Logo

जबजको च्याप्टर क्लोज भएकै हो ?



नेपालका दुई फरक धारका कम्युनिष्ट पार्टी एमाले र माओवादी बिच पार्टी एकता भई शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको छ । एमाले र माओवादी केन्द्र बिच लामो छलफल र बहसपछि पार्टी एकता घोषणा भएको हो ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालबाट विभाजनको श्रृंखला सुरु भएको हो । २०४६ सालको परिवर्तन पछि माले माक्र्सवादी बिच एकता भएपनि प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु भएपछि नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँधार स्थापित भएको हो ।
एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा रहस्यम जीप दुर्घटनामा मृत्यु भएको थियो । तिनै दिवंगत नेताको स्मृति दिवसमा पार्टी एकता एकता गरेर दिवंगत नेताप्रति सममान व्यक्त गरेका छन् । पार्टीमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पार्टी हाँक्ने उद्घोष गरेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी लोकप्रिय नेता हुन् । सन् १०९० मा सोभियत मोडलको सामाजवाद बिघट्न भएपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले धक्का खाएको थियो । ठिक त्यहि बेला नेपालमा ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलिय व्यवस्थामा मदन भण्डारीको चमत्कारिक व्यक्तित्व स्थापित थियो ।
पूर्वी युरोप लगायत संसारका धेरै देशका कम्युनिष्ट पार्टीले नाम र झण्डा फेर्दै गर्दा नेपालमा भने कम्युनिष्ट पार्टी बलियो प्रतिपक्षमा स्थापित भएको थियो । यसमा भण्डारीको चमत्कारिक व्यक्तित्व र प्रभावले काम ठूलो काम गरेको थियो । भण्डारीको व्यक्तित्वको चर्चा नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि भएको थियो ।
एमालेको पाँचौँ महाधिवेशनमा भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलिय जनवाद अत्यधिक मतले पारित भएको थियो । तर, भण्डारीको मृत्युपछि एमालेको नेपालगंजमा सम्पन्न महाधिवेशनले जबजलाई सिद्धान्तको रुपमा अघि सार्यो । जबजलाई सिद्धान्त स्वीकारेपछि एमालेमा विचारको खासै बहस नभएको आरोप लाग्न थाल्यो ।
तर, पार्टी नेतृत्वमा नभए पनि विचार र सिद्धान्तको बहस चलाउने घनश्याम भुसालको समूहले नेपाल अव अर्धसामन्ती र अर्धऔपनिवेशक मुलुक रहेन । नेपाल दलाल पुँजिवादी मुलुक भएको विचार प्रवाह गरे । भुसालले पुस्तक, लेख, प्रशिक्षण, अन्तर्वार्तामा माओवादी जनयुद्ध र २०६२।०६३ को जनआन्दोलनले पुँजिवादी जनवादी क्रान्ति पुरा भएको बताए । उनले अब समाजवादी क्रान्तिको तयारी गर्नु पर्ने विचार सार्वजनिक गरे । भुसालको विचारले मिडियादेखि कम्युनिष्ट आन्दोलनमा लागेका बिच राम्रो बहस भयो । तर, एमाले भित्र भने भुसालको चर्को आलोचना भयो ।
नेकपा संस्थापक पुष्पलालले वर्ग विश्लेषण गर्दै राज्यको चरित्र अर्ध सामन्ती र अर्ध औपनिवेशिक भएको विश्लेषण अब सान्दर्भिक नभएको भन्दै भुसालले नेपाल दलाल पुँजिवादी मुलुक भएको तथ्य र विश्लेषण प्रस्तुत गरे । त्यसैगरी पुष्पलालले भनेको पुँजिवादी जनवादी क्रान्तिका पनि पुरा भएकाले अव समाजवादी क्रान्तिमा लाग्नु पर्ने विचार प्रकट गरे ।
भुसालको बहसले आकार लिँदै गयो । माओवादीको २०६९ साल माघमा हेटौडा महाधिवेशनले भुसालले उठाएका नेपालमा दलाल पुँजिवादमा प्रवेश गरेको र पुँजिवादी जनवादी क्रान्ति पुरा भएको भन्दै समाजवादी क्रान्तिको तयारी गर्नु पर्ने कार्यक्रम पारित गर्यो ।
एमाले २०७१ साल असारमा काठमाडौँमा भएको महाधिवेशनबाट पनि समाजवादी कार्यक्रम पारित गरेको थियो । भुसाल महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए । भुसालको विचार पारित भएपनि मुल नेतृत्वमा भुसालको कट्टर आलोचन निर्वाचित भए । विचार माधव नेपाल समुहको विचार पारित भएपनि मुल नेतृत्व केपी ओलीको निर्वाचित भयो ।
एमाले र माओवादी बिच एकताका लागि बहस चलिरहँदा संचार माध्यमबाट भुसालले एमालेको जबज र माओवादीको २१ औं सताब्दीको जनवादको च्याप्टर क्लोज भएको बताए । भुसालको यो विचारप्रति सबैभन्दा बढी एमाले पङ्तिबाट आलोचना भयो । भुसालप्रति एमालेको एउटा समूह वैचारिक आक्रमण उत्रियो । यद्धपी भुसालले ति सबै आलोचना र गाली खाँदै जबज र २१ औं शताब्दीको जनवादको औचित्य नभएको बहस गरिरहे ।
भुसालको विचारले पार्टीमा बहसको स्थान नपाएपनि हिजो पार्टी एकता हुँदा भुसालले उठाएको विचार स्वीकार गरिएको छ । पार्टी एकताबाट पारित छ बुँदे घोषणापत्रमा माक्र्सवाद लेनिनवाद मार्ग दर्शक सिद्धान्त र समाजवाद उन्मुख जनताको जनवाद तत्कालीन कार्यक्रम हुने घोषणा गरिएको छ । जनताको बहुदलिय जनवाद र २१ औं शताब्दीको जनवादलाई महाधिवेशनमा लैजाने भनिनु एमाले भित्र जबजका कट्टर समर्थकलाई मलमपट्टी लगाउने काम मात्र हो ।
एमाले माओवादी बिच निर्वाचनपछि दुई पार्टी भएको सम्झौतामा पनि जबजको शान्तिपूर्ण प्रतिस्प्रर्धाबाट श्रेष्ठता हाँसिल गर्ने कुरालाई स्वीकार गर्ने र जनयुद्धको योगदानको उच्च मूल्याङ्कन गर्ने भनिएको थियो । नयाँ पार्टीको कार्यक्रम समाजवाद उन्नमुख जनताको जनवाद भनेकै जबजको विस्थापन हो । भुसालले जबज र २१ औं शताब्दीको जनवाद कार्यक्रमले अहिलेसम्म गरेको योगदानको मूल्याङ्कन गर्दै समाजवादी कार्यक्रम बनाउनु पर्छ भन्ने विचार दुबै पार्टीले स्वीकार गरेका छन् ।
भुसालको विचारले पार्टी भित्र औपचारिक प्रवेश पाएको छ । भुसालले गाली खाएपनि उनको विचार स्थापित भएको छ । समाजवादी कार्यक्रमको वृस्तृत खाका तयार नभएपनि समाजवादी विचारको कार्यक्रमको जित भएको छ ।

प्रतिक्रिया दिनुहोस्