन्त्री समेत भइसकेका डा. भट्टराई अब कट्टर कम्युनिष्ट रहेनन्, उनी त वाम–लोकतान्त्रिक विचार अवलम्बन गर्ने नेता भएका छन् । यसबाट डा. भट्टराई अब कम्युनिष्ट नरहेको प्रचारलाई तीब्र पारिएको छ । उनको आलोचना गरेर उनलाई गलत रुपमा चर्चामा ल्याउनु अस्वभाविक हो र उनी माथि लागेका सबै खालका आलोचनाहरुको प्रकृति, तिनको प्रभाव र ती आलोचनाभित्र लुकेका मनसायप्रति उनले जनताको अभिमतलाई शिरोपर गर्ने बताएर जवाफ दिएका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट उनको छबि धुमिल भएको र उनको लोकप्रियतामा ह्रास आएको निष्कर्षमा पुगिहाल्नु गल्ती हुनजान्छ । आफ्नो पक्ष हो वा होइन भन्ने आधारमा मात्र कुनै व्यक्ति मन पर्ने हुने वा नहुने नेपाली परिपाटी घातक र प्रत्युत्पादक छ ।
दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)बाट विद्यावारिधि गरेका भट्टराईको स्कूलिङ कम्युनिज्मबाट भएको देखिन्छ । उनले आजको उमेरसम्म उत्पादनको लागि गरिएको संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट प्राप्त ज्ञानको प्रकृति परिवर्तन हुन सम्भव त नहोला, तर उनी कम्युनिष्ट दर्शन परित्याग गरी गैर माक्र्सवादी सिद्धान्तको पक्षपाती भए र जीवनका ६ दशक बिताइसकेका वामपन्थी आन्दोलनमा अनेकौं दुःखकष्ट बेहोरेर प्रसिद्धिको उचाइ चुमेका डा.भट्टराईले उल्टो यात्रा तय गरेका छन् भन्ने आरोप लागेको छ उनीमाथि । तर अहिलेको हारबाट शिक्षा लिन उनी तयार भएको देखिन्छ । अहिलेको परिणामबाट विचलित नभएको र नयाँ शक्तिको मृत्युलेख लेख्न हतारिएकाहरुका लागि मृत्युलेख लेख्ने सपना असफल हुने डा. भट्टराईले बताएका छन् । [email protected]
          

 

प्रतिक्रिया दिनुहोस्