Logo

बर्षातमा मेची राजमार्ग जोखिमपूर्ण



बिर्तामोड, असार ३ । प्रायजसो जेठ मध्य देखि झापा बिर्तामोड स्थित नयाँ बसमा यात्रुको चहलपहल ह्वातै घट्छ । बिर्तामोड जस्तै मेची पहाडी जिल्ला ईलाम, पाँचथर र ताप्लेजुङका बस पार्कमा पनि यात्रुको चहलपहल हुँदैन । वर्षातको समय लाग्नसाथ ताप्लेजुङबाट झापा सम्म चल्ने यात्रुबाहक सवारी साधन लगभग रितै जस्तो दौडन्छन् ।

कारण यो राजमार्ग सामान्य वर्षा हुनसाथ घण्टौ त कहिले एक दिन सम्म अबरुद्ध हुने हुँदा यात्रुको संख्या वर्षातमा ह्वातै घट्छ । बाध्यतामा यात्रा गर्ने यात्रुुले पनि वर्षातमा मेची राजमार्गमा यात्रा गर्दा सास्ति भेग्नुपर्छ ।

झापा देखि ताप्लेजुङ सम्मनै सडक कालोपत्रे भए पनि पहिरो र भल बाढिका कारण धेरै स्थानको सडक क्षतबिक्षत छ । साँघुरोबाटो र भिर पहराबाट सडक निर्माण गरीएकाले कुनबेला पहिरो झर्छ टुङ्गो हुँदैन । यो मार्ग भएर यात्रा गर्ने यात्रुले मौषम हेरेर मात्र टिकट काट्ने गरेको बिर्तामोड टिकट काउण्टरका मनिन्द्र लिम्बुले बताए । ‘बर्खामा यात्रु पनि कम हुन्छन्, त्यसमा पनि पहाड जाने गाडी दौडाउनु अझै चुनौतीपुर्ण छ, लिम्बुले भने – कुनबेला कहाँ सडक पुरिन्छ र भासिन्छ टुङ्गो हुँदैन ।’

पाँचथर देखि ताप्लेजुङ सम्म सम्मको सडक भित्तापट्टकिो भाग पूरै नकाटिएको र पहरा चर्किएकाले यहाँको यात्रा जोखिमपूर्ण रहेको यो सडक खण्डमा सवारी चलाउने चालकहरु बताउछन् । ‘पहरा ठाडो काटिएकाले पनि सडक जोखिमपूर्ण छ, कहिलेकाहि त कुदाउँदा कुदाउँदै माथिबाट पहिरो पनि झर्छ, बर्खामा झापाबाट हिडेको एकै दिनमा ताप्लेजुङ पुग्छु भनेर नहिड्दा पनि हुन्छ,’ झापा देखि ताप्लेजुङ जिप चलाउँदै आएका चालक बिमल सुनुवार बताउछन् ।

‘ईलाम सम्मत ठिकै छ त्यहाँ भन्दा माथि पाँचथरको फिदिम सम्म पनि ठुलो पहिरो झर्ने स्थान कम भए पनि सडक भासिने र ढिस्काहरु झर्ने हुन्छ, फिदिम देखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ सम्म चाहि पहरा र पहिरो झर्ने जोखिम बढि छ ।’ चालक सुनुवारले बताए ।

ताप्लेजुङ–पाँचथरको सिमाना काबेली नदि देखि माथि बहानन्दे सम्मको सडकलाई बढि जोखिमपुर्ण मानिन्छ । यो सडक खण्डमा सडक अबरुद्ध नभएको बर्ष छैन । ‘वर्षातको समयमा ताप्लेजुङ–पाँचथर सडक खण्ड सबैभन्दा बढि अबरुद्ध हुन्छ, त्यसमा पनि बहानन्दे–काबेली सडकखण्डमा पहरा झरेर १२ घण्टा सम्म पनि सडक अबरुद्ध भएको तथ्याङ्क छ,’ उत्तर दक्षिण ओलाङ्चुङगोला लोक मार्ग आयोजनाका पुर्व प्रमुख कुबेर नेपाली बताउछन् ।

यो खण्डमा पहिले सडक सडकको ट्रयाक खोल्दा पड्काइएको ब्लास्टिङको थार्काई कारण पहरा चर्किएको र हल्लिएका कारण हल्का वर्षा हुँदा पनि झर्ने समस्या रहेको उनको भनाई छ । उनले भने – ’त्यो बेला ब्लास्टिङ पड्काउँदा धेरै चर्किएको छ, भित्रपट्टीको भागमा पानी पर्दा त्यो झर्ने खतरा धेरै हुन्छ ।’

मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकको ट्याक २०४६ सालमै खोलिएको हो । अझ काबेलीदेखि ताप्लेजुङसम्मको भागको पहाड कमजोर भएकाले पनि जोखिम बढी रहेको नेपालीको दाबी छ । ’पहरा भित्रको ढुंगा पत्र–पत्र परेको हुन्छ, विदेशमा त्यस्तो पत्र परेको भागलाई केमिकल लगाएर जोडिन्छ हाम्रोमा वास्ता नहुने भएकाले खतरा धेरै छ,’ नेपालीले भने । कम बजेटमा धेरै काम गर्नुपर्ने भएकाले पनि सडकको अवस्था राम्रो नहुने उनको तर्क छ ।

ताप्लेजुङको खहरे, खोक्से र ल्याङवाको भाग चट्टान धेरै खस्न सक्ने भाग हो । यसको बाहिरपट्टी नै चट्टानको पत्र देखिने गरेको छ । अझ सडक विभागले नाली सफा नगर्ने र कतिपय स्थानमा खोलो सडकतिर फर्काएकाले सडकको तल्लो भाग झर्ने खतरा बढि देखिन्छ । पाँचथरको गणेशचोक, भालुचोक र पौवाभञ्याङ क्षेत्रमा पनि स–साना पहिरो र भेलबाढिले वर्षेनी सडक भत्काउने गरेको छ । यस क्षेत्रमा ठुलो पहिरो नगए पनि ढिस्काहरु र भितामा अड्किएका ठुला ढुङ्गा झर्ने हुँदा घण्टौ सम्म सवारी अबरुद्ध हुने गरेको छ ।

यता इलाम खण्डको किटेनी, भालुखोप, धजे, राजदुवालीलगायत क्षेत्रमा बर्खामा सडक दबिने समस्या अझै उस्तै छ । सडक डिभिजनले बसेर्नि ती स्थानमा सामान्य मर्मत सम्भार गर्दै आएको छ । तर मर्मत गरीनसक्दै आउने वर्षातको समयमा ति स्थानलाई उस्तै बनाउँछन् ।

साँघुरा गोलाइ, उकालो र ओरालो धेरै, सवारीसाधनको चापजस्ता कारणले पनि राजमार्गमा जोखिम थपिएको छ । चारआलीदेखि ताप्लेजुङ सम्मको २ सय ३० किलो मिटर क्षेत्र र आसपासका अन्य केही सडक मर्मतका लागि वर्षेनी करोडौ रकम छुटिएर बाटो टाल्दा र भितामा पर्खाल लगाउँदैमा सो रकम सकिन्छ ।

सोहि सडक खण्ड मर्मत गर्न गत आर्थिक वर्षमा छ करोड रुपैयाँ छुटिएको र काम भएको सडक डिभिजन कार्यालय ईलामले जनाएको छ । सो रकम भत्किएको स्थानमा सामान्य पर्खाल लगाउने र पुरिएका र उकिएका सडक टाल्नमा सकिएको छ ।

मेची राजमार्ग ईलाम खण्डको सबैभन्दा जोखिमपूर्ण क्षेत्र इलाम नगरपालिकाको राजदुवाली हो । यहाँ सडक धसिने क्रम रोकिएको छैन । यसअघि मर्मतका लागि जति रकम खर्चंदा पनि प्रभावकारी नभएपछि डिभिजनले अहिले नयाँ प्रविधिबाट काम गरीरहेको बताएको छ । ‘एङरिङ’ प्रविधिबाट जोखिमयुक्त १ सय ५० मिटर सडक निर्माण भइरहेको डिभिजनको भनाई छ ।

साढे ५ करोडको योजना अन्तर्गत सडकमा तलमाथि नै मजबुत पर्खाल बनाइएको छ । यो प्रविधि अन्तर्गत पर्खालको बीचबीचमा पाइपमार्फत २५ मिटर भित्रसम्म ३२ एमएमको रड हालिएको छ । जसको कारण सडक भारिनबाट जोगाउने ईन्जिनीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्