Logo

रणकुमारको जीवनः सेनाको जागिरदेखि खुकुरी उद्योगसम्म



बिर्तामोड, ५ माघ । बिर्तामोड नगरपालिका–३ मख्खनबारीका रणकुमार विश्वकर्माले पाँच वर्ष अघिदेखि सञ्चालन गरेको खुकुरी उत्पादन उद्योगबाट घरमै बसीबसी मनग्ये आम्दानी गरिरहेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा इराक बसेका रणकुमारले त्यहाँबाट फर्किएर खुकुरी उद्योगमा लगानी गरेका हुन् । करिब १७ वर्ष नेपाली सेनामा जागिर खाएका उनले २०६४ सालतिर अवकास पाएका थिए । त्यसपछि २०६५ सालमा वैदेशिक रोजगारीका लागि इराक गएका उनले एक वर्षपछि फर्किएर खुकुरी उद्योगमा लगानी गरे ।
इराकमा दिनहुँजसो हुने हत्याहिंसा र आतंकका घटनाबाट आजित उनी वर्ष दिन पनि नपुग्दै घर फर्किएका थिए । त्यहाँको अवस्थाले बस्नै मन लागेन उनले भने, ‘बरु आफ्नै देशमा केही गर्छु भनेर फर्किएँ ।’ सुरक्षा गार्डको रुपमा कार्यरत उनले मासिक एक लाख रुपैयाँको आम्दानी लत्याएर स्वदेश फर्किएर खुकुरी उद्योग सुरु गरेका हुन् । लोप हुँदै गएको पुख्र्यौली पेसाको संरक्षणसमेत गर्ने उद्देश्यले आफूले खुकुरी उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।
बिर्तामोड–३ स्थित मख्खनबारीमा खुकुरी कारखाना सञ्चालनमा आएपछि अहिले त्यो ठाउँको नाम नै खुकुरी चोक रहेको छ । उनको कारखाना झापामा पहिलो खुकुरी कारखाना हो । ‘बाबुबाजेले गर्दै आएको शीप कौशललाई बचाउनुपर्छ भन्ने लाग्यो’, बिहीबार बिहान सैनिकमोडस्थित आफ्नै खुकुरी पसलमा भेटिएका उनले भने, ‘आफूसँग भएको शीप र कलालाई सदुपयोग गर्न र पुख्र्यौली पेसा जोगाइराख्न कारखाना सुरु गरेँ ।’
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेको कारखानामा तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । निकट भविष्यमा कारखानामा लगानी बढाएर थप रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ । उनले कारखानामा उत्पादन गरिएका खुकुरी बिक्रीका लागि सैनिकमोडमा पसल सञ्चालनमा ल्याएका छन् ।
रणकुमारको कारखानामा प्रख्यात भोजपुरे, सिरुपाते, बाँसपाते र चुहानडाँडे ब्राण्डका खुकुरी उत्पादन हुन्छन् । जसमध्ये सिरुपाते खुकुरीको अत्यधिक माग रहेको उनले बताए । घरमा सजाएर राख्न र मासु काट्न कुखुरीको प्रयोग हुने गरेको छ, केही खुकुरी भारतसमेत निर्यात गर्दै आएका छन् । अधिकांश खुकुरी गाडीमा प्रयोग हुने स्प्रिङ पत्तिको फलामबाट तयारी गरिने उनले जानकारी दिए ।
स्प्रिङ पत्तिबाट बनेका खुकुरी अन्य खुकुरीको तुलनामा गुणस्तरी र टिकाउ हुने उनको भनाइ छ । फलाम पिट्ने, चम्काउने, टल्काउने, धारिलो बनाउनेदेखि बिँड लगाउने काममा उनी आफैँ खट्छन् । दाब र बिँडमा आकर्षक बुट्टा कुँद्न पनि उनी सिपालु छन् । आफ्नो उद्योगमा बनेका खुकुरी पाइनदार र असली हुने रणकुमारको दाबी छ । आठ सय देखि तीन हजार रुपैयाँसम्मका खुकुरी उनी बनाउँछन् । निकट भविष्यमा मादल पनि बनाउने सोचमा रहेका रणकुमारले भने, ‘पुख्र्यौली व्यवसायलाई संरक्षण नगर्ने हो संस्कृति नै हराउँछ कि भन्ने लागेर खुकुरी र मादल बनाउने लक्ष्य लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्