Logo

भड्किलो तीजः वर्ग विभाजन र करको दुरुपयोग



नेपाली हिन्दु महिलाको महान् चाड तीजको रौनकले यतिबेला हाम्रा गाउ“ बस्ती भरिएका छन् । समाजको वर्ग चरित्र चाडपर्वबाट पनि मुखरित हुँदो रहेछ । हाम्रा पर्वले हाम्रो समाजलाई वर्गिकरण गरिदिएका छन् ।

समाजको उच्च वर्गले आफ्नो उपस्थिति बडो उत्ताउलो पाराले देखाइरहेको हुन्छ । उसले नै आर्थिक स्रोतमाथि कजा जमाएको हुन्छ । राज्यको सहज पहुँचमा रहेको यो वर्गसँग प्रशस्त सम्पत्ति हुने भएकोले चाडपर्व पनि भड्किला हुँदै गएका छन् । यसलाई राज्यको कानुनले रोक्न खोजे पनि सम्भव हुन सकेको छैन ।

यही वर्गको देखासिकीमा समाजको निम्न वर्गले चाडपर्वलाई मनाउन खोजिरहेको हुन्छ । तर उनीहरुसँग आफ्नो आधारभूत आवश्यकता पनि पुरा गर्न धौ धौ भैरहेको हुन्छ । सकि नसकि शाहु महाजसँग सापटी गरेर भए पनि चाडपर्व धुमधामसँग नै मनाउनु पर्छ भन्ने मानसिकताको विकास भैरहेको छ । त्यसैले पनि हाम्रा पर्वहरु निकै भड्किला हुन थालेका छन् ।

महिलाको पर्व तीज पनि यो भन्दा फरक अवस्थामा छैन । महँगा कपडा, गहनाले सजिएर पार्टी प्यालेसमा तीज मनाउन थालिएको छ आजभोलि । यसले पर्वहरु निकै महँगा हुन थालेका छन् । सामाजिक विकृति, भ्रष्टाचार, कुसासन र वेथिति यस्तै कारणले पैदा हुने गर्दछन् ।

तीज एउटा धार्मिक–सा“स्कृति पर्व हो । यसमा महिलाले आफ्ना विरह वेदनाका गीत गाएर दुख विर्सने परम्परागत मान्यता स्खलित हुँदै छन् । महिलाको पर्व भनिए तापनि आजभोलि यो पुरुषको झन ज्यादा प्रभाव देखिन थालेको छ । अहिले वजारमा आएका गीत संगित पनि अत्यन्त भद्दा र उच्छृङ्खल देखिन्छन् । तीजको साँस्कतिक भावभन्दा धेरै टाढा रहेका यस्ता सांगितिक कार्यक्रमले पनि यसलाई भड्किलो वनाउन भूमिका खेलेका छन् ।

महिलाका वीचमा एकजना केटालाई नचाइरहेको भिडियो तीजको मर्म अनुसार सुहाउने कुरा होइन । हेर्ने दर्सकलाई नपच्ने दृष्य वनाएर तीजको मूल्य मान्यतालाई तोडमरोड गरिएको छ । यसतर्फ सँस्कृतिकर्मीले सोच्न जरुरी छ । तीजको मौलिकतालाई नै विगार्नेगरी गरिएका कार्यक्रमलाई सच्याइनु पर्दछ ।

नेपाली समाजले यस्ता विकृत अभ्यासलाई स्वीकार्र्ने अवस्था आउन दिनु हुंदैन । अन्यथा यसले कालान्तरमा ठूलो सामाजिक समस्या निम्त्याउने छ । चाडपर्व धनीमानी वर्गले मात्र मनाउने अवस्थाको सिर्जना नहोला भन्न सकिंदैन ।

त्यसैले समाजको आर्थिक–सामाजिक अवस्था अनुसार चार्डपर्व मनाउने परिपाटीको सुरुवात गर्नुपर्दछ । यसमा सरकार तथा वौद्धिक वर्गले विषेश ध्यान दिन जरुरी छ ।
पर्वका नाममा स्थानीय सरकारले लाखौँ खर्च गर्ने परम्परा सुरु भएको छ ।

जनताबाट उठेको करको कुनै एक पर्वमा मात्र खर्च गरिनु सान्दर्भिक हुँदैन । अन्य जाति धर्मका चाड पर्वमा पनि खर्च गर्नु पर्ने हुन्छ ।

यसरी सबै जात जातिका धर्म र पर्वमा सरकारी बजेट खर्च गर्दै जाने हो भने त्यो जनताको करको दुरुपयोग हो । नागरिक तहबाट यस्ता भड्किला तिजमा जनताका करबाट संकलित रकम खर्च गर्ने स्थानीय सरकारको कार्यशैली प्रति बिरोध सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्