Logo

मार्क्सवाद, जबज र मदन भण्डारी प्रतिको मजाक



मार्क्सवादी अध्ययन पद्धतिले केही कुरालाई पनि सार्वकालिक ठान्दैन । बरु हरेक वस्तु र घटना ऐतिहासिक मान्छ । मान्छे स्वयं ऐतिहासिक हो । मान्छे केही लाख वर्ष पहिले थिएन । जुनबेला मान्छे बन्यो, त्यो मान्छे आजको जस्तो थिएन ।

उसका स्वभाव, बानी र नैतिकतासमेत आजका जस्ता थिएनन् । मान्छे आफैं र उसका विशेषता सार्वकालिक नभएपछि मान्छेको समाज सार्वकालिक हुने कुरै आएन । यसरी मान्छेको समाजलाई व्यवस्थित गर्ने सिद्धान्त पनि सार्वकालिक हुने भएन । यसैले मार्क्सवाद र यसका अवधारणा पनि सार्वकालिक हैनन्, छैनन् । यी ऐतिहासिक छन् र खास ऐतिहासिक कालखण्डसम्म मात्र यसको खास महत्त्व रहन्छ । मानव समाजको उत्पत्ति, विकास र यसलाई अझ मानवीय बनाउन गरिएको विवेचनाका आधारमा मार्क्सवादको यो शिक्षा आजसम्मकै सबैभन्दा वस्तुगत शिक्षा हो ।

मार्क्सवादको पद्धति तथ्यबाट सत्य पत्ता लगाउने हो । यसले जो ज्यादा वस्तुगत छ, त्यसका समीपमा आफूलाई उभ्याउँछ । यसर्थ मार्क्सवादी हुनु ज्यादा वस्तुवादी हुनु हो । वस्तुवादी बन्ने प्रक्रियाले र ज्ञानले सिर्जनात्मकता खोजी गर्छ । यही मार्क्सवादले गरेको सिर्जनशील आह्वानको उपलब्धि थियो, जनताको बहुदलीय जनवाद (जबज) । नेकपा एमालेले मदन भण्डारीको अगुवाइमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा यसलाई अवलम्बन गरेको थियो ।

सोभियत संघको पतन मात्र हैन, पूर्वी युरोपमा चुनावलाई प्रयोग गरी विकास भएको कम्युनिस्ट मोडल र यस्ता अन्य थुप्रै सफलता–असफलताको अनुभवबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई जीवन दिन बनाइएको वस्तुगत कार्यक्रम थियो जबज । यो कार्यक्रम आवधिक निर्वाचन, शक्ति पृथकीकरण, कानुनी शासन, संवैधानिक सर्वोच्चताजस्ता केही पुँजीवादी विशेषतासहितको मूलतस् नयाँ जनवादी कार्यक्रम थियो । अर्थात् अर्धसामन्ती तथा अर्धऔपनिवेशी समाजमा बुर्जुवा वर्गको हैन, कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने क्रान्ति (नयाँ जनवादी क्रान्ति)को कार्यक्रम थियो । र क्रान्ति सम्पन्न भएपछि समाजवादमा संक्रमण गर्ने संकल्प यसले लिएको थियो ।

कालक्रममा एमालेले जबजको कार्यक्रमलाई मार्गदर्शक सिद्धान्तका रूपमा विकास गरेको दाबी गर्‍यो । यसलाई शान्तिपूर्ण रूपमा गरिने क्रान्तिको सिद्धान्त भनियो । कार्यक्रमका हिसाबमा मदन भण्डारीले पेस गरेको जबजको अवधारणामा बलप्रयोगको प्रसंग ठाउँठाउँमा उल्लेख छ । पछि यो ‘बल प्रयोग’ बारे चर्चा गरिएन । यसको समुचित व्याख्या वा यसबारे छलफल, बहस सञ्चालन गरिएन । जब क्रान्ति भयो (०६२ र ६३ को जनक्रान्ति), जुन मूलतः शान्तिपूर्ण थियो । तर बहुदलीय प्रतिपस्र्धाबाट मात्र यो क्रान्ति भएन । जनविद्रोहमार्फत जागरुक जनताको बल यो क्रान्तिको निर्णायक पहलु बन्यो । भलै यसमा बहुदलीय प्रतिस्पर्धाको प्रक्रियाबाट सञ्चित गरिएको शक्तिको उल्लेख्य भूमिका छ । साथै माओवादी सशस्त्र संघर्षको पनि भूमिका छ । यसरी हेर्दा, क्रान्ति जबजले भनेजस्तो मूलतः शान्तिपूर्ण रूपमा तर जनविद्रोहको बलसमेतको प्रयोगले सम्पन्न भयो । कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा (एजेन्डा र उपस्थिति दुवै हिसाबले) जनवादी क्रान्ति सम्पन्न हुँदा यसले क्रान्तिसम्बन्धी जबजको अवधारणा (शान्तिपूर्ण र बल प्रयोगसमेत) पुष्टि गर्‍यो ।

यस हिसाबमा जबजले आकलन गरेको बाटोबाट ६२ र ६३ क्रान्ति भयो । तर जबजबारे वस्तुगत चर्चा नगर्दा तथा यसको यो मर्म नबुझ्दा जबजले नेपाली क्रान्तिमा जुन भूमिका खेल्ने सामथ्र्य राख्थ्यो, त्यसको प्रयोग हुन सकेन । मदन भण्डारीको असामयिक अवसानपछि यसलाई वस्तुगत रूपमा हेर्नेभन्दा पनि जेजे गरिन्छ, त्यहीत्यही जबज बनाइयो । जेजे भनिन्छ, त्यहीत्यही ‘जबज’ भयो । मानौं एमालेले गर्छ नै जबज, भन्छ नै जबज । यो जबजमाथिको विकृत आक्रमणशिवाय केही थिएन । यो आक्रमण जबज इन्कार गर्नेहरूबाट मात्र होइन, जबजको संरक्षण गर्ने नाममा सबभन्दा बढ्ता भयो । यो आक्रमणका कारणले क्रान्ति स्वयम्ले दुस्ख पायो ।

कतिपय सन्दर्भमा जबजका कार्यक्रम लागू भएनन्, लागू गर्न आवश्यक परेन । जस्तो कि भूमिसुधारका विषयमा जग्गामा हदबन्दी लगाउने र जसले हदबन्दीमा सहयोग गर्छ, उसलाई क्षतिपूर्ति दिने, जसले असहयोग गर्छ, उसको कब्जा गर्ने कार्यक्रम । न जग्गा कब्जा भो न कसैलाई क्षतिपूर्ति दिनुपर्‍यो । बरु माओवादी आन्दोलनका क्रममा सानोतिनो जमिन भएका धनी र मध्यम किसानकै कतिपय ठाउँमा जग्गा कब्जा भयो, जुन जबजअनुरूप थिएन । माओवादी सशस्त्र संघर्ष र एमालेको बहुदलीय बाटोमार्फत जुन गोरेटो, समय अनि लगानी (क्षतिसमेत) क्रान्तिले लियो, उपलब्धिका अगाडि त्यो निकै महँगो भयो । यसरी जबजका सन्दर्भमा मार्क्सवादले माग गर्ने शैलीबाट हिजो वस्तुनिष्ठ छलफल यथोचित रूपमा नचलाइएका कारण क्रान्तिका लागि हामीले ठूलो मूल्य चुकाउनुपर्‍यो । जबजलाई मन्त्र नबनाएर यसबारे खुलमखुला बहस, छलफल र त्यसका निष्कर्षहरूको कार्यान्वयन गर्ने दिशामा एमाले अघि बढेको भए सायद क्रान्तिको परिदृश्य नै फरक पथ्र्यो । अहिले त्यो अनुमान मात्र गर्न सकिन्छ ।

आज मूलतः जबजकै वैचारिक अगुवाइमा जनवादी क्रान्ति पूरा भएर समाजवादी क्रान्तितर्फ नेपाली समाज वैधानिक रूपमै अगाडि बढिसकेको छ । तर क्रान्तिको प्रक्रियामा जबजको मर्मलाई यथोचित ध्यान नदिइएकाले दलाल पुँजीवादले बलियो हैसियतमा शिर उठाएको छ । अबको कार्यक्रम, सिद्धान्त यही दलाल पुँजीवादविरुद्ध कसरी लड्ने भन्नेमा केन्द्रित हुन्छ । यो त्यति सजिलो विषय छैन । अनुत्पादक दलाल चरित्रको पुँजीको पकडले नेपालका सबैखाले स्रोत, साधन र उत्पादकत्वमा जुन ढंगको मोज गरेको छ, मुट्ठीभरका मानिस, निकाय र साम्राज्यवादले जति सजिलो गरी शोषणको राज चलाएको छ, त्यो त्यति सजिलै छाड्नेवाला छैन । त्यसैले अब निकै सचेततापूर्वक कठोर बाटो हिँड्नुपर्नेछ । त्यसका लागि मोटो रूपमा भन्दा घरेलु प्रतिक्रियावाद र विश्व साम्राज्यवादले गर्ने सबैखाले षड्यन्त्रविरुद्ध जनतालाई सचेत गराउने र जनसमर्थनको जगमा दलाल पुँजीविरुद्ध राष्ट्रिय पुँजी विकास गर्दै समाजवादतर्फ संक्रमण गर्ने दिशामा जानुपर्नेछ ।

विद्यमान सारा समस्या सामना गर्दै अहिलेको खास ऐतिहासिक कालखण्डको क्रान्तिकारी अभिभारा पूरा गर्न फेरि ‘जबज’ जस्तै वस्तुनिष्ठ कार्यक्रम र सिद्धान्त आजको आवश्यकता हो । जबज स्वयम्ले यस्तो माग गर्छ । कतिपयले जबजलाई सार्वकालिक भनेर जबजमाथि भद्दा आक्रमण थालेका छन् । जसरी मार्क्सवादलाई सार्वकालिक, जडसूत्र मानेर मार्क्सवादी आन्दोलनको मर्म कतिपयले मारे, मारिरहेका छन् । त्यस्तै जबजलाई तत्कालीन ऐतिहासिक कालखण्डको वस्तुनिष्ठ सिद्धान्त, कार्यक्रम नमानेर मौलिक, सार्वकालिक ठान्नु यसको अपमान हो । यथास्थितिको पृष्ठपोषण हो । अझ क्रान्तिपछि पनि बहुदल र चुनाव हुने भएकाले, चुनाव (बहुदलीय प्रतिस्पर्धा) नै जबज, जबज नै बहुदलीय प्रतिस्पर्धा भन्नु जबजको विकृत विद्रुपीकरण हो ।

जडसूत्रको विरोध गर्दै मदन भण्डारी स्वयम्ले ‘सिद्धान्तको रक्सी’ नपिउन भन्नुभयो । तर आज कतिपय त्यही जबजलाई रक्सी बनाउन उद्यत छन् । यो जननेता मदन भण्डारीमाथिकै एउटा नमीठो मजाक हो । जबजले ऐतिहासिक रूपमा खेलेको भूमिकाका आधारमा गरिने मार्क्सवादी विवेचना हैन, यसको समर्थनमा गरिने भजन आज अवधारणाका हिसाबले जबज अनि स्वयम् मार्क्सवादमाथिको खिल्ली हो । जबज र मार्क्सवादमाथि निर्मम प्रहार हो ।

आज प्रस्टसँग भन्न सकिन्छ, अर्धसामन्ती नेपाललाई समाजवाद उन्मुख संविधान दिलाउने प्रक्रियामा सबैभन्दा प्रभावकारी सैद्धान्तिक वैचारिक ऊर्जा र बाटो जबजले दियो । सँगसँगै नयाँ उत्पादन पद्धतिमा प्रविष्ट आजको समाजको वस्तुगत अवस्था चित्रण गर्ने सिद्धान्त र कार्यक्रम बनाउनसमेत जबजले अभिप्रेरित गरिरहेको छ । किनकि जबजले लेनिनवादी, माओवादी वा अरू कुनै पनि बाटोलाई सार्वकालिक ठानेन । आफूलाई सार्वकालिक ठान्ने कुरा त यसले सोच्दा पनि सोचेन । यसरी जबजले सबैखाले जडसूत्रबाट मुक्त भएरआफ्नो समयको ऐतिहासिक अभिभारा पूरा गरेको छ र हामीलाई हाम्रो समयको अभिभारा पूरा गर्न प्रोत्साहित गरिरहेको छ । मार्क्सवाद र जबजमाथिका सबैखाले खिल्लीलाई खारेज गर्दै अब बन्दै गरेको एकीकृत पार्टीले मार्क्सवाद र जबजका यी शिक्षालाई जति वस्तुनिष्ठ हिसाबमा अवलम्बन गर्छ, त्यति नै समाजवाद नेपाली धर्तीमा सन्निकट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्