Logo

चिया मजदुरको पीडाः हामीलाई छाक टार्न धौ धौ, मालिकका बर्षेनी महल



विर्तामोड, २४ चैत । पदमा कोइराला झापाको बुट्टाबारीस्थित गिरीबन्धु टी–स्टेटकी मजदुर हुन् । उनले दुई दशक भयो त्यहाँ काम गर्न थालेको । ४० वर्षीया पदमालाई एक्लैको कमाइले बिहान–बेलुकी चुलोमा आगो बाल्नै धौ–धौ हुन्छ ।

मीठोमसिनोको कुरा निस्कनेबित्तिकै उनले भनिन्, ‘कहाँबाट मीठोमसिनो खान पुग्नु ? यो उमेर भयो, वासमती चामलको वासना पनि थाहा छैन मलाई । एक जनाको कमाइले छाक टार्नै मुस्किल छ।’

एक्लैको मजदुरीले दैनिक छाक टार्नेदेखि औषधोपचार खर्चसम्म पुर्यानुपर्ने बाध्यता छ उनको । उनले भनिन्, ‘बामपन्थी सरकार आएपछि मजदुरको दिन फेरिन्छ भन्थे । तर खै १ यो पनि गुम्छ कि भन्ने लाग्न थालेको छ।’

उपचार गर्नसमेत स्वास्थ्य चौकीको भर पनुपर्ने बाध्यता छ । उनले भनिन्, ‘स्वास्थ्यचौकीको औषधिले काम गरेन भने मात्र अरु सस्तो अस्पताल जान्छौँ ।’

त्यस्तै अर्का मजदुर पासाङ तामाङ पनि आफ्नो कमाइले परिवार चलाउन धौ–धौ पर्ने बताउँछन् । ‘घर बाहिर गएर मिठो खाएको भनेको चाउमिन र मःम मात्र हो । त्योभन्दा अरु खानेकुरा त हामी मजदुरहरुका लागि बनेकै होइन जस्तो लाग्छ,’ उनले भने, ‘चिया उद्योगीहरुले महल, गाडी र अर्को कम्पनी जोडेका जोडै छन् तर पनि घाटा भयो भन्न छाड्दैनन् ।’

गत वर्ष साउनमा नै सरकारसँग समझदारी भएर ज्याला तेकिएको थियो मजदुरको । तर, आठ महिना बितिसक्दा पनि कार्यान्वयन नभएको दुखेसो उनले गरे । चिया मजदुरहरु वारम्वार आन्दोलनमा उत्रँदासमेत उनीहरुको माग पुरा हुन सकेको छैन । एक जनाले कमाएर ल्याएको रकमबाट परिवारमा जति छन्, त्यत्ति नै भाग लगाएर खानुपर्ने अवस्था चिया मजदुरहरुको रहेको छ । त्यसमा पनि परिवारमा बालबच्चा छन् भने शिक्षा र स्वास्थ्यमा थप खर्च हुने उनीहरुको भनाइ छ ।

सरकारले अहिले चिया मजदुरको दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ । तर, उनीहरुले पाउने दुई सय ७८ रुपैयाँ मात्र हो । सोही रकमबाट सम्पूर्ण खर्च पुर्याउनुपर्ने चिया मजदुरहरुको बाध्यता छ । श्रम ऐन २०७४ जारी भएपछि चिया मजदुरको ज्याला बढेर तीन सय ८५ पुगे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

श्रम ऐनमा तोकिएको ज्याला नपाएको जनाउँदै चिया मजदुरहरुले बेला बेलामा आन्दोलन पनि गर्ने गरेका छन्, तर पनि उनीहरुका समस्या ज्यूँकात्यूँ छन् ।

छिमेकी देश भारतमा चिया मजदुरले दैनिक एक सय ७५ भारतीय रुपैयाँ ज्याला पाउदै आएका छन् । उनीहरुले सरकारका तर्फबाट दैनिक उपभोग्य सामान खरिदमा धेरै छुट पाउने गरेका छन्, तर नेपालमा भने त्यस्तो कुनै व्यवस्था नरहेकाले पनि चिया मजदुरहरु थप मारमा पर्ने गरेका छन् ।

विभिन्न मजदुर संगठनका अनुसार चिया क्षेत्रमा काम गर्ने मजदुरको संख्या नेपालमा ७० हजारको हाराहारीमा रहेको छ । त्यसको आधा हिस्सा झापामा मात्र छ ।

प्रतिक्रिया दिनुहोस्