Logo

अल्जाइमर्स (विर्सने) रोग किन र कसरी लाग्छ ? जानौँ !

२६ औं विश्व अल्जाइमर्स दिवस



आज २६ औं विश्व अल्जाइमर्स दिवस” । मानिसले बिर्सने रोग लागेपनि बुढेउलीले छोएछ भन्ने गरिन्छ । तर, यो एक प्रकारको गम्भिर रोग हो । यो मानिसको स्नायू प्रणालीको कोषिकामा खराब प्रोटिन जम्मा भएर हुने अल्जाइमर्स रोग हो । संसारमा लाखौं मानिस यो रोगबाट पीडित छन् ।

अल्जाइमर्स विस्मृति समाज नेपालका अध्यक्ष तथा विपी कोइराला स्वास्थ्य विभागमा कार्यरत डाक्टर निदेश सापकोटा व्यक्तिको स्मरणशक्ति कमजोर हुने, विस्मृति हुने रोग भएको बताउँछन् ।

सन १९९४ देखि हरेक बर्षको सेप्टेम्बर महिनाको २१ का दिन विस्व अल्जाइमर्स दिवसको रुपमा मनाउदै आइरहेको छ । यो दिन अल्जाइमर्स रोगबाट पीडित व्यक्ति, तिनका परिवार, स्याहारकर्ता र यस रोग सम्बन्धि काम गर्ने सघं संस्थालाई एकै थलोमा उभ्याउने माध्यमको रुपमा लिइन्छ । विश्व अल्जाइमर्स महिना भने सन २०१२ देखि मनाउन सुरु गरिएको हो । यस वर्षको मुल नारा “विस्मृति रोग बारे चर्चा गरौः हेय भावना अन्त्य गरौ” भन्ने नारा तय भएको छ ।

आज भन्दा १ सय १३ बर्ष अघि एलोइस अलजाइमर्स भन्ने व्यक्तिले पत्ता लगाएपनि यसको खासै चर्चा भएको थियो । सन् १९८० को दशकमा यता मात्र यसले चर्चा र महत्व पाएको छ । अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन र बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई अलजाइमर्स रोग लागेपछि मिडिया र राज्यको ध्यानाकर्षण भएको हो ।

संसारमा १ सय भन्दा बढी देश अल्जाइमर्स डिजिज इन्टरनेशनलमा अवद्ध छन् । यो विश्व स्वास्थ्य संगठनले मान्यता दिएको संस्था हो । नेपालमा सन् २०१२ देखि अलजाइमर विस्मृति समाज नेपाल स्थापना भएको हो । प्रत्येक बर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर्स महिनाको रुपमा लिइन्छ । यो महिना भर यस रोग सम्बन्धी जन चेतना मूलक कार्यक्रम आयोजना गरिन्छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक विभागमा कार्यरत डा. सापकोटा अल्जाइमर्सका बारेमा जनचेतनाको आवश्यक्ता रहेको बताउँछन् । अल्जाइमर्स रोग के हो ? यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्ने विषयमा समाजले पारेको सामग्रीः

डिमेन्सिया के हो ?
डिमेन्सिया मस्तिष्कमा लाग्ने एउटा साझा रोग हो जसले गर्दा कतिपय उच्चस्तरीय मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरणशक्ति, चिन्तन, वरिपरि भैरहेका गतिविधिहरु प्रतिको जागरुकता, मनन्, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, बात–विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा पनि कमि हुदैं जान्छ ।

प्रायः गरेर बढ्दै जाने तथा लामो समय सम्म लागिरहने यो रोग अन्तमा अत्यन्त कठोर भएर विरामीलाई सिकिस्त बनाईदिन्छ र विस्तारै परावलम्बी बनाएर समय भन्दा पहिले नै ज्यान लिन्छ । डिमेन्सिया विभिन्न किसिमका हुन्छन् । त्यस मध्ये अल्जाइमर्स रोग सबै भन्दा बढी देखिन्छ र प्रायजसो ६५ वर्ष माथिका मानिसमा पाइन्छ ।

डिमेन्सियाका दश लक्षणहरु ः
१. स्मरण शक्तिको ह्रासले साह्रै भुल्लकड भई दैनिक जीवनयापनमा कठिनाई, खासगरी भर्खरैको घट्नाहरु र व्यक्तिका नामहरु समेत बिर्सनु ।

२. तर्क गर्ने क्षमता हराउनु तथा सामान्य समस्याहरु पनि समाधान गर्न नसक्नु ।

३. सधै गरेका घरायसी, व्यावसायिक अथवा सामान्य काम गर्न पनि असमर्थ हुनु ।

४. समय तथा स्थानको ज्ञान हराउनु ।

५. आखाँले देखेका कुराहरु नचिन्नु तथा नजिक–टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु ।

६. कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेट्नु ।

७. सामानहरु अलपत्र पारी चाहिएको बेलामा भेट्न नसक्नु ।

८. स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।

९. घरायसी तथा व्यवसायिक कृयाकलापबाट बिमुख हुनु ।

१०. व्यक्तिको मूड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।

हामी बिर्सने रोगको खतरालाई यसरी कम गर्न सक्छौं ः
शारीरिक रूपले क्रियाशील रहनु होस् ।

 सघैं सतुंलित,पोषिलो खाना खानु होस् ।

 मस्तिष्कलाई चुनौती दिने प्रयास गर्नु होस् ।

 आफ्नो मुटुको हेर बिचार गर्नु होस् ।

 सामाजिक क्रियाकलापमा सहभागिता जनाउनु होस् ।

डिमेन्सिया बारे केहि महत्वपुर्ण जानकारीहरुः
 विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई डिमेन्सिया लाग्दछ ।

 विश्वमा मृत्युको कारणहरु मध्ये डिमेन्सिया सातौं कारण बनिसकेको छ ।

 डिमेन्सियाबाट पिडित धेरैजसो ब्यक्तिहरु निदान र सहयोगबाट बन्चित हुने गरेका छन् ।

 आजका दिन विश्वभर लगभग ५ करोड ब्यक्तिहरु डिमेन्सियाबाट पिडित छन् ।

 जुन प्रकारले विश्वमा ज्येष्ठ नागरिकहरुको संख्या बढ्दै गईरहेको छ, त्यस्को आधारमा सन् २०५० सम्ममा डिमेन्सियाबाट पिडित ब्यक्तिहरुको संख्या लगभग १५ करोड २० लाख पुग्ने अनुमान गर्न सकिन्छ ।

 सन् २०१८ मा मात्रै बिश्वभरमा डिमेन्सिंयाबाट पिडित ब्यक्तिहरुको उपचार तथा स्याहार गर्ने क्रममा लगभग दश खरब अमेरिकि डलर खर्च भएको अनुमान गर्न सकिन्छ ।

 बिश्वमा प्रत्येक बर्ष डिमेन्सिंयाबाट पिडित ब्यक्तिहरुको लागि अनौपचारिक रुपमा स्याहार गर्ने क्रममा मात्रै लगभग चार करोड ब्यक्तिहरुको दैनिक श्रम समय खर्च हुने अनुमान गरिएको छ ।

 बिश्वमा डिमेन्सिंयाबाट पिडित ब्यक्तिहरुको स्याहारकर्ताहरुको संख्यामा असामान्य रुपले महिला स्याहारकर्ताहरुको संख्या बढि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्