Logo

मेची पुल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, बाटो बनाउन भारतीय प्रधानमन्त्रीलाई भन्छु



झापा, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुरको मेचीको आज उद्घाटन गरेका छन् । पुलको पूर्वी खण्डमा भारत जोड्ने सडक छैन भने पुलको नेपाल खण्डबाट मेची राजमार्गसम्म जोड्ने सडकको निर्माण कार्य पूर्ण भएको छैन । भन्सार पछाडीबाट पुलसम्मको सडक निकाल्ने काम सकिए पनि मुख्य सडकमा जोड्ने काम हुन सकेको छैन ।

सडकलाई सिधा बनाउने र सडक बिस्तारको काम हुने काम बाँकी नै छ । मेची पुलबाट हलुका सवारी साधन चले पनि ठूला सवारी साधन चल्न नेपाल र भारतका दुबै तर्फ सडकको काम हुन बाँकी छ ।
प्रधानमन्त्रीले दुई महिना अघि पनि पुल उद्घाटन् गर्ने तयारी भएको थियो । तर, भारत तर्फ सडक नबनी पुल उद्घाटन गर्दा विरोधी र मिडियाले उँडाउने डरले स्थानीय नेताले उद्घाटन कार्यक्रम रोकेका थिए । तर, आज प्रधानमन्त्रीबाट त्यही अवस्थामा पुल उद्घाटन भएको छ ।

प्रधानमन्त्रीले मेची पारीको सडक निर्माण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्ने बताए । उनले भने, मोदी मेरा मित्र हुनुहुन्छ, उहाँलाई सडक निर्माणका लागि आग्रह गर्छु ।

प्रधानमन्त्री ओलीले भद्रपुरवासीको मेची पुलको सपना पूरा भएको बताए । उनले भद्रपुरमा मेची पुल सडक नहुँदा व्यापार सुकेको र भद्रपुर पछि परेको बताए । मेची पुल मानिसलाई पुल देखाउन नभएर गाडी संचालन गर्न र व्यापार बढाउन भएको उनले बताए । उनले हुलाकी राजमार्गका ९ वटा पुल यस वर्ष सकिने र चार वटा अर्को वर्ष सकिए पछि भद्रपुरबाट कोशीसम्म सजिलै पुग्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले आफुले हाफ पाइन्ट लगाएर रेल हेर्न भारतको गलगलिया गएको स्मरण गरे । उनले भने, पहाडबाट झरे पछि रेल हेर्न मन लाग्यो, खाली खुट्टा, हाफ पाइन्ट लगाएर गलगलिया गएर रेल हेरको मलाई सम्झना छ ।

प्रधानमन्त्रीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।”

रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए । सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उनले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उनले उल्लेख गरे । पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उनले बताए । “अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ”, उनले भने, “समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।”

भद्रपुरमा मेची पुल निर्माण गर्न भद्रपुरवासीले २००९ सालदेखि पहल गरेका थिए । २०२२ सालमा तत्कालिन अत्तचलाधीस मनमोहन मिश्रले शिलान्याश गरेका थिए । भद्रपुरवासीले बि.स. २०२८ सालमा तत्कालिन युवराज बीरेन्द्रलाई २२ ला ८० हजार संकलन गरेर बुझाएका थिए । तर, लामो समय पुल नबन्दा पुलका माग गर्दा भद्रपुरका अगुवालाई सरकारले पक्राउ गरेको थियो । २०४१ सालमा तत्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पुनः शिलान्याश गरे । तर पनि पुल बनेन ।

विसं २०६८ माघ २१ गते तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मेची पुलको शिलान्यास गरेका थिए । गच्छदारले पुलका शिलान्यास गरे पनि भद्रपुरवासी पुल बन्छ भन्ने कुरा पत्याएका थिएनन् । कूल ३७ करोड ३६ लाखमा ठेक्का लागे पनि ३५ करोड ९८ लाखमा पुल निर्माण सम्पन्न भएको छ ।
तीन वर्षमा सम्पन्न हुनु पर्ने पुल भने ७ वर्षमा मात्र सम्पन्न भएको छ । पुलको लम्बाइ ५६० मिटर र चौडाइ ९.८ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्