Logo

हुलाकमा हाइसञ्चो, बोरामा नअट्ने चिठि अहिले झोला भरिँदैन



झापा, असार २० ।

‘चिठी आएन, चिठी आएन, मेरो मायालुको मलाई चिठी आएन…’

यो गीत सुन्दा झापा अर्जुनधारा-५ की १२ वर्षीया सनम गौतमले बुवा युवराजलाई सोधिन्, ‘चिठी कहाँबाट आउँछ बाबा ? ’ युवराजले उत्तर दिए, ‘हुलाकबाट।’ सनमले बुवाका कुरा बुझिनन्। हुलाकका विषयमा बुझाउन युवराजलाई निकै समय लाग्यो।

सूचना-प्रविधिको विकाससँगै हुलाकमाथिको निर्भरता घटेपछि हुलाक नयाँ पुस्ताका लागि नौलो बनेको हो। आफन्त, इष्टमित्रबीच सूचना आदानप्रदानको भरपर्दो माध्यम हुलाक सेवालाई झापामा इमेल, इन्टरनेट र मोबाइलले विस्थापन गरेको छ। यति बेला चिठीका झोला बोकेर गाउँ जाने हुलाकका हल्कारासमेत देखिन छाडेका छन्।

६ वर्षअघिसम्म चिठीको ओइरो लाग्ने हुलाक कार्यालयमा अहिले कर्मचारीको दिनचर्या फुर्सदमै बित्छ। पार्सल सेवामा वृद्धि भए पनि विद्युतीय माध्यमले गर्दा चिठी आदानप्रदान हुन छाडेको जिल्ला हुलाक कार्यालय झापाले जनाएको छ। आधुनिक प्रविधिसँगै गाउँ-गाउँमा इन्टरनेट, मोबाइलको पहुँच भएपछि झापामा पत्र-मञ्जुषा लेखिएका बाकस कतै खुला देखिन्छन् त कतै बोर्ड मात्र झुन्ड्याइएका छन्।

१७ इलाका र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमा सरकारी चिठीपत्र आदानप्रदान हुन्छ। व्यक्तिगत र पारिवारिक प्रयोजनका लागि हुलाक पुग्ने सेवाग्राहीको संख्या न्यून रहेको जनाइएको छ। सेवाग्राही घटेसँगै कर्मचारीलाई पनि हाइसञ्चो छ। अधिकांश हुलाकका कर्मचारी हाजिर गरेर घर फर्किन्छन् भने कार्यालयमा रहेका कर्मचारी पुस्तक पढेर त कोही मोबाइल र इन्टरनेट चलाएरै दिन कटाउँछन्।

हुलाकमा सरकारी कागजपत्र मात्र पोस्ट गर्न सेवाग्राही आउने गरेको जिल्ला हुलाक कार्यालय झापाका प्रमुख दामोदर घिमिरेले बताए। ‘पहिले बोरामा नअट्ने चिठी पत्र आउँथे, अहिले झोला पनि भरिँदैन’, उनले भने, ‘अब त गाउँलेले हुलाक शब्द नै बिर्सन लागे, नरमाइलो लाग्छ।’

हुलाक चल्तीमा हुँदा सातामै एक जना हल्काराले हजारभन्दा बढी चिठी बाँड्ने गर्थे। उनका अनुसार अहिले सातामा मुस्किलले सयको हाराहारीमा पत्र आउँछन्। कर्मचारीले कार्यालयमा काम पाउँदैनन्।

केन्द्रदेखि गाउँसम्मै संरचना विस्तार भएर १९३५ सालदेखि सेवा दिँदै आएको हुलाकलाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा अहिले खुम्चिएर बस्नुपरेको उनको बुझाइ छ। ‘हुलाकलाई प्रविधिमैत्री बनाउँदा गरिमा रहिरहन्छ’, उनले भने।

सरकारले जिल्ला हुलाक कार्यालयलाई जिल्लामा भएका एफएम, रेडियो, केबल नेटवर्कको नवीकरण र जिल्लाका सूचना अधिकारीको तथ्यांक राख्ने जिम्मेवारी थपेको छ। हुलाक सेवा विभागको तथ्यांकअनुसार मुलुकभर पाँच क्षेत्रीय, ७० जिल्ला, प्रत्येक जिल्लामा सातदेखि नौवटा इलाका र ३ हजार सात अतिरिक्त हुलाक छन्। ९ हजार ३ सय ५८ कर्मचारी, १० हजार ७ सय ७७ हल्कारा छन्। हल्काराले दुई घन्टा मात्र काम गर्ने गरेको जनाइएको छ। झापामा दरबन्दीका १ सय ८१ कर्मचारी रहेको जिल्ला हुलाक कार्यालयको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्