Logo

झापा १ मा टक्कर होइन, राम कार्की १७ हजार ४२ मतले अगाडि



गणेश पोखरेल
नेपालको संविधान कार्यान्वयनका लागि मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा प्रचार तीब्र छ । परिणाम आफ्नो पक्षमा पार्न उम्मेद्वार हरसम्भव प्रयासमा छन् । यति मात्र होइन, कहाँ कसको पल्ला भारि छ भन्ने कोणबाट पनि चुनावी चर्चा परिचर्चा सुरु भएको छ । कोही घोषित रुपमा मतदातालाई आफुले इच्छाएको, सही ठानेको उम्मेद्वारको पक्षमा वकालत गरिरहेका छन् भने कोही अघोषित रुपमा प्रचारमा छन् । चुनावको समयमा पक्षधरता स्वभाविक पनि छ । सचेत नागरिकको बसोवास भएको झापा जस्तो जिल्लामा चुनावी चर्चा चुलिएको छ । झापाको चुनावको सन्दर्भमा तथ्यको नजिक रहेर भन्दा काठमाडौंबाट स्वार्थ कन्द्रित र प्रायोजित चर्चा बढी छ । यसले अमेरिकी राष्ट्रपतीय निर्वाचमा हिलारी र ट्रम्पको चुनावमा भएको जस्तै परिस्थिति निर्माण गर्दैछ भन्दा अन्यथा नहुने अवस्था छ । यो लेखमा मैले स्थानीय तहको चुनावको परिणामको आधारमा केही तथ्य प्रस्तुत गर्ने जमर्को गर्नेछु ।
काठमाडौंका अधिकांश मिडियाले झापा १ को चुनावमा ‘कडा टक्कर’ भन्ने शीर्षमा प्रकाशन गरेका खबरले एउटा झापाली सञ्चारकर्मीको हिसावले झापाली नागरिक समक्ष यथार्थ राख्नु मैले आफ्नो दायित्व सम्झेको छु । तथ्यलाई हेरेर अवस्थाका विषयमा अनुमान लगाउन कुनै कठिन छैन । यस पटक झापाको प्रतिनिधिसभा क्षेत्र नम्वर १ का विषयमा चर्चा गर्नेछु ।
झापाको क्षेत्र नम्वर १ को प्रदेशसभा क्षेत्र नम्वर १ मा मेचीनगर नगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, १० र १५ नम्वर वडा र भद्रपुर नगरपालिकाको ९ नम्वर वडा रहेको छ । स्थानीय तहका ११ वटा वडा रहेको यो क्षेत्रमा ६३,१२८ मतदाता रहेका छन् । ती मतदाताले ७१ वटा मतदान केन्द्रबाट आफ्नो मत व्यक्त गर्ने छन् । मेचीनगर १ मा स्थानीय तहको निर्वाचनमा एमालेका पासाङ तामाङले १२१३ मत प्राप्त गरेर विजयी हुनु भएको छ । त्यहाँ नेपाली कांग्रेसका कृष्णबहादुर सुवेदीले १०९९ मत प्राप्त गर्नु भएको हो । माओवादीका अमृत तामाङले ३०७ मत प्राप्त गर्नुभयो । वडा नम्वर २ मा एमालेका तिलक न्यौपानेले १११८ मत प्राप्त गरेर विजयी हुनुभयो । कांग्रेसका हिम्मत क्षेत्रीले ८१२ मत प्राप्त गर्नुभयो । माओवादीका उत्तम सिठुङ्गले ७१३ मत प्राप्त गर्नुभयो । वडा नम्वर ३ मा एमालेका हर्क बहादुर बस्नेतले १४१२ मत प्राप्त गरी विजयी बन्नुभयो । सो वडामा कांग्रेसका दिपककुमार थापाले ५८८ मत र माओवादीका पुष्पलाल गुरागाईंले ७९८ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर ४ मा नेपाली कांग्रेसका नविन बराल ९५० मत प्राप्त गरी विजयी हुनुभयो । सो वडामा एमालेका अर्जुनकुमार कार्कीले ९०४ र माओवादीका मेघनाथ खड्काले ४३६ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर ५ मा कांग्रेसका योगेन्द्र थापा मगरले १००७ मत प्राप्त गरी विजयी हुनुभयो । एमालेका अनन्तकुमार दाहालले ९४२ र माओवादीका कविराज गिरीले २७७ मत प्राप्त गर्नु भएको छ ।
मेचीनगर ६ मा कांग्रेसका ललित तामाङ २७४८ मत प्राप्त गरी विजयी हुनुभयो । एमालेका खेमराज पोखरेलले २७४६ र माओवादीका भुपाल ओलीले ४५४ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर ७ मा कांग्रेसका चन्दन मेचेले १४५० मत प्राप्त गरी विजयी हुनुभयो । एमालेका दिनेश राजवंशीले १४४४ माओवादीका पुनलाल राजवंशीले ९७८ र राप्रपाका चन्द्रप्रसाद निरौलाले ७१८ मत प्राप्त गर्नुभएको छ । वडा नम्वर ८ मा एमालेका विकेन्द्रकुमार धिमालले १४०९ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका गिरिराज धमलाले १३४९ मत प्राप्त गर्नुभयो भने माओवादीका दिपेन्द्र रिजालले ३०८ मत प्राप्त गर्नु भएको छ । मेचीनगर १० मा कांग्रेसका सुवेशकुमार पनेरुले २४४३ मत प्राप्त गरी विजयी हुनु भएको छ । एमालेका विशेश्वरप्रसाद भट्टराईले १६७७ मत, माओवादीका हृदय राजवंशीले ५८८ र राप्रपाका कल्याण खड्काले २४३ मत प्राप्त गर्नु भएको छ । मेचीनगरको १५ नम्वर वडामा कांग्रेसका गुणराज भट्टराई १०३३ मत प्राप्त गरी विजयी हुनुभयो । एमालेका चेतराज विष्टले १०२७, माओवादीका बसन्त राजवंशीले ८७६ र राप्रपाका इन्द्रबहादुर थापाले २०३ मत प्राप्त गर्नु भएको छ । भद्रपुर ९ नम्वर वडामा एमालेका सनिलाल राजवंशी १२१९ मत प्राप्त गरेर विजयी हुनु भएको छ । सो वडामा कांग्रेसका राजेन्द्र रिजालले ९३४ मत प्राप्त गर्नु भएको छ । माओवादीका रतन राजवंशीले ३७९ र राप्रपाका नेपालसिंह राजवंशीले २६९ मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको क्षेत्र नम्वर १ मा एमालेको १५,१११ मत, माओवादीको ६११४ र राप्रपाको १६८१ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ । ३ वटा पार्टीका ११ वटा वडामा वडाध्यक्षले प्राप्त गरेको मत जोड्दा २२,९०६ मत हुन्छ । यसमा नेपाली कांग्रेसका वडाध्यक्षका सबै उम्मेद्वारले १४,४१३ मत प्राप्त गर्नु भएको छ । यसमा एमाले, माओवादी र राप्रपाको गठबन्धनको मतबाट नेपाली कांग्रेसको मत घटाउँदा ८,४९३ मतको अन्तर देखिन्छ ।
क्षेत्र नम्वर १ को प्रदेशसभा क्षेत्र नम्वर २ मा मेचीनगरको वडा नम्वर ९, ११, १२, १३ र १४, भद्रपुरको वडा नम्वर १० तथा बुद्धशान्ति गाउँपालिकाको वडा नम्वर ४, ५, ६ र ७ रहेका छन् । यो क्षेत्रमा स्थानीय तहका १० वटा वडा छन् । यहाँ ४२,३५३ जना मतदाता रहेका छन् । ४९ वटा मतदान केन्द्र रहेको यो क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मतलाई हेरेर अवस्था आँकलन गर्न सकिन्छ । प्रदेशसभा क्षेत्र नम्वर २ को मेचीनगर ९ मा कांग्रेसका गोपाल खड्का २१६४ मत प्राप्त गरी विजयी हुनु भएको छ । यहाँ एमालेका कञ्चनकुमार तामाङले १८९७ मत र माओवादीका कमलबहादुर रसाइलीले ३९६ मत प्राप्त गर्नु भएको छ । मेचीनगर ११ मा एमालेका सन्तोषकुमार मेचेले ९७१ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा माओवादीका शान्तिराम चिमरियाले ६०१ मत, राप्रपाका दिपेश राईले ३२० मत प्राप्त गर्नु भएको छ । कांग्रेसका हरिप्रसाद कार्कीले १८९ मत प्राप्त गर्नु भएको छ । १२ नम्वर वडामा माओवादीका नरेन्द्र धिमाल ९८० मत प्राप्त गरी विजयी हुनु भएको छ । एमालेका मदुसुदन निरौलाले ९७४ मत प्राप्त गर्दा कांग्रेसका लालबहादुर चौहानले ५९२ मत प्राप्त गर्नु भएको छ । १३ नम्वरमा एमालेका कृष्ण सिग्देल ७६४ मत प्राप्त गरेर विजयी हुनु भएको छ । यो वडामा माओवादीका कुमार भट्टराईले ७२३ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका पुष्पराज कार्कीले ५८८ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर १४ मा एमालेका शंकरप्रसाद पोखरेल ९६२ मत प्राप्त गरी विजयी हुनु भएको छ । यो वडामा माओवादीका बाबुलाल सुव्बाले ८४८ मत प्राप्त गर्नुभयो भने कांग्रेसका सर्त राजवंशीले ५४४ मत प्राप्त गर्नु भएको छ ।
भद्रपुरको वडा नम्वर १० मा एमालेका टेकबहादुर खड्का १५७८ मत प्राप्त गरी विजयी हुनुभयो । यो वडामा माओवादीका भरतसिंह राजवंशीले ४०९ मत र राप्रपाका सुरेन्द्र मैनालीले १७६ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका अम्वरबहादुर कार्कीले ८८२ मत प्राप्त गर्नु भएको छ ।
बुद्धशान्तिको ४ नम्वर वडामा एमालेका बुद्धिमान लिम्वुले १५१३ मत प्राप्त गरी विजयी हुनु भएको छ । यहाँ माओवादीका नारायण ढुङ्गानाले ७६८ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका चेतन ढुङ्गेलले १३७१ मत प्राप्त गर्नु भएको छ । ५ नम्वर वडामा कांग्रेसका वासुदेव खतिवडा ७५० मत प्राप्त गरी विजयी हुनु भएको छ । यहाँ एमालेका प्रदिप धिमालले ६४९ मत र माओवादीका विक्रम खालिङले २४२ मत प्राप्त गर्नु भएको छ । ६ नम्वर वडामा एमालेका शम्भुप्रसाद पौडेलले ६५६ मत प्राप्त गरी विजयी हुनु भएको छ । माओवादीका प्रदिप खतिवडाले ८८ मत प्राप्त गर्दा कांग्रेसका शिवराज पौडेलले ६३४ मत प्राप्त गर्नु भएको छ । वडा नम्वर ७ मा माओवादीका मातृकाप्रसाद पौडेल ३०८ मत प्राप्त गरी विजयी बन्नु भएको छ । यहाँ एमालेका निरकुमार सुवेदीले २५६ मत प्राप्त गर्दा कांग्रेसका निधिराम अर्यालले १५४ मत प्राप्त गर्नु भएको छ । प्रदेशसभा क्षेत्र नम्वर २ मा रहेका १० वटा वडामा एमालेका वडाध्यक्षले १०,२२० मत, माओवादीका वडाध्यक्षले ५३६३ मत र राप्रपाका वडाध्यक्षले ८३४ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका वडाध्यक्षको ७८६८ मत रहेको छ । ३ वटा दलका वडाध्यक्षले प्राप्त गरेको १६४१७ मतमा कांग्रेसका वडाध्यक्षले प्राप्त गरेको मत घटाउँदा ८५४९ मतको अन्तर देखिन्छ ।
अब प्रतिनिधिसभातर्फ कुरा गर्ने हो भने एमाले, माओवादी र राप्रपा गठबन्धनको २१ वटा वडाको मत ३९,३२३ हुन आउँछ भने कांग्रेसका वडाध्यक्षले प्राप्त गरेको मत २२,२८१ हुन आउँछ । प्रतिनिधिसभा क्षेत्रको मत अन्तर १७,०४२ रहेको छ । १७ हजार भन्दा बढी मत भएको पक्षलाई कसले कसरी दिन्छ कडा टक्कर ? जनमतले त्यो देखाएको छैन । उल्लेखित तथ्यले झापा क्षेत्र नम्वर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका दुई वटै क्षेत्रमा के होला यहाँ बताइरहनु पर्दैन । प्रोपोगण्डाले कति मत प्रभावित होला सहजै अनुमान लगाउन सकिन्छ । स्थानीय तहको निर्वाचनपछि केही मतदाता थपिएका छन् । ती मतदाता दुवैतर्फ बरावर नै छन् भन्दा हुने अवस्था छ ।
भनिन्छ, सामान्यताया मान्छेले आफ्नो विश्वास परिवर्तनका लागि ३ वर्षसम्म पर्खन्छन् । विभिन्न अनुसन्धानले आस्था, विश्वास परिवर्तनका लागि ३ वर्षसम्म लाग्ने ठहर गरेकैले विभिन्न स्थानमा आवधिक निर्वाचनका लागि ३ वर्षदेखि ५ वर्षसम्मको समय निर्धारण गरिएको हो । विभिन्न वडामा राजनीतिक दलले प्राप्त गरेको मतको अवधि ६ महिना पनि नपुगेकाले स्थानीय तहमा मतदान गर्ने नागरिकले आफ्नो आस्था र विश्वासलाई परिवर्तन गर्ने अवस्था देखिँदैन ।
यहाँ एउटा तथ्य बताउन सान्दर्भिक छ । काठमाडौंको एउटा मिडियाका रिपोर्टर झापा आए, उनले क्षेत्र नम्वर १ को अवस्था सार्वजनिक नहोस् भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने एमाले, माओवादी र राप्रपाको क्षेत्रस्तरीय अगुवा कार्यकर्ता भेलाको समयमा कार्यक्रममा जान नदिएर आफ्ना स्थानीय रिपोर्टरलाई क्षेत्र नम्वर ३ तर्फ लिएर गए । पछि उनको मिडियाले काठमाडौंमा राष्ट्रिय समाचार समितिको समाचारलाई अनलाइनमा प्रकाशन गर्यो । तर, झापा ३ नम्वर क्षेत्रको खबर सो दिन उनको मिडियामा देख्न पाइएन । यसरी मिडिया परिचालित भइरहेको अवस्था छ । त्यसैले प्रतिष्पर्धा नै नहुने स्थान पनि प्रायोजित रुपमा ‘कडा टक्कर’ भन्ने शीर्षकमा परिरहेका छन् । कडा टक्कर भनेको त अघिल्लो जनमतमा २–४ हजार मात्र मत फरक भएकोसम्म क्षेत्र पर्नु पर्ने होइन र ? त्यसैले मंसिर २१ गतेसम्मको समय मतदाता नै सचेत हुनु पर्ने अवस्था छ ।
झापाको क्षेत्र नम्वर १ लाई कडा टक्कर भएको क्षेत्र संविधानसभाको निर्वाचनलाई हेरेर त्यो वेलाको कतका आधारमा भनिएको हो भने अहिलेको क्षेत्र त साविक चन्द्रगढी, ज्यामिरगढी र दुहागढी थपिएर बनेको क्षेत्र हो । पहिलेको क्षेत्र नै नरहेको अवस्थामा जनमतको आधार चाहिँ पहिलेको हुनु यथार्थ नजिक हुन्छ र ? त्यसैले भ्रमको खेती होइन, यथार्थ नजिकको विश्लेषण आवश्यक छ । यो लेख तयार गर्नका लागि पत्रकार प्रेम आचार्य र मैले १ नम्वर क्षेत्रका दर्जनौं सर्वसाधारणलाई निर्वाचनबारे सोधेका छौं । उनीहरुले पहिलेको समर्थनलाई परिवर्तन गर्ने सोच नरहेको बताएका छन् । त्यसैले अहिले भन्न सकिन्छ, यो चुनाव औपचारिकता मात्र हो । प्रतिनिधिसभा सदस्य उम्मेद्वार सुरेन्द्रकुमार कार्की (राम कार्की), प्रदेशसभा सदस्य उम्मेद्वार श्रीप्रसाद मैनाली र गोपालचन्द बुढाथोकीले चुनावी कार्यक्रममा मतदान गर्न सिकाउने काम मात्र गरे पनि पुग्ने अवस्था छ ।
अनि राजधानीका मिडियाले मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिका मात्र रहँदा ठीक हुने झापाको क्षेत्र नम्वर १ मा किन बुद्धशान्ति गाउँपालिकाका १, २ र ३ नम्वर वडालाई हटाएर भद्रपुर नगरपालिकाका ९ र १० नम्वर वडालाई थपिएको हो भन्ने पनि बुझ्न जरुरी छ । भद्रपुरका ९ र १० मा जनमत कस्तो छ भन्ने तथ्यांक त निर्वाचन आयोगले आफ्नो वेभसाइटमा राखेकै छ । यस्तो जानाजान तथ्यलाई मोड्ने काम उचित हो र ?
सन्दर्भ पत्रकारको पनि छ । कांग्रेसको लेख्नु ठिक अरुको लेख्नु वेठिक भन्ने भ्रमबाट पत्रकार कहिले मुक्त हुने ? एमाले र माओवादी केन्द्रको विचारलाई ठिक लाग्ने पत्रकार चाहिँ तथ्यलाई सार्वजनिक गर्न पनि डराएर प्रतिपक्षी उम्मेद्वार रिसाउँछन् कि भनेर कडा टक्कर भन्ने खबर लेख्न वाध्य छन् । त्यति मात्र होइन, कडा टक्कर नलेखे आफ्नो समाचार प्रकाशन प्रशारण नै हुँदैन भन्ने समस्यामा पनि छन् । के कांग्रेस हुनु चाहिँ स्वतन्त्र हुनु अरु पार्टीका विचार ठीक लाग्नु चाहिँ पक्षधरता हो र ? त्यसैले पत्रकारले ठिकलाई ठिक र वेठिकलाई वेठिक भन्न सक्ने हैसियत राख्नुपर्छ । तथ्यले भन्छ, के हिजो वडाध्यक्षको उम्मेद्वार हुने मान्छेले आज आफ्नो पार्टी करियरलाई दाउमा राखेर आफ्ना उम्मेद्वारलाई हराउन लाग्छ र ? दुईचार जनाले त्यसै गर्ने हो भने पनि कति मत प्रभावित हुन्छ । अनि के त्यो काम एकपक्षीय एउटै पार्टी र उम्मेद्वारमा मात्र लागु हुने विषय हो र ?
सन्दर्भ काँकरभिट्टाको पनि उठेको छ, काँकरभिट्टामा तरल मत छ, त्यो त्यहाँका स्थानीय बासिन्दालाई जान्छ । तर, त्यो एजेण्डालाई बोक्नेहरुले नबुझेको कुरा के हो भने प्रतिनिधिसभा सदस्य भनेको वडाध्यक्ष होइन । जो दिनभर आफ्नै नगर क्षेत्रमा भेटियोस् । प्रतिनिधिसभाको सदस्य काठमाडौं बस्ने हो, मन्त्री बन्ने हो र क्षेत्रको विकासका योजनालाई अगाडि बढ्ने हो । प्रदेशसभाका सदस्य प्रदेशको राजधानीमा बस्ने हो । अनि स्थानीय तहका जनप्रतिनिधि स्थानीय तहमा रहने हो । स्थानीय तहका प्रतिनिधिले छनौट गरेका योजना प्रदेश र प्रतिनिधिसभाका सांसदले अगाडि बढाउने हो । झापा जस्तो सचेत नागरिकको बसोवास भएको जिल्लामा यस्ता भ्रम कसले पत्याउँछन् ?
त्यसैले भन्न सकिन्छ, झापाको १ नम्वर क्षेत्रमा छैन टक्कर । निर्वाचनको औपचारिकता पूरा गर्न मात्र बाँकी छ । यो औपचारिकतालाई उत्साहका साथ अगाडि बढाउने जिम्मा क्षेत्र नम्वर १ का बामपन्थी देशभक्त राष्ट्रवादी गठबन्धनका कार्यकर्ताको हो, जसले झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीपछिको बाम आन्दोलनका अग्रणी, एमाले र माओवादीबीचको पार्टी एकताका सुत्राधार राम कार्की जस्तो नेतृत्व प्राप्त गर्नु भएको छ । अनि स्थानीय क्षेत्रमा स्थापित श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकी जस्तो स्थानीय संगठनका अभिभावकलाई अहिले उम्मेद्वारका रुपमा प्राप्त गर्नु भएको छ । क्षेत्र नम्वर १ का मतदातालाई सम्बृद्धिको अभियानमा अग्रणी बन्न हार्दिक शुभकामना । [email protected]

 

प्रतिक्रिया दिनुहोस्