Logo

मरेका भारतीय माछा सँग पनि प्रतिस्पर्धा गर्नै कठिन



झापा, जेठ ३० । भारतबाट खुला सीमानाको फाइदा उठाउँदै व्यापारीहरूले मरेका माछा नेपाल भित्याएर बिक्री गर्दा नेपालका माछापालक किसान मर्कामा परेका छन् । मरेका भारतीय माछा सस्तो मुल्यमा पाईने हुँदा उपभोक्ताले गुणस्तर भन्दा पनि मूल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको नेपाली किसानको गुनासो छ ।

झापाको काँकडभिट्टा, भद्रपुरको मेचि नदी र जिल्लाका अन्य साना नाकाबाट समेत आईसमा राखेर भारतबाट मरेका माछा भित्राईने गरेको छ । त्यस्ता माछा कैयौं दिनसम्म झापादेखी पहाडी जिल्ला ताप्लेजुङ र संखुवासभासम्म पुग्ने गरेको व्यवसायीहरूले बताएका छन् ।

झापामा यस्ता माछा भित्राउने एक ढुवानीकर्ता सुदिप चौरासियाले कार्टुनमा प्याक गरेर ल्याइएका माछा कम्तीमा ५ दिनअघि नै मारिएको हुने र ती माछा आईसमा राखेर व्यापारीले नेपालका बिभिन्न बजारमा पु¥याउने गरेको बताए । उनले मरेका माछा आइसमा राखेर ल्याउँदा केही फरक नपर्ने तर्क गर्दै नेपाली माछा व्यापारीले यसबाट फाईदा हुने हुँदा मरेकै माछाको माग गर्ने गरेको समेत बताए । चौरासियाले आफूले मात्र दैनिक २ हजार केजी माछा नेपाल भित्राउने गरेको दाबी गरे ।

नाकामा माछा भित्राउँदा कडाई नहुनु, खुल्ला नाका बढि हुनु र नेपाली उपभोक्ता सचेत नहुदा यसरी खुलेआम रुपमा मरेका माछा नेपाल भित्रने गरेको छ । ‘उपभोत्तालाई सस्तो माछा भए पुगिहाल्यो, कहिलै कहाँबाट ल्याएको ? कहिले मारेको केहि नसोधी किन्छन्,’ बिर्तामोड कृर्षि बजार नजिकै कपडा पसल गरेर बसेका स्थानिय तारा सिटौला भन्छन् । झापाका बजारमा जिउँदो भन्दा मरेका माछाको बिक्रि बढि हुने गरेको उनको दाबि छ ।

काँकडभिट्टामा रहेको पशु क्वारेन्टाइन चेक पोस्टका प्रविधिकले पनि सामान्य प्रकृया पुरा गरी भारतबाट आयतीत माछा छाडिदिदा मरेका माछा सहजै नेपाली बजारमा आईपुग्छन् । पशु क्वारेन्टाइन चेक पोस्टमा बसेका प्राबिधीकले सडकमा माछा चेक गर्न बसेका कर्मचारीले व्यापारीलाई पठाएको चिटको आधारमानै अनुमती पत्र दिने गरेका छन् । जसका कारण भारतबाट जस्तो माछा नेपाल आएपनि रोकिने र फर्किने अबस्था नभएको कृर्षिथोकका एक माछा व्यापारी बताउछन् ।

यसरी नेपाली बजारमा सहजै भारतीय सस्तो मुल्यका माछा भित्रदा स्थानिय माछा पालक कृषकको माछाले बजारनै नपाएको झापा बुट्टाबारीका माछापालक कृषक खेम बराल बताउँछन् । ‘भारतको मरेको माछा प्रतिकिलो १ सय ८० देखि २ सयमा पनि बिक्रि गर्छन, हामिले उत्पादन गरेको माछा जात अनुसार प्रतिकिलो ४ सय देखि ७ सय सम्म पनि पर्छ अनी कसरी प्रतिस्प्रधा गर्नु ?’ बराल प्रश्न गर्छन ।

सरकारले माछापालनलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रमहरू ल्याए पनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले भारतबाट आयात गर्ने हुँदा माछा पालक कृषक मर्कामा परेको बरालको तर्क छ । यसले माछापालनमा सरकारी अनुदान र त्यसलाई परिणाममुखी बनाउने लक्ष्यमा गम्भीर असर पारिरहेको व्यवसायीक किसानहरूको भनाई छ ।

माछा पालक कृषक खेम बराल भन्छन् – ‘सरकारले माछापालनमा प्रोत्साहन गर्न लागि अनुदान कार्यक्रम ल्याउनु सकारात्मक भए पनि भारतीय माछा आयातमा कडाइ गर्न नसक्नु दुखद हो ।’

जिल्ला कृषि विकास कार्यालय झापाले नेपाली बजारमा माछाको मागको ६० प्रतिशत हिस्सा भारतीय माछाले ओगटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार झापामा माछाको उत्पादन वार्षिक सरदर १ हजार ८० टन सम्म रहेकोछ । झापा जिल्लामा करिब ४ सय हेक्टरमा माछापालन भइरहेको छ ।

यस अघि जिल्ला कृषि विकास कार्यालय झापाले विभिन्न अनुदानका कार्यक्रम ल्याएर माछाको उत्पादन बढाउने प्रयास गरिरहेको भएपनि स्थानिय तह बनेर जनप्रतिनिधि आएको लामो समय बितिसक्दा र कृर्षी शाखा स्थानिय तहमा बनिसक्दा समेत स्थानिय कृषकको उत्पादन लाई प्रोत्साहन गर्ने र मरेका माछा आयतमा रोक लगाउन नसकेको माछापालक कृषकहरुको गुनासो छ । झापाको गौरादह, तोपगाछी लगायतका क्षेत्रलाई माछा पकेट क्षेत्रका रुपमा घोषणा गर्दै यस अघि कृर्षि विकास कार्यालयले काम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्