Logo

मेनपावरको नियमन गर्ने काम राज्यको हो



वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा झापामा परिचित नाम हो, हरि सुवेदी । जनजागृति मावि गोलधापबाट एसएलसी उत्तीर्ण गरेसँगै मेनपावरको एजेन्टका रुपमा काम सुरु गरेका हरिलाई यो व्यवसायमा आफू अब्बल बनौँला भन्ने लागेको थिएन । तर, काम प्रतिको लगनशीलता, इमान्दारिता र धैर्यताले आज उनी अब्बल व्यवसायीका रुपमा स्थापित छन् ।
२०६० सालदेखि पाँच वर्षसम्म उनले एजेन्टका रुपमा गोलधापमा रहेर काम गरे । वैदेशिक रोजगारमा जान चाहने युवाहरुको पासपोर्ट संकलन गरेर साइकलमा बिर्तामोड आउने, मेनपावरमा बुझाउने र भीषा आएपछि घर–घर पुगेर युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउन सहयोग गर्ने हरिले छोटो समयमा स्थानीयबासीको विश्वास जिते ।
स्थानीयको विश्वासलाई उनले कहिल्यै गलत सावित हुन दिएनन् । लामो समयसम्म उनले मेनपावर र वैदेशिक रोजगारमा जाने युवाका लागि पुलको काम गरे । आफूमार्फत् गएका युवाले भने अनुसारको सेवा–सुविधा र पारिश्रमिक नपाए उनी आफैँ मेनपावरको अफिसमा पुगेर युवाको पक्षमा लभिङ्ग गर्थे । त्यो नै उनलाई युवाहरुले विश्वास गर्ने सबैभन्दा ठूलो आधार बन्यो । पाँच वर्षसम्म एजेन्टका रुपमा काम गरेका हरिको कार्यदक्षताले मेनपावर सञ्चालकहरु उनलाई कर्मचारीकै रुपमा राख्ने योजनामा पुगे । जस अन्तरगत ०६५ बाट हरिले बिर्तामोडको मेनपावर कार्यालयमा रहेर काम गर्न सुरु गरे ।
तर, पाँच वर्षमा आधा दर्जन बढी मेनपावरमा काम गरेका हरि लामो सयमसम्म कर्मचारीका रुपमा रहेनन् । उनलाई त्यो बेला आफैँ मेनपावर सञ्चालन गर्ने सोच आयो । काठमाडौँमा रहेका मेनपावर व्यवसायी भुपेन्द्र कडरियाले उनलाई साथ दिए र उनले स्काई–वे मेनपावर प्रालिको सम्पर्क कार्यालय २०७० सालबाट बिर्तामोडमा सञ्चालन गरे ।
डेढ दशकदेखि निरन्तर रुपमा वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लागेका हरि यो व्यवसायलाई मानवीय समवेदनासँग जोडिएको व्यवसायका रुपमा हेर्छन् । ‘स्वदेशमै रोजगारीको अवसर भए नेपाली युवाले अर्थोपार्जनका लागि विदेशिनु पर्ने थिएन’, हरिले भने, ‘वैदेशिक रोजगारी नेपालीको रहर नभएर बाध्यता हो ।’
त्यसैले व्यवसायीले ठूलो मुनाफा भन्दा पनि यसलाई सेवाका रुपमा लिनुपर्ने उनको भनाइ छ । निडर र मिजासिला स्वाभावका हरि खुलेर भन्छन्– ‘कहिलेकाहीँ आफूले घाटा ब्यहोरेर पनि आयस्रोत नभएका युवालाई मैले वैदेशिक रोजगारमा पठाएको छु ।’ आफूले पठाएका युवाका बारेमा सधैँ जिम्मेवार बन्ने गरेको बताउने उनले रातसाँझ जतिबेला पनि फोन आए उठाउने र विदेशमा आफूले पठाएका युवा अप्ठ्यारोमा परे तत्काल समाधानको उपाय खोज्ने गरेको प्रष्ट्याए ।
हरि मोफसलमा रहेका मेनपावर स्थानीय युवाको सारथि बनेको बताउँछन् । स्थानीयस्तरमा मेनपावरका शाखा र सम्पर्क कार्यालय खुलेपछि वैदेशिक रोजगारीमा जाने युवालाई सहज भएको उनको बुझाइ छ । ताप्लेजुङबाट काठमाडौँ पुगेर वैदेशिक रोजगारको प्रक्रिया सुरु गर्नुभन्दा स्थानीयस्तरबाट गर्दा धेरै कुरा सहज भएको बताउँदै उनले भने, ‘मेनपावरका शाखा र सम्पर्क कार्यालयले गरेको कामको मूल्यांकन सम्बद्ध निकायले गर्नुपर्छ ।’
काठमाडौँमा रहेका मेनपावरका सञ्चालकले शाखा र सम्पर्क कार्यालयलाई लगाउने आरोप ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भने झैँ भएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै यो व्यवसायमा गलत मानिसको प्रवेश हुँदा समस्या उत्पन्न भएको उनको धारणा छ । नियमनकारी निकायले अनुगमन गरेर वैदेशिक रोजगार व्यवसायको नाममा गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउने हरिसँग झापाको वैदेशिक रोजगार व्यवसायको अवस्थाबारे गरेको कुराकानीको संक्षेप–

• बिर्तामोड मेनपावरको हब भनेर चिनिन्छ । यहाँ रहेका शाखा र एजेन्टको अवस्था कस्तो छ ?

हो, वास्तवमा बिर्तामोडमा मेनपावरका शाखा र सम्पर्क कार्यालय धेरै छन् । सर्वसाधारणलाई सेवा पु¥याउने उद्देश्यले बिर्तामोडमा मात्र डेढ सयको हाराहारीमा मेनपावरका कार्यालय सञ्चालनमा छन् । स्थानीय स्तरमा खुलेका मेनपावर वैदेशिक रोजगारीमा जान चाहनेहरुको सारथी पनि बनिरहेका छन् । व्यवसायी बीच नै खुट्टा तान्ने प्रवृत्ति बढेका कारण पछिल्लो समय यो व्यवसायमा आन्तरिक समस्या पनि देखिन थालेका छन् । अर्कोतर्फ सरकारी निगरानी पर्याप्त रुपमा नहुँदा राम्रो काम गर्ने र नराम्रो काम गर्नेहरु एउटै दर्जामा रहेर काम गर्नु पर्दा केही असहज भइरहेको छ ।

• सरकारी निकायको उपस्थिति नहुँदा समस्या भएको हो ?

हो, यहाँ नियमक निकाय नै छैन । जसले जे गरे पनि हुन्छ भन्ने छ । झापामा रहेको श्रम कार्यालय मेचीलाई वैदेशिक रोजगारसम्बन्धी काम गर्ने पूर्ण अधिकार नदिँदा समस्या भएको छ । सरकारले बेलाबेलामा गर्ने मौसमी अनुगमनले मनेपावरका शाखा तथा सम्पर्क कार्यालयहरुलाई कानुनी दायरामा ल्याउन सकेको छैन । त्यसकारण सरकारले नियमित रुपमा अनुगमन गर्नुपर्छ  । वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतका सम्बद्ध निकायले यस्ता कुरामा ध्यान दिनुपर्छ । श्रम कार्यालयलाई अधिकार प्रत्यायोजन गरी वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने अधिकार दिनुपर्छ  । सरकारले व्यवसायीलाई तर्साउने काम मात्र गर्नु हुँदैन । व्यवस्थित गर्नेतर्फ पनि पहल कदमी गर्नुपर्छ ।

• शाखा पनि छन् र सम्पर्क कार्यालय पनि फरक के छ ?

मेनपावरका शाखा र सम्पर्क कार्यालय बीच खासै फरक छैन । डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला डा। गणेश गुरुङको संयोजकत्वमा वैदेशिक रोजगार सुधार, सुझाव कार्यदल बन्यो । त्यसले मेनपावरका शाखाले दुई लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान ल्यायो र राजपत्रमा सूचना प्रकाशित गरियो । त्यो बेला केही साथीहरुले धरौटी वापतको रकम राख्नु भयो । अधिकांशले राखेनन् । त्यसपछि वैदेशिक रोजगार विभागले दुई लाख रुपैयाँ धरौटी राखेर एजेन्ट कार्ड दिने निर्णय गर्यो । त्यही अनुरुप धेरै मेनपावरले एजेन्ट कार्ड लिए र सम्पर्क कार्यालयका रुपमा काम गर्न सुरु गरे । शाखा र सम्पर्क कार्यालयको बीचमा खासै फरक छैन ।

• झापामा शाखा र सम्पर्क कति छन् ?

अहिले १२ वटा शाखा कार्यालय सञ्चालनमा छन् । एजेन्ट कार्ड लिएर सम्पर्क कार्यालय चलाउनेहरुको संख्या करिब डेढ सयको हाराहारीमा छ ।

• स्थानीयस्तरमा खुलेका मेनपावरबाट ठगी बढ्दैछ भन्छन् नि !
यो गलत हो । आधिकारिक रुपमा काम गर्ने शाखा तथा एजेन्टहरुबाट कुनै पनि ठगीका घटना भएका छैनन्  । कुनै समस्या आए पनि तत्काल समाधान भएका छन्  । झापामा रहेका मेनपावरबाट कति ठगिए भन्ने जिल्ला प्रशासन कार्यालयमा परेका उजुरी हेर्ने हो भने पनि थाहा हुन्छ  । यसो भनिरहँदा आधिकारिकता नभएका केही व्यक्तिले वैदेशिक रोजगारीमा जानेहरुलाई ठगेका हुन सक्छन्  । तर, हामीले पटक–पटक सरकारलाई नै भन्दै आएका छौँ, गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ  । हामीले नै गलत काम गरेका रहेछौँ भने पनि कारबाही भोग्न तयार छौँ  ।

• शाखा र एजेन्टबीच के भिन्नता छ ?

खासै भिन्नता छैन  । सरकारले तोकेको धरौटी रकम बुझाएर शाखा र सम्पर्क कार्यालय सञ्चालनमा आएका छन्  । हामी पनि व्यवसाय रक्षा र सम्बद्र्धनका लागि क्रियाशील छौँ  । यसको मतलब यो होइन, कि नराम्रो कामको ढाकछोप गर्ने  । हामी पनि गलत काम गर्ने र व्यवसायीको नाममा ठगी गर्नेलाई काबारही गर्नुपर्छ भन्दै वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन लागिरहेका छौँ  । स्थानीय स्तरमा खुलेका मेनपावरले हजारौँलाई प्रत्यक्ष रोजगारी मिलेको छ भने लाखाँैँलाई रोजगारीमा पठाइरहेका छन्  । व्यवसायलाई व्यवस्थित बनाउन हामी सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार छौँ  ।

• वैदेशिक रोजगार व्यवसायको अवस्था कस्तो छ ?

अहिले वैदेशिक रोजगारका क्षेत्रमा ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् भने दैनिक १२ सयभन्दा बढी युवा विदेशिरहेका छन् । वैदेशिक रोजगारीमा कामदार पठाउन खुलेका मेनपावरको संख्या पनि एक हजारको हाराहारीमा छ । तर, सरकारले यस क्षेत्रतर्फ खासै चासो नदिँदा र सम्बन्धित निकाय गम्भीर नहुँदा मेनपावर कम्पनी बीच अस्वस्थ्य प्रतिस्पर्धा चलेको छ । सरकारले यो व्यवसायलाई मर्यादित बनाउन नसकेका कारण मुलुकको आर्थिक हिस्साको मेरुदण्डका रुपमा रहेको वैदेशिक रोजगार व्यवसाय ओझेलमै छ ।

• यो व्यवसायलाई कसरी हेर्नुहुन्छ ?

वैदेशिक रोजगार व्यवसाय चुनौतीपूर्ण व्यवसाय हो । अनेकौँ जटिलता र समस्याका बाबजुद यो व्यवसाय सञ्चालन हुँदैछ । स्वदेशमा बढ्दो बेरोजगारी समस्याका कारण नेपालीका लागि वैदेशिक रोजगार बाध्यात्मक विकल्प बनेको छ । मेनपावर कम्पनीले नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने भूमिका निर्वाह गरिरहेका छन् । सरकारले गर्न नसक्ने काम वैदेशिक रोजगार व्यवसायीले गरेका छन् भन्दा अनुपयुक्त नहोला ।

• फ्रि भिषा फ्रि टिकटका नाममा पनि मोटो रकम लिने गरिएको छ नि ?
फ्रि भिषा फ्रि टिकटको व्यवस्था सरकारले ग¥यो । तर, पूर्वतयारी बिना गरिएको यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । कामदार लाने मुलुकसँग सम्झौता नगरी हतारमा गरेको यो निर्णय आफैँमा अपुरो छ । रोजगारदाता मुलुकले फ्रि भिषा फ्रि टिकट दिए हामी व्यवसायीले सोही अनुसार पठाउन सक्छौँ । तर, अहिलेसम्म रोजगारदाता मुलुकसँग सरकारले सम्झौता गर्न नसकेका कारण समस्या भएको हो ।

• व्यवसायलाई व्यवस्थित बनाउन व्यवसायीको भूमिका के हुन्छ ?

तत्कालका लागि हामी व्यवसायीले मात्र होइन, सरकारले समेत वैदेशिक रोजगारको विकल्प प्रस्तुत गर्न सक्ने अवस्था छैन । यो अवस्थामा समृद्ध नेपालका लागि सुदृढ वैदेशिक रोजगारको बाटो समात्नुपर्छ भन्ने उद्देश्यले हामी व्यवसायीहरुले पनि सुदृढ र सुरक्षित वैदेशिक रोजगारीका लागि अझ बढी प्रयत्नशील हुनुपर्छ । यो व्यवसाय प्रत्यक्ष रुपमा मावनतासँग जोडिएकोले व्यवसायीले पनि सचेत हुनुपर्छ ।

• पूर्वमा मेनपावर व्यवसाय फस्टाउनुको कारण के हो ?

पूर्वाञ्चलमा वैदेशिक रोजगार व्यवसाय फस्टाएको छ । देशभर मेनपावरका ४२ वटा शाखा दर्ता भएकोमा २३ वटा हुनु र सम्पर्क कार्यालय पनि पूर्वमा बढी हुनुले यो व्यवसाय फस्टाएको देखिन्छ । यसको कारण यो क्षेत्रका युवा सक्षम भएकाले हुन सक्छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै व्यवसाय फस्टाउँदै गएको हो ।

• तपाईंहरु सरकारले लागु गर्न खोजेको फ्रि भिषा फ्रि टिकटको विरुद्धमा उभिनु भयो नि किन ?

हामी मोफसलमा रहने व्यवसायीले फ्रि भिषा–फ्रि टिकटको विरोध गरेका होइनौँ । हाम्रा बेरोजगार युवाहरु सरल र सुलभ ढंगले वैदेशिक रोजगारीमा जान पाउनु पर्छ भन्ने हाम्रो पनि मान्यता छ । हामीले सरकारको प्रावधान अनुसार वैदेशिक रोजगार ऐन र नियमावली अन्तरगत कार्यालय सञ्चालन गरेका छौँ । त्यसले गर्दा सरकारले मोफसलमा रहने व्यवसायीहरुको बारेमा पनि सोच्नुपर्छ ।

• मोफसलमा रहने व्यवसायीका कारण यो क्षेत्रमा ठगी बढेको भनिन्छ नि ?

त्यो पूर्वाग्रही ढंगबाट आएको अभिव्यक्तिमात्र हो । मोफसलमा रहेका व्यवसायीले मेनपावरका केन्द्रीय कार्यालय र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका बीच पुलको काम गरिरहेका छन् । कहीँ कतै एकाध घटना होलान् तर झापाली वैदेशिक रोजगार व्यवसायीले समस्यालाई तत्काल समाधान गर्ने गरेका छन् ।

• झापाका अधिकांश मेनपावर अवैधानिक छन् भनिन्छ नि ?

अवैधानिक छ भनेर कसरी भन्ने ? राज्यले तोकेको धरौटी बुझाएर वैदेशिक रोजगार ऐन २०६४ अन्तरगत सञ्चालनमा आएका मेनपावर अवैधानिक हुन् भने वैधानिक केलाई भन्ने ? मोफसलमा रहेका मेनपावरलाई अवैधानिक भन्ने भन्दा पनि नियमनकारी निकायले व्यवस्थित र मर्यादित बनाउँदै लानु पर्छ । राज्यले तोकेको मापदण्ड पूरा नगरी बिनादर्ता सञ्चालित मेनपावरलाई अवैधानिक भन्न सकिन्छ तर राज्यको मापदण्ड पूरा गरेर कानुनी रुपले सञ्चालनमा आएका मेनपावरलाई अवैधानिक भन्नु सरासर गलत हो ।

• वैदेशिक रोजगारको क्षेत्र पटक–पटक तरड्डित हुन्छ नि किन ?

ठ्याक्कै यही कारण हो भन्न त सकिन्न । तर, राज्यको स्पष्ट नीति नहुँदा पटक–पटक सरकारले गरेका निर्णय कार्यान्वयन नहुँदा र विदेशमा रहेको कमिशन तन्त्रको अन्त्य गर्न नसक्दा यो क्षेत्रमा तरङ्ग उत्पन्न हुने गरेको छ । सरकारी निकायले गर्ने अनुगमन फितलो छ । त्यो केवल व्यवसायीलाई तर्साउनका लागि मात्र गरिएजस्तो लाग्छ । सरकार फेरिएपिच्छे परिवर्तन हुने श्रम मन्त्रीले निर्णय गर्छन् । तर, कार्यान्वयनमा तदारुकता देखाउँदैनन् । जसका कारण वैदेशिक रोजगारको क्षेत्रमा बेला–बेला तरङ्ग उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्