Logo

पत्रकार बिरुद्धको झुठ्ठा उजुरी फिर्ता लिन प्रेस काउन्सिल वाध्य



झापा, १५ असार । प्रेस काउन्सिल नेपालले धरानका पत्रकार केशव घिमिरे बिरुद्ध प्रहरी अपराध अनुसन्धान महाशाखाका दिएको झुठ्ठा उजुरी फिर्ता लिने निर्णय गरेको छ ।
काउन्सिलका कार्यावाहक अध्यक्ष तथा बिवादस्पद पत्रकार किशोर श्रेष्ठका सम्बन्धमा फेसबुकमा गरेको सामान्य कमेन्टलाई काउन्सिलको नाममा विद्युतीय कारोवार ऐन अन्तर्गत झुठ्ठा उजुरी परेको थियो । पत्रकार घिमिरेले नायिका श्रीशा कार्की प्रकरणको प्रशंगमा फेसबुकमा कमेन्ट गरेका थिए । श्रेष्ठका बारेमा गरेको कमेन्टलाई काउन्सिलले आफु बिरुद्ध भएको भन्दै प्रहरीमा असार १० गते उजुरी गरेको थियो । हतियारधारी प्रहरीले बैवाहिक कार्यक्रम बिथोल्ने गरी पक्राउ गर्न खोजेपनि जोगिएका घिमिरे पाँच दिनदेखि कार्यक्षेबाट बिस्थापित थिए ।

पत्रकार घिमिरेलाई एक रात भएपनि थुनाएर छाड्ने धम्की दिएका काउन्सिलका कावा अध्यक्ष श्रेष्ठ सबै क्षेत्रबाट आलोचित भएपछि बाध्य भएर उजुरी फिर्ता लिएका हुन् । श्रेष्ठले लिखित माफी माग्न भनेपनि पत्रकार घिमिरेले कुनै हालतमा माफी नमाग्ने जवाफ दिए । कावा अध्यक्ष श्रेष्ठको मिडियाबाट तिब्र आलोचना भएपछि उनी झुठ्ठा उजुरी फिर्ता लिन बाध्य भएका हुन् । प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले श्रेष्ठ र काउन्सिलको गतिविधिको आलोचना गरेका थिए । अन्ततः वाध्य भएर श्रेष्ठको निर्देशनमा उप प्रसाशकीय अधिकृत रामशरण बोहोराले उजुरी फिर्ता लिएका हुन् ।

जनआस्था साप्ताहिकमा २०५९ साल असोज २३ गते नायिका श्रीशा कार्कीको नग्न तस्वीर छापिएपछि उनले आत्महत्या गरेकी थिइन् । श्रेष्ठ जनआस्थाका सम्पादक हुन् । नेपाली पत्रकारिताको इतिहासमा कालो धब्बा लागेको श्रीशा प्रकरण पुनः सहतमा आएको छ । श्रीशा कार्कीका परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । श्रेष्ठका बिरुद्ध प्रहरीले ज्यान मुद्धाको अभियोगमा अनुसन्धान गरेपनि तत्कालिन सरकारले मुद्धा फिर्ता लिँदा कार्की परिवारले न्याय नपाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्