Logo

अव्यवस्थित सवारी पार्किङले अस्तव्यस्त बिर्तामोड (फोटोफिचर)



बिर्तामोड, ६ असोज । बिर्तामोड नगरपालिकाको सवारी पार्किङ अस्तव्यस्त बनेको छ । बढ्दो शहरीकरण र सवारीको चापले बिर्तामोडको सवारी पार्किङ अस्तव्यस्त बनेको हो । बजारको क्षेत्रफल क्रमश बढ्दै गएको भए पनि बजार क्षेत्रमा व्यवस्थित पार्किङका लागि कुनै व्यवस्था नहुँदा समस्या दिनदिनै बढ्दै गइरहेको छ ।

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा बिर्तामोड स्थापित छ । तर, सडक पेटीमा व्यवसायीले राख्ने सामग्री र जथाभावी गरिने पार्किङले बिर्तामोडलाई अस्तव्यस्त बनाएको हो । पार्किङ स्थल नहुनु र सडक निर्माणले बिर्तामोडमा थप पार्किङ समस्या निम्तिएको छ ।

बिर्तामोडको मुख्य चोकमा पार्किङ स्थल नुहँदा सडक किनारमा हुने पार्किङले हिड्डुल गर्ने यात्रु र व्यवसायीसमेत मर्कामा परेका छन् । बिर्तामोड भद्रपुर रोडमा पसल संचालन गर्दै आएका शेखर दाहालले पार्किङ व्यवस्थित नभएकाले व्यापार चौपट भएको बताए ।

चाडवार्ड लागेको छ, ग्राहकले सवारी कहाँ लगेर राख्ने ? दोकान अगाडी गाडी राखेको हुन्छ, बाटो छेउछाउ रोक्न नि दिँदैन ।’ दाहाल थप्छन्, ‘मान्छे हिड्ने, मोटरसाइमल राख्ने, गाडी राख्ने सबै एकै ठाँउमा छ । त्यस माथि अहिले नाला खनेर झन समस्या भएको छ । व्यवस्थित पार्किङ बनाउनु पर्यौ, जनतालाई सुवधा दिनुपर्यो ।’

बाटोको दाँया बाँया दुवै तिर खाल्डाखुल्डी छन् । बिजुली, टेलिफोन र केबलका तार भुइँभरी लत्रिएका छन् । पार्किङ गर्न राम्रो व्यवस्था नहुँदा पैदल यात्रुलेसमेत सास्ती भोग्नु परेको छ । गोलधापबाट किनमेल गर्न बिर्तामोड बजार आइपुगेकी गिता सुब्बा व्यवस्थित पार्किङ हुँदा दुर्घटना कम र सवारी साधनको सुरक्षा हुने बताउँछिन् । उनी भन्छिन्, ‘पार्किङ गर्ने ठाँउ छैन, सुविधा छैन, जताततै भिडभाड छ, हेलमेट हराउछ । पार्किङको राम्रो सुबिधा भए सहज हुन्थ्यो ।’

बिर्तामोड बजार क्षेत्रमा विभिन्न काम लिएर आउने मानिस वा किनमेलका लागि आउने उपभोक्ताको सवारी पार्किङका लागि उचित स्थान बजार क्षेत्रभर कतै पनि छैन । जसका कारण अव्यवस्थित पार्किङले यो बजार क्षेत्र अस्तव्यस्त देखिदै आएको छ । यसले दुर्घटनाको जोखिमलाई पनि उत्तिकै बढाइदिएको छ ।

भद्रपुर रोडका व्यावसायी जीवन प्रसाई अव्यवस्थित पार्किङ बिर्तामोडका लागि पुरानै समस्या भएपनि समाधान हुन नसकेको बताए । बिर्तामोडको भद्रपुर रोडमा फुटपाथ र मूल सडकमै मोटरसाईकल अव्यवस्थित रुपमा पार्किङ भएपनि व्यवस्थापन गर्न पहल नगरिएको प्रसाईको गुनासो छ ।

बिर्तामोडका शनिश्चरे रोड, भद्रपुर रोड, पूर्वपश्चिम राजमार्ग र भित्री बजारमा कहीँकतै पार्किङ स्थलको व्यवस्था गरिएको देखिदैन । सडकमा नो पार्किङ लेखेर बोर्ड राखिए पनि बोर्डमा नै टसाएर दर्जनभन्दा बढी सवारीसाधन पार्क गरिएको देखिन्छ । नो पार्किङ लेखेको देख्दादेख्दै किन पार्किङ गरेको भनेर सोध्दा सवारीचालक रमेश देव भन्छन, ‘हामीलाई कि त पार्किङ लेखेर गाडी पार्क गर्ने ठाउँ देखाइदिनु पर्यो, निश्चित ठाउँ नतोकिएसम्म जहाँ काम पर्यो त्यही रोक्ने त होनी’ ।

नगरक्षेत्रमा अव्यवस्थित पार्किङका कारण सवारीसाधनदेखि बाटोमा हिड्ने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पार्किङकै समस्याले बिर्तामोडमा अस्तव्यस्तता बढ्दै गएको छ । यसको नियन्त्रणका लागि बेलाबखत ट्राफिक प्रहरी, नगरपालिका लगायतका निकायहरु लागि परेको देखिए पनि त्यसले निरन्तरता पाउन भने सकेको छैैन । यहि समस्याले बिर्तामोड बजार क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । तर, यस प्रति ध्यान यता कसैको तानिएको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्