Logo

युवा पुस्तामा फेसबुक



रोमन आचार्य

यात्रा धुलाबारीबाट विराटनगर सम्मको हो । सामुदायिक रेडियो प्रसारक सङ्घको छाता सङ्गठन अकोराबले आयोजना गरेको आर्थिक पत्रकारिता तालिमका लागि । मसँगै इलामका अन्य तीनजना साथीहरु पनि हुनुहुन्थ्यो । माघे सङ्क्रान्ति दिन, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइखोलामा लागेको माइ मेलाका कारण यातायातको जाममा दुई घण्टा परियो । गाडी जसोतसो त्यो भीड छिचोलेर अघि बढ्यो, केही अगाडि गएर धेरै मानिसहरु गाडीमा चढे ।

झिलझिले नेर हो क्यारे, एकजना केटीले बढो सानका साथ भनिन्, ‘म राति दुई बजेसम्म अनलाइन बस्छु ।’ म छक्क परँे, पछाडि फर्किएर हेरँे । कालो वर्णको १५÷१६ वर्षको उमेरको हुनु पर्छ । छेउमा बसेको एक केटालाई भन्दै थिइन् । उनले भनेको त्यो कुराले होइन, उनले देखाएको रवाफले म छक्क परेँ । ‘ममी बाबाले कराउँदै गर्छन्, बाल ! नदिई अनलाइन बस्ने हो । पागल तिमीसँग नि बोल्ने हो फेसबुकमै, अरु तीनजना केटासँग लभ परेको छ, कहिलेकाँही ब्यालेन्स पनि हाल्दिछ । मोज छ ।’ त्यही केटीले भन्दै थिइन् । म र इलामका साथी सोम सुनुवार छक्क प¥याँै । मुखामुख ग¥यौँ । उनीहरुको कुरा सुन्दै हाम्रो यात्रा अघि बढ्यो ।

राजवंशी समुदायको केटी हुनुपर्छ र केटो पनि त्यही समुदायको । केटो भन्दै थियो म पसलमा काम गर्छु भनेर । केटी कक्षा ८ मा पढ्छु भन्दै थिइन् । बाटाभरि उनीहरुले फेसबुकको मात्र कुरा गरे । सबै यात्रुका ध्यान खिच्यो । हामीले उनीहरुको गफ सुन्न बाहेक अरु केही कुरा गरेनौँ । बाटाभरि मेरो दिमागभित्र विचारले द्वन्द्व गरिरह्यो । आफैले आफैँलाई प्रश्न गरे, हामीले प्रयोग गर्ने सामाजिक सञ्जालको महत्व के र कति ?

माथिको प्रसङ्ग गाडीमा मात्र होइन, समाजका हरेक व्यक्ति तथा समुदायसँग मेल खान्छ । सामाजिक सञ्जाल अर्थात् फेसबुकमा नजोडिने मानिसहरु आजको समयमा सायदै कमै होलान् । युवा पुस्ताको त कुरै छाडौँ । भर्खर जन्मेका नानीहरुको नाममा पनि उसका अभिभावकले फेसबुुक एकाउन्ट खोलिदिएका छन् । उदाहरणका लागि धेरै पर पुग्दिन म । मेरै आफन्त ६० वर्षीया हजुरआमाले पनि फेसबुकमा आफ्नो उपस्थिति दर्शाउनु भएको छ भने केही समय अगाडि मेरै साथीको नानीलाई पनि म स्वयम्ले फेसबुकमा साथी बनाएको छु । यो सबै देखेर ४० कटिसक्नु भएकी मेरी आमाको पनि म आफैँले फेसबुक एकाउन्ट खोलिदिएको छु ।

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय यो सामाजिक सञ्जाल फेसबुक मात्र नभएर टुइटर, भाइवर, ह्वाडस्प, इमोलगायतका सामाजिक सञ्जालले समाजलाई कस्तो प्रभाव पारेको छ ? त्यसको भने लेखाजोखा हामीसँग छैन । सामाजिक सञ्जालले वर्षौ पहिले छुटेका साथीलाई पनि पुनः मित्रताको बन्धनमा ल्याएको छ, धेरै परोपकारी मनहरु जोडिएर सामाजिक क्षेत्रमा रचनात्मक कार्यहरु गरेका छन्, मानिसहरुले सूचना सङ्कलन केन्द्र बनाएका छन् । आफ्नो भावनाहरु पोख्ने माध्यम बनाएका छन्, देश विदेशमा म्यासेन्जर र भिडियो तथा च्याटमा बोल्न पाएका छन् । यही सामाजिक सञ्जालकै माध्यमबाट नेता उनीहरुका कार्यकर्ता र राजनीतिक दलका प्रतिनिधिहरुले जनआव्रmोस पनि सहन गर्नु परेको छ ।

हामीले सामाजिक सञ्जालको फाइदाको कुरा गरिरहँदा यसले निम्त्याएका जटिल प्रकारका समस्यालाई भने नजरअन्दाज बिल्कुलै गर्न मिल्दैन । एउटा प्रसङ्ग जोडौँ, मेरो साथी टङ्कमणिकी बहिनीले फेसबुकबाटै विवाह गरिन् । सुरुमा सामान्य च्याटमा बोल्दै जाँदा देखादेख नभई माया प्रेम बस्यो । एक अर्का बिना बाँच्नै नसक्ने भएपछि कुनै उपाय नलाग्ने भएर उनीहरुले बिहे गरे । बिहेमा हाम्रो सहमति नभएपछि उनीहरु भागेर बिहे गरे । त्यो सम्बन्ध लामो समय टिक्न सकेन । त्यसको करिब डेढ वर्षपछि झगडा सुरु भयो । अहिले डिभोर्सको केस अदालतमा चलिरहेको छ । त्यो केसमा मैले पनि दुःख पाइरहेको छु ।

मैले फेसबुकले गराएको बिहे टिक्दैन भन्न खोजेको होइन । समाजमा धेरै ठाउँमा राम्रा भएका उदाहरण पनि छन् । तर, अहिलेसम्म मैले सुनेको, देखेको र जानेको मध्ये सयमा दश प्रतिशतको मात्र सम्बन्ध राम्रो भएको छ । बाँकी नब्बे प्रतिशतमा कोही अदालत धाउँदै छन्, कसैले अलग बाटो रोजेर एक्लै जीवन जिउँदैछन् त कसैले दोश्रो, तेस्रो विवाह समेत गरिसकेका छन् ।

विश्वमा सामाजिक सञ्जालको इतिहास जे जस्तो भएता पनि नेपालमा यसले बजार लिएको धेरै समय भएको छैन । सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट नेपालमै मानिसले धेरै काम अनलाइन सिस्टमबाटै सुरु गरेका छन् । हामीकहाँ अनलाइन सपिङ, सरकारी कार्यालयमा अनलाइन फारम भर्न, अनलाइनबाटै बिल पेमेन्ट लगायतका अन्य धेरै कुराहरुको सफल अभ्यास र सञ्चालन भइरहेको अवस्था छ । तर, यसले गर्दा समाजमा धेरै चुनौती भने अवश्य थपिएको छ । विशेष गरेर पुराना पद्धतिका सञ्चार माध्यमलाई पनि अनलाइन सञ्चार माध्यमले जितिसकेका छन् । मानिसहरु फेसबुकमा जतिछिटो सूचना आयो, त्यसलाई प्रभावकारी मान्छन् । अब प्रविधिमैत्री पत्रकारिता पनि सुरु भइसकेको छ । तर, देशका शक्ति युवा भने सामाजिक सञ्जाल भनेर फेसबुकलाई बुझ्ने र फेसबुकलाई सही तरिकाले प्रयोग नगर्दा अथाह सूचनाको सागरबाट प्यासी भएर दिनदिनै गलत कुराको सिकार भइरहेका यथार्थ हामीमाझ छ ।

मसँगै पढ्ने अनि फरक क्षेत्रमा संलग्न भएका साथीले पनि सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गरेको म पाउँदिन । मसँगै काम गर्ने मेरा सहकर्मी भाई अमृत पनि फेसबुक चलाउन माहिर छन् । धेरै चलाएको देखेर मलाई वाक्क लाग्छ, कहिलेकाँही म सम्झाउँदै गर्छु, तर उसको फेसबुकमा के मोह छ भाई नै जानोस् । ऊ पनि प्रायः १२ बजाउँछ ।

जसरी विदेशीसँग, सूचनासँग, आफन्त र साथीभाइसँग यी सामाजिक सञ्जालले नजिक बनाएको छ, त्यसरी नै विकृति पनि मौलाएको छ । घरपरिवारमा श्रीमान श्रीमती, छोराछोरी भएका महिला तथा पुरुष पनि पर महिला तथा पुरुषसँग नजिकिएका छन् । वैदेशिक रोजगारी फस्टाएको हाम्रो देशमा श्रीमान विदेश गएका श्रीमती तथा श्रीमती विदेश गएका श्रीमानहरु अरुसँग लागेको प्रशस्त उदाहरणहरु हामीमाझ छन् । बेलाबेला फलानाको श्रीमानले अर्को ल्यायो रे ! फलानोकी श्रीमती पोइला गई रे ! हुँदाहुँदा कहिले त पत्रिकाको मुख्य समाचारमा यति लाख बोकेर श्रीमती पोइला गई भनेर छापिएका घटनाहरु पनि हामीले सुन्न र पढ्न नपाएका भने होइनौँ ।

राम्रा कामका पनि उदाहरण छन् । झापामै मनकारी साथीहरु मिलेर फेसबुकमा बनेको ग्रुप नेप्लीज टिन्स, हेल्पिङ हेण्ड्स, क्रिएटिभ नेप्लीज युथ, सामाजिक युवा समाजलगायत अन्य धेरै संस्थाले सामाजिक कार्यमा उदाहरणीय कार्य पनि गरिरहेका छन् । उनीहरुले समाज सुधारका लागि एकजुट भएर रचनात्मक कार्य पनि गरिरहेका छन् । तर, मैले माथि लेखेका उदाहरण जस्तै धेरैका छोराछोरीहरु रातभरि अनलाइन बस्ने, इन्टरनेटमा अनावश्यक रुपमा खर्च गर्ने, आफ्नो पढाइलाई असर गर्ने गरी सामाजिक सञ्जालको प्रयोग गर्ने समस्या भने समाजमा दिन प्रतिदिन तीतो यथार्थ बनेर रहेको छ ।

अर्को प्रसङ्ग पनि जोडौँ, मेरो एकजना बुढामावली तिरकी दिदी हुनुहुन्छ । उहाँको फेसबुक एकाउन्ट चारवटा छन् । कहिले कुनबाट कहिले कुनबाट म्यासेज आउँछ । आज एउटा नाम गरेको म्यासेज आउँछ भने भोलि अर्कै, पर्सी अर्को गरेर म्यासेज आउँछ । यो अवस्था निरन्तर तीन महिनासम्म चल्यो । मैले भेटेको समयमा सोधेँ, ‘किन यसो गर्नु भएको भनेर ।’ उहाँले हाँस्दै जवाफ दिनु भयो, ‘एउटा आइडीमा बाबा, अर्कोमा मामा अनि अर्कोमा पनि चाहिँ आफुलाई पढाउने सरहरु साथी हुनुहुन्छ । त्यही आइडीमा धेरै अनलाइन बस्यो भने उहाँहरुको गाली खानुपर्छ । अनि एउटा चाहिँ अलिक सेकरेट आइडी हो । त्यसमा तिम्रो भिनाजु पनि हुनुहुन्छ, पासर्पोट शेयर छ के मिलाएर बुझ न !’ यो जवाफ आयो म तीन छक्क परँे ।

मसँगै काम गर्ने मेरा एफएमका प्रबन्धक निर्देशक तथा आदरणीय गुरु ज्ञानेन्द्र निरौला बारम्बार भन्नुहुन्छ, सम्झाउनु हुन्छ । फेसबुक एउटा माध्यम हो भनेर । तिमी जहाँ जान्छौ, धेरै नसके पनि त्यहाँको चिनारी दिने एउटा फोटो क्याप्सनमा त्यसको बारेमा थोरै जानकारी लेखेर हाल्यो भने त्यसको बारेमा धेरैलाई जानकारी हुन्छ । कहिलेकाँही मनमनै आफै कुरा गर्छु । सबैले त्यसो गरिदिए हामीलाई पनि त्यो विषयमा उजागर गर्न सहज हुने थियो ।

मैले यहाँ प्रसङ्ग निकालेर सामाजिक सञ्जाल नराम्रो भन्न खोजेको होइन र यसको विरोध गर्न खोजेको पनि होइन । तर, यसको सदुपयोग गर्नुपर्छ भन्न मात्र खोजेको हो । मनोरञ्जन गर्नुपर्छ र फेसबुकलाई मनोरञ्जनात्मक र व्यक्तिगत पनि बनाउनु पर्दछ । तर, तपाई कस्तो मान्छे हो ? तपाई के गर्न चाहनुहुन्छ, कुन बाटो हिँड्दै हुनुहुन्छ भन्ने कुरा मापन तपाईंले फेसबुकको वालमा पोस्ट्याउनु भएको कुराले पनि आफ्नो व्यक्तित्व झल्काइरहेको हुन्छ ।

त्यसकारण जसरी चिया पसल, चौतारो, बौद्धिक मानिसहरुको जमघट, मेलापात लगायतका अन्य स्थानमा भेटेर गफ गर्दा सञ्चो बिसञ्चो, घरपरिवार, राजनीतिक विषय लगायतका अन्य विषयहरुमा कुरा हुन्छ, त्यसरी नै मेरा सन्तानले फेसबुक कतिको चलाउँदै छन् ? अनि यसले उनीहरुमा सकारात्मक वा नकारात्मक के असर पार्यो ? त्यसको बारेमा अभिभावकहरु बीच चर्चा हुनु जरुरी छ । त्यस्तै, जति पनि फेसबुक प्रयोगकर्ता हुनुहुन्छ, उहाँहरु स्वयम्ले पनि मैले यसबाट के फाइदा लिँदैछु भनेर फाइदा र घाटाबीच तुलना गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्